ad ad

अन्तर्वार्ता


स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन : मेयर राजन पौडेल

स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन : मेयर राजन पौडेल

जनार्दन पोखरेल
जेठ १३, २०७९ शुक्रबार १०:४९, जितपुरसिमरा

माओवादी केन्द्रका युवा नेता राजन पौडेलले बाराको जितपुरसिमरा उपमहानगरपालिकाको बागडोर सम्हालेका छन्। मेयरमा एमालेकी सरस्वती चौधरीलाई ९६४ मतान्तरले पराजित गर्दै ४३ वर्षीय पौडेल नगर प्रमुखमा विजयी भए। ०७४ मा भएको स्थानीय तह निर्वाचनमा पनि पौडेल जितपुर सिमरा उपमहानगरमा माओवादी केन्द्रबाटै मेयरको उम्मेदवार बनेका थिए। त्यतिबेला एमालेका कृष्ण पौडेलसँग पराजित भएका उनी यसपटक सत्तारुढ गठबन्धनको बलमा एमाले उम्मेदवारलाई पराजित गर्दै जितपुरसिमरा उपमहानगरको मेयरमा निर्वाचित भएका हुन्।

अघिल्लो निर्वाचनमा एक्लै चुनाव लडेको माओवादी त्यतिबेला नगरका २४ मध्ये १० वटा वडामा विजयी बनेको थियो। ०७४ मा नगरको प्रमुख र उपप्रमुखमा भने एमालेका कृष्ण पौडेल र सरस्वती चौधरी विजयी भएका थिए। यसपटक माओवादीले विगतमा जितेका धेरै वडा गुमाउँदा पनि मेयरमा बाजी मारेको छ। १८ हजार ७४३ मतसहित पौडेल प्रमुखमा विजयी हुँदा एमालेकी चौधरीले १७ हजार ७७९ मत प्राप्त गरिन्।

यसपटक जितपुर सिमराका चारवटा वडा मात्रै माओवादीले जितेको छ। एमालेले सबैभन्दा धेरै (१३ वटा) वडासहित नगरको उपप्रमुख जितेको छ। नगरको कार्यपालिकामा आफ्नो पार्टीको बहुमत नहुँदा पौडेललाई काम गर्न चुनौति हुने देखिन्छ। तर, जनयुद्ध पृष्ठभूमिबाट राजनीतिमा आएका युवा नेता पौडेल भने यसमा सहमत छैनन्।

नगर प्रमुख पौडेलसँग नेपालखबरले गरेको कुराकानी :

गठबन्धनबाट माओवादीले मेयरसहित चारवटा वडा मात्रै जित्न सक्यो। तपाईं नेतृत्वको कार्यपालिकामा विपक्षीहरु शसक्त अवस्थामा छन्। तपाईंलाई काम गर्न सहज होला?
हेर्नुस्, स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन। स्थानीय तहमा निर्वाचित हुने प्रमुख उपप्रमुखदेखि वडा सदस्यसम्म सबै प्रत्यक्ष चुनावबाट निर्वाचित भएका हुन्। नगर प्रमुख स्थानीय सरकारको प्रमुख र कार्यपालिकामा सभामुखकोसमेत भूमिकामा रहन्छन्।

उपप्रमुख न्यायिक निकायको प्रमुख र अनुगमन समितिको प्रमुखको रुपमा रहने कानुनी व्यवस्था छ। स्थानीय तहमा प्रमुखले कार्यपालिका बनाउने पनि होइन। त्यसैगरी नगरसभाले प्रमुख र उपप्रमुख बनाउने पनि होइन। संघीय संसदको कुरा गर्ने हो भने, प्रतिनिधिसभाले प्रधानमन्त्री बनाउँछ। प्रधानमन्त्रीले मन्त्रिपरिषद् बनाउँछ।

प्रदेशतर्फ प्रदेश सभाले मुख्यमन्त्री बनाउँछ। प्रदेशको मुख्यमन्त्रीले क्याबिनेट बनाउँछ। तर, स्थानीय तहमा त्यस्तो हुँदैन। स्थानीय तहको प्रमुख भनेको आफैँ कार्यकारी हुन्छ। जो, जनताद्वारा प्रत्यक्ष निर्वाचित भएर आएको हुन्छ। संविधानले नै उसलाई काम गर्ने अधिकार दिएको छ।

यहाँ निर्वाचित भएर आउने १२५ जना सबै जनप्रतिनिधि जनताबाट प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भनेर आउनु भएको हो। त्यसो हुँदा जोजो जुनजुन दलबाट आएता पनि निर्वाचित भएर आइसकेपछि नगरसभाका प्रमुख, उपप्रमुखसहित सबै जनप्रतिनिधि जितपुर सिमरा उपमहानगरपालिकालाई कसरी अघि बढाउने भन्ने एउटै एजेण्डामा केन्द्रीत भएर काम गर्ने विश्वास मलाई छ। हामी सबैबीच सहकार्य हुने छ। म सबै जनप्रतिनिधिको नेतृत्व गरेर, उहाँहरूसँग सहकार्य गरेर एक ढिक्का बनाएर कामलाई हामी अघि बढाउने छु। त्यसमा कुनै समस्या आउँछ भन्ने मलाई लाग्दैन।

सत्ता गठबन्धनबाट नगर प्रमुखको उम्मेदवार बन्दै गर्दा तपाईंले जुन अपेक्षा गर्नु भएको थियो, निर्वाचित हुँदै गर्दा अपेक्षा अनुसार तपाईंले मत प्राप्त गर्नु भयो कि भएन? के छ मूल्यांकन?
निर्वाचित भइसकेपछि मैले अपेक्षा अनुसार मत आएन भन्न मिल्दैन। यस विषमा म गठबन्धनका कसैप्रति आक्षेप लगाउने पक्षमा पनि छैन। जुन अभिमत जनताले हाम्रो पक्षमा व्यक्त गर्न खोजेका थिए, धेरै मतदाताले त्यसलाई प्राविधिक हिसावले, कानुनी हिसावले मतपत्रमा व्यक्त गर्न नसकेको देखियो। निर्वाचन प्रणालीमा भएको त्रुटिको कारण यस्तो भएको हो।

नगर प्रमुखको करिब १० हजार भोट बदर भएको छ। उपप्रमुखको करिब साढे १२ हजार भोट बदर भएको छ। स्थानीय चुनावमा निर्वाचन आयोगले जुन खालको मतपत्रको व्यवस्था गर्यो, त्यसले सर्वसाधारण नागरिकलाई आफ्नो मत व्यक्त गर्न समस्या सिर्जना भएको पाइएको छ।

निर्वाचन प्रणाली सुधारको लागि अब बहस सुरु गर्नैपर्छ। अहिलेदेखि बहस गर्यौं भने मात्रै अर्को चुनावसम्म त्यसलाई सुधार्न सकिन्छ। जनताले आफ्नो अभिमत पूर्णरुपले व्यक्त गर्न पाउनु पर्यो। त्यो वातावरण निर्माण गर्ने दायित्व निर्वाचन आयोग, सरकार, राजनीतिक दल सबैको हो। निर्वाचन आयोगले जनतालाई सहज ढंगले अभिमत व्यक्त गर्ने वातावरण बनाइदिनुपर्छ।

मेरो विचारमा आगामी चुनावमा दुईवटा मतपत्रको व्यवस्था हुनुपर्छ। सम्पूर्ण पालिकाभर चुