ad ad

अन्तर्वार्ता


कांग्रेसको भोट नखन्याई रेणुले जित्नुहुन्न, प्रचण्डले मिलाए मिल्छ : टेकप्रसाद गुरुङ (भिडिओ)

कांग्रेसको भोट नखन्याई रेणुले जित्नुहुन्न, प्रचण्डले मिलाए मिल्छ : टेकप्रसाद गुरुङ (भिडिओ)

टेकप्रसाद गुरुङः कांग्रेससँग खुसामद गराएर खुलेर भोट हाल्ने वातावरण बनाइएन भने भारतपुरमा माओवादीले चुनाव जित्दैन (तस्बिरः विशाल कार्की)


जेवी पुन मगर
बैशाख १३, २०७९ मंगलबार ११:८, भरतपुर

शनिबार नेपाली कांग्रेस चितवनको जिल्ला कार्यालयमा ८४ वर्षीय नेता कृष्णलाल सापकोटाले गर्जिएर सभाहलमा खचाखच भरिएका कांग्रेसी कार्यकर्तालाई ‘रुखमै मतदान गर्न’ आह्वान गरे। त्यसलाई हेर्दा प्रचण्डको रणनीतिक निर्वाचन क्षेत्रको रुपमा हेरिएको भरतपुर महानगरपालिकामा गठबन्धनप्रतिको असन्तुष्टि आक्रोशमा परिणत भइसकेको र त्यसको गहिराइ प्रचार गरिएभन्दा बढी देखिन्थ्यो। 

यो आक्रोशको गहिराइ सभाहलभित्र मात्र हो कि, त्यो तल्लोस्तरमा फैलिइसकेको छ भन्ने उत्सुकता भेलाले जगाएपछि भोलिपल्टै हामी कांग्रेसी गढका रुपमा चिनिएको ऐतिहासिक शारदानगर (पहिला बखनापुर) पुग्यौँ। जुन बस्ती बखान ‘बा’ का रुपमा परिचित कांग्रेसका घागडान नेता दिवगंत बखानबहादुर गुरुङले बसालेका थिए।

त्यसपछि हाम्रो गन्तव्य थियो ५० वर्षदेखि निरन्तर चारतारे झण्डा बोकी राजनीति गरिरहेका ७५ वर्षीय नेता टेकप्रसाद गुरुङको कृष्णपुरस्थित बासस्थान। प्रचण्डको गृहथलो शिवनगरसँग जोडिएको कृष्णपुर वडा नं ७ मा पर्छ।

केन्द्रीय सदस्य गुरुङले आफ्ना सभापति शेरबहादुर देउवालाई भेटी भरतपुरमा कांग्रेसलाई मेयर पद नदिए आफूले राजीनामा दिने धम्की समेत दिएका थिए। त्यसैले निष्ठाको राजनीतिमा जीवन बिताएका यी नेतामार्फत हामी गठबन्धनभित्र रहेको गडबडीको गहिराइ बुझ्न चाहन्थ्यौँ।

टेकप्रसादको परिवार २०१७ सालमा स्याङ्जाबाट बखानपुर झरेको थियो। उनी बखानबहादुरले बनाएको विद्रोही राजनीतिक वातावरणमा हुर्कंदै गए र २०२७ सालमा कांग्रेसको क्रियाशील सदस्य बने। आफ्ना दुई छोरा पञ्चायतीराजले मार्दासम्म बखानबहादुर नडग्मगाएको देखेका टेकप्रसादजस्ता कांग्रेसीहरुकै कारण यो क्षेत्रको जनाधार अझैसम्म खस्केको देखिँदैन। यस क्षेत्रमा बखानबहादुरले बनाएको गढ अहिलेसम्म बचाइराख्ने प्रमुख नेता पनि हुन् उनी। 

२०२७ सालमा शारदानगर गाउँ पञ्चायतको निर्विरोध प्रधानपञ्च चुनिएका गुरुङले पञ्चायती शासनको अनेकन तिकडम छिचोल्दै २०३५ सालमा पनि निर्विरोध प्रधानपञ्च जिते। त्यसपछि उनी जिल्ला पञ्चायत सभापति बने। बहुदलमा लागेको भन्दै पञ्चायती व्यवस्थाको निलम्बनमा परेपछि २०३९ सालमा कांग्रेसको टिकटमा भिडेका उनले त्यहाँ पनि जित हासिल गरे। त्यसपछि भएको २०४३ सालको निर्वाचनबाट पनि उनैले बाजी मारे। 

तीन पटक जिल्ला विकास समितिका सभापति भइसकेका गुरुङसँग कांग्रेस जिल्ला सभापतिको हैसियतमा पाँच कार्यकाल काम गरेको अनुभव छ। चितवनमा कांग्रेस केन्द्रीय समितिमा ६ जना प्रतिनिधि रहेकोमा उनी सहित ३ जना शेखर कोइराला पक्ष र ३ जना देउवा पक्षीय सदस्य छन्। कोइराला पक्षीय स्थानीय नेतृत्व खुलेरै गठबन्धन विरोधी मोर्चामा लडिरहेको देखिन्छ। कांग्रेसी गढ मानिएको चितवन देशभरका जिल्ला संगठनहरुमध्ये सबैभन्दा बलियो ठानिन्छ। जिल्लाभर २८ हजार जति क्रियाशील सदस्य रहेकोमा ६० प्रतिशत भरतपुर महानगरपालिकाभित्रै रहेको बताइरहेका गुरुङ भन्दै थिए– ‘२० हजार त मेरै कार्यकालमा बनाएको हुँ।’ 

२०७० सालको निर्वाचनमा आफूले पाइसकेको संसदीय निर्वाचनको टिकट सभापति सुशील कोइरालालाई दिई जिताएर काठमाडौँ पठाएका गुरुङले २०२८ सालमा चितवनमा भएको नेविसंघको महाधिवेशनमा अध्यक्ष पदमा शेरबहादुर देउवालाई जिताउन भूमिका खेलेका थिए। भरतपुरमा विकसित पछिल्लो घटनाक्रमका कारण आफूलाई गठबन्धनविरोधी नेताको रुपमा बुझ्न थालिएकोमा दुःख लागेको बताउने उनी भन्छन्, ‘हामी गठबन्धनविरोधी होइनौँ। हामीले के मात्र भनेका हौँ भने अघिल्लोचोटि माओवादीलाई जितायौँ, यसपालि मेयर पद हामीले पाउनु पर्यो।’ 

गएको स्थानीय निर्वाचनमा देउवाको दबाबमा नेकपा माओवादीका मेयर उम्मेदवार रेणु दाहाललाई जिताउने चुनावी तिकडमको नेतृत्व समेत गरेका गुरुङ अगाडि थप्छन्, ‘ रेणुलाई जिताउन बुथ कब्जा गरी मतपत्र च्यात्ने काममा हामी मौन बसेर सहयोग गर्यौँ। मेरै क्षेत्रबाट मतदाता लगेर मतदान गराएँ। बदनामी कमायौँ। तर त्यसको मूल्यांकन न देउवाबाट भयो न प्रचण्डबाट भयो।’

प्रचण्डलाई भरतपुरको कांग्रेसी गढ भत्काउने रणनीतिक सूत्रधारको रुपमा बुझ्ने गुरुङजस्ता कांग्रेसी नेताले लिने निर्णयले आसन्न स्थानीय निर्वाचनको परिणाममा ठूलो अर्थ राख्छ। भरतपुरको राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्दै आएका उनै गुरुङसँग शनिबार बिहान उनकै निवासमा गरिएको लामो कुराकानीको सम्पादित अंशः

माओवादीले कांग्रेसको जनाधार भत्काउन खोज्यो
हामीले रेणु दाहाललाई मेयर जिताएर पठाएपछि वहाँले एकचोटि पनि फर्केर हेर्नुभएन। कांग्रेससँग सहकार्य नै गर्नुभएन। वहाँको पाँच वर्षे कार्यकालमा म एकचोटि पनि वहाँको कार्यालयमा गएको छुइनँ, वहाँ पनि मेरोमा आउनु भा’छैन। हामीसँग संवाद नै छैन। सबै बिगार्ने उहाँले हो, हामीले होइन। गठबन्धनले जितेपछि कांग्रेससँग मिलेर काम गर्नुपर्ने होइन र? मिल्ने कुरा त छाड्नोस् वहाँले जितेपछि कांग्रेसको जनाधार भत्काउने काम गर्नथाल्नु भो। हाम्रो संगठन तोड्नेगरी वडावडामा गई आमा समूहलाई पैसा बाँड्ने र हाम्रो मतदातालाई ‘टार्गेट’ गरेर सडक बनाउन थाल्नुभो। त्यसैले कांग्रेस रिसाएको हो।

एउटा वडामा २७–२८ वटासम्म आमा समूह हुन्छन्। तिनलाई पैसा बाँड्ने र टीका लगाइदिने काम भइरहेको छ। जसरी हुन्छ, कांग्रेस फुटाउने काम भइरहेको छ।  
उहाँले बिगार्ने काम मात्र गर्नुभयो, सहकार्य गर्न खोज्नुभएन। यसरी त पार्टी सकिन्छ भनेर नेतृत्वलाई ‘ब्रिफिङ’ गरिरहयौँ। प्रचण्डले छोरीलाई जसरी पनि जिताउन दबाब दिएपछि देउवा झुक्नुभयो। उहाँले हाम्रो कुरा नसुनी फेरि पुरानै निर्णय दोहोर्याउनु भो।

त्यसपछि २९ वटा वडाका सभापति, क्षेत्रीय समिति, जिल्ला समिति, महाधिवेशन महासमिति सदस्य हामी तीन जना केन्द्रीय सदस्यले ‘हाम्रो बटमलाइन मेयर हो त्यो कांग्रेसले पाउनुपर्छ ‘ भनी सर्वसम्मत निर्णय गरी दबाब दिन काठमाडौँ गयौँ। सबभन्दा पहिले आफूलाई गठबन्धनको सूत्रधार भन्नुहुने रामचन्द्र (पौडेल) दाइलाई भेट्यौँ। त्यसपछि उपसभापति र महामन्त्रीलाई भेट्दै अन्तिममा सभापतिलाई भेट्यौँ। सबै वस्तुस्थिति बताएपछि यसपालि मेयरमा कांग्रेसकै उम्मेदवार चाहिने भन्यौँ।

देउवाले ‘प्रचण्डले मान्दै मान्दैनन्। सरकार ढाल्छन्’ भन्नुभयो। यसरी त पार्टी खत्तम हुन्छ भनेपछि ‘म पनि कांग्रेस नै हुँ। म त्यसो हुन दिउँला र? तपाईंहरु फर्कनोस् म मिलाउँछु’ भनेपछि हामी फर्कियौँ।

तर निर्णय हाम्रो पक्षमा भएन। नभएपछि आक्रोशित हुनु स्वाभाविक हो। तपाईंले देखिहाल्नु भो, साथीहरु विद्रोहमा उत्रिएका छन्। सभापतिको कोठामा ताल्चा लगाइदिएका छन्।

फेरि धोका हुनसक्छ
हामीलाई बारम्बार धोका दिइएको छ। ०६४ सालमा आफूलाई खुला राजनीतिमा स्थापित गराउने गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले राष्ट्रपति बनाउने लोभ देखाई धोका दिनुभो। यहाँ जितायौँ, हामीलाई पनि धोका दिइयो। हामीले जिताएको रेणुले जिल्ला समन्वय समितिको चुनावमा कांग्रेसलाई नदिई कम्युनिस्टलाई भोट हाल्नुभो। संसदीय निर्वाचनमा हामीलाई छाडेर एमालेतिर जानुभो। दुईदुई चोटि धोका दिएर फेरि कांग्रेसमै आएर हामीलाई नै मेयर चाहिन्छ भन्नुभो। त्यसैले हामीले यसपालि मेयर दिनु हुँदैन भनी निर्णय गरेका हौँ।

एक उपसभापति र दुवै महामन्त्री हाम्रो पक्षमा थिए। केन्द्रीय सदस्यहरु हाम्रो पक्षमा थिए। सभापतिले नै पेलेर जानुभो। उहाँ प्रधानमन्त्री, हामीले कुरा उठाउँदा खाली सरकार जान्छ, सरकार जान्छ भन्नुहुन्छ। सरकार जोगाउन वहाँले रेणुलाई दिनुभएको छ। तर एउटा कुरा लेखेर राख्नोस्, पैसा बाँडेर दसपन्ध्र हजार भोट बढाए पनि ३०–३५ हजार भोटले माओवादीले भरतपुर जित्न सक्दैन। कांग्रेसको भोट चाहिन्छ चाहिन्छ। त्यसैले कांग्रेसलाई खुसामद गराएर उसलाई खुलेर भोट हाल्ने वातावरण बनाइएन भने माओवादीले चुनाव जित्दैन।

अहिले हामीलाई सहयोग गरेको भए संघीय निर्वाचनमा हामी प्रचण्डलाई जसरी पनि जिताउन लाग्ने थियौँ। अहिलेको अवस्थाले त भोलि वहाँलाई सहयोग गर्ने अवस्था रहँदैन। वहाँ राष्ट्रिय नेता हो। हामीले पनि मानेकै हो। वहाँ मेरो वडा जोडिएको छिमेकी पनि हो। तर वहाँले यो सबै कुरा सोच्नु भएन। वहाँले ‘तातै खाम जल्दी मरम’ जस्तो गर्नु भो। परिवारको स्वार्थ हेर्नुभो। 

छोरीलाई मात्र होइन, एक महिनाअगाडि भाइ नारायण दाहाललाई राष्ट्रियसभामा लैजानु भो। सबै ‘मै मात्र खाउँ’ भन्नु भएन नि। त्यो सिट अहिले विद्रोह गर्दै हिँडेका ८४ वर्षीय बुढा कृष्ण सापकोटालाई दिए वहाँको चित्त बुझ्थ्यो होला। वहाँ २०४६ सालको जनआन्दोलनको कमान्डर नै हो। दुईदुई चोटि जिल्ला सभापति र जिविस महासंघ, केन्द्रीय समितिको अध्यक्ष भएको मान्छे हो।

कांग्रेसी गढको इतिहास
बखान बाले राजनीतिक जग बसाल्नु भएको यो ठाउँमा २०१८ सालदेखि नै सुरु भएको हो मेरो राजनीति। शारदानगरको स्कुलमा पढेँ। त्यहीँ राजनीति गरेँ। शिक्षक भएँ। त्यहीँको जनप्रतिनिधि भएँ। २०१८ सालको विमानस्थल कब्जापछि भएको राज्य दमनमा शारदानगर र गुन्जनगरबाट ५०–६० जना मान्छे बेपत्ता छन्। ती मरे, बाँचे केही थाहा छैन। यसरी बनाएका हौँ हामीले यहाँ जनाधार। 

देख्नुभो होला त्यहाँ बखान मार्ग छ। बखान कलेज नै छ। पहिला शारदानगर बखानपुर हो। २०१८ सालको घटनापछि इतिहास मेटाउन शारदानगर बनाइएको हो। यहाँ हाम्रो जड यति बलियो छ कि यो क्षेत्रमा एमालेले कहिल्यै जित्न सकेन। २०५४ सालको निर्वाचनमा वामदेवले राज्यशक्तिको चरम दुरुपयोग गरी शक्ति खन्याउँदा पनि ९ वटा गाविस सबै हामीले जितेका हौँ। २०७४ को स्थानीय निर्वाचनमा पनि सबै वडा हामीले नै जितेका हौँ। यसपालि पनि हाम्रै मान्छेले जित्छन्।

२०३६ सालको जनमत सग्रंहमा ३७–३८ जना मात्र क्रियाशील सदस्य थियौँ। तैपनि १० हजार भोट ल्याई हामीले बहुदललाई जिताएको ठाउँ हो यो। अहिले हामीसँग जिल्लाभरमा २८ हजार चानचुन क्रियाशील सदस्य छन्। त्यसमध्ये ६० प्रतिशत क्रियाशील सदस्य भरतपुर महानगरपालिकाभित्र छन्। मेरो पालामा २० हजार सदस्य पुर्याएको थिएँ। अहिलेको समितिले ८ हजार थप्यो। तेह्रौँ महाधिवेशनमा सबैभन्दा बढी क्रियाशील सदस्य बनाउने जिल्लाको नेतृत्व मैले गरेको थिएँ। 

यस्तो बलियो संगठन भएको कांग्रेस बिगार्न थालिँदैछ। पहिलो त हाम्रै नेतृत्वले बिगार्यो। दोस्रो, माओवादीले बिगार्दैछ। १२–१५ हजार भोट भएको माओवादीले १९ हजार हाम्रै भोट चोरेर त बढाएको हो, एमालेको लगेर होेइन।

कांग्रेसको रुख मासिन्छ
आठ वर्षको बच्चा दस वर्षपछि १८ वर्ष पुग्छ। कांग्रेसको रुखमा भोट हाल्न नपाएपछि त्यसले रुख कसरी सम्झन्छ? हाम्रो वास्तविक चिन्ता हो यो। हामी त पार भयौँ, मान्यौँ। यसपालि पनि हाम्रा छोराछोरीलाई हामीले रुखमा भोट हाल भन्न नपाउने भयौँ। यसले कांग्रेसलाई क्षतविक्षत बनाइदिने भयो भन्ने हाम्रो चिन्ता हो।

त्यतिमात्र होइन, संसदीय निर्वाचनमा हामीले हलोमा भोट हाल्यौँ। हाम्रो भोटले जितेका माओवादी एमालेसँग मिल्न गएपछि हामीले राप्रपासँग गठबन्धन गर्दा हलोमा भोट हाल्यौँ। भनेपछि कांग्रेसले रुखमा भोट नै हाल्न नपाउने? ६ हजार भोट थियो विक्रम पाण्डे (राप्रपा) को। गठबन्धनका नाममा कांग्रेसले राप्रपाको ३९ हजार मत बढाइदिएको हो। हामीले नेतृत्वलाई बारम्बार यही धरातलीय यथार्थ सुनाइरहेका छौँ। पार्टी जोगाउन पनि हामीले कांग्रेसलाई मेयर चाहिन्छ भनेका हौँ। सुनुवाइ नभएपछि साथीहरु विद्रोहमै उत्रनुभएको हो।

मानोमा मुरी नखन्याई रेणुले जित्नुहुन्न
कांग्रेसभित्रको असन्तुष्टि व्यवस्थापन गर्न सकिएन भने यसपालि रेणुले मेयरमा जित्नुहुन्न। यसपालि ०७४ को निर्वाचनजस्तो अवस्था छैन। गएको निर्वाचनमा असन्तुष्ट कांग्रेसको मत एमालेलाई पनि गएको हो। करिब ७ हजार मतदाताले रुखमा मतदान गरेका थिए। यसपालि विवाद मिलाउन सकिएन भने १२–१५ हजार मत रुखमा हालेर असन्तुष्टि व्यक्त गरिने सम्भावना छ। विद्रोही उम्मेदवारले थप मत बिगार्नेछन्। 

यसपालि एमालेले उठाएको मेयरको उम्मेदवार विजय सुवेदी राम्रो छवि भएका उम्मेदवार हो। उहाँ पनि शारदानगरको विद्यार्थी हो। वहाँ विद्यार्थी हुँदा म स्कुलको अध्यक्ष थिएँ। व्यक्तित्व त त्यति खास होइन, साधारण मान्छे हो। राजनीतिक मान्छे हो। प्रदेश सभासद भई मन्त्री पनि भएको र ०६२–६३ सालको आन्दोलनमा मसँगै काम गरेको हो। थप एमालेले राप्रपासँग सहकार्य गरेको छ। यो सबै हेर्दा कांग्रेसले खुलेर मत नदिइकन रेणुले जित्ने सम्भावना नै छैन। 

माओवादीको मत १९ हजार मात्र हो। २९ वटा वडामा वहाँहरुले एक्लै जितेको दुइटा वडा मात्र हो। वहाँहरुको संगठन बलियो छैन। हाम्रो ४० हजार मतदाताले दिएको मतले अघिल्लो निर्वाचन जितेको हो। अहिले वहाँहरु विकासको प्रचार देखाएर जितिन्छ भन्ने भ्रममा हुनुहुन्छ। त्यसैले त्यसमा खुब ध्यान दिइरहनुभएको छ। राजनीतिमा त्यतिले पुग्दैन। यसपालि पनि मानोमा मुरी नखन्याई वहाँहरुले जित्नुहुन्न।

परिस्थिति यस्तो छ। प्रचण्डज्यू सातामा ३ चोटि चितवन आउनुहुन्छ तर हामीसँग सम्पर्क नै गर्नुहुन्न। उल्टै विमानस्थलमा ओर्लिएर ‘यहाँको कांग्रेसले गरेर केही हुँदैन हामी केन्द्रबाटै मिलाउँछौँ’ भन्दै हामीलाई आहत बनाउनुहुन्छ। यो पाराले कसरी हुन्छ गठबन्धन बलियो?  

ससाना विकास निर्माण, प्रचार बढी
विकास पहिल्यैदेखि भइरहेको ठाउँ हो भरतपुर। सुशील कोइरालाको पालामा भरतपुर मेघौली सडक खण्ड बनाउन ५५ करोड ल्याउने मै हुँ। नारायणी, राप्ती तटबन्धनका लागि बालकृष्ण खाण सिंचाइमन्त्री हुँदा पचासौँ करोड हामीले ल्याएको हो। कयौँ सडक गाउँलेले बनाएका हुन्। गीतानगर–चनौली सडक उहाँहरु नआउँदै बनाउन सुरु भएको हो। राप्तीको पुल गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको हो। भरतपुरबाट ठोरी जाने बाटो कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदै सुरु भएको हो। हामीले काम गरे पनि प्रचार गरेनौँ। अहिले सानो काम गर्दा पनि निकै प्रचारप्रसार गरिएका छन्। वहाँहरु त्यसो गर्न सिपालु हुनुहुन्छ। 

विकास यहाँ मात्र भएको छैन। सबैतिर भएको छ। एक नम्बर, दुई नम्बरमा हेर्नु न, डाँडाकाँडामा गाडी पुगेकै छ। सडकले नजोडिएको कुनै वडा छैन। त्यो त रेणुले गरेको होइन। अहिलेसम्म ठुल्ठूला एउटा परियोजना ल्याउन सकेको होइन। स–साना सडकमा अलकत्रा लगाएर के विकास गरेको भन्ने? 

विगतको ‘भोट क्रस’
गठबन्धन भनेर मात्र हुँदैन। हामीले राप्रपासँग गठबन्धन गर्दा यो पुरानो बस्तीले राप्रपालाई भोट नै हालेन। माओवादीले दुनियाँलाई काटे पनि मारे पनि हामीलाई केही गरेन। तर २०१८ सालमा हाम्रा घरमा आगजनी गर्ने यी मण्डलेहरुलाई किन भोट हाल्ने भन्दै मत दिइएन। बरु माओवादीलाई दिए। अब के गर्नुहुन्छ? 

मान्छेले हिजोको पीडा कहाँ बिर्सन्छ। कयौ अंगभंग भएका छन्। टुहुरा छन्। कयौँ बेपत्ता छन्। लाससासको अत्तोपत्तो छैन। किरिया गर्न पाएका छैनन्। घरजग्गा हिनामिना भएको छ। लुटिएको छ। कति लाहुरेको जागिर खोसिएर सुकुम्बासी भएका छन्। बखानसिंह बाका दुईटै छोरा सहिद भएका हुन्। लालध्वजलाई २००८ सालमा र अर्काे छोरा धनबहादुरलाई १८ सालमा मारेको हो। यो ठाउँका कांग्रेसीको अत्यन्त ठूलो पीडा छ। यस्तो पीडा बोकेर बसेको कांग्रेसलाई गठबन्धनको नाममा जहिल्यै अरुलाई भोट हाल भन्दै कतिन्जेल बस्ने?

यहाँ गोरखा, लमजुङ, तनहुँबाट आउने पुराना कांग्रेसहरु छन्। माओवादीले खुट्टा भाँचिदिएकाहरु छन्। लोग्ने मारिदिएका स्वास्नीहरु यहीँ छन्। प्रचण्डकै क्षेत्र माडीमा माओवादीले बस विस्फोट गर्दा मरेका ४० जनाको परिवार छन्। यी सबैको चित्त बुझाएर माओवादीलाई भोट हलाउनु छ। सजिलो छैन। हामीले यसअघि पनि यो सबै गरेकै हौँ। माओवादी चाहिँ हामीसँग संवाद नगरी एक्लै दम्भ गरी हिँडिरहेको छ। त्यसरी उसले कसरी जित्छ चुनाव? प्रचण्डले गएको चुनावमा नेकपा भएकोले जित्नुभो। हाम्रो पनि ५–७ हजार भोट गयो। अहिले सहज छैन। हामीलाई बाहिर निस्किसक्नु छैन। के भयो भन्दै सोध्छन्। हामी चिन्ता नगर्नाेस्, हुँदैछ भन्दै थुम्थुम्याइरहेका छौँ। यसरी कसरी चल्छ राजनीति? 

चितवनको आक्रोशलाई मिलाउन सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई खटाएको भनिएको छ। वहाँ यहाँ आइपुग्नुभएको छैन। आएपछि छलफल होला। मत्थर कसरी गराउने भन्ने होला। त्यसैले राजनीति अल्मलिएको छ। 

प्रचण्डले मिलाए मिल्छ 
चाहेमा यो सबै भद्रगोलको कारक प्रचण्डले बिग्रिएको वातावरण मिलाउन सक्नुहुन्छ। उहाँले छोरीका लागि आफ्नो राजनीतिक करिअर दाउमा राख्नु हुँदैन। गएको निर्वाचनमा दिनेश कोइरालाजीले टिकट पाएर प्रचार थालिसक्नुभएको थियो। दर्खास्त हालेको दुईदिनपछि फिर्ता भो। अहिले पनि प्रचण्डजीलाई समय छ। यसपालि प्रचण्डले त्यसो गरेर वातावरण सुधार्न सक्नुहुन्छ। वहाँ संसदीय निर्वाचनमा लडेर जाने हो भने यस्तो निर्णय बुद्धिमतापूर्ण हुनेछ।

भिडिओः विशाल कार्की  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .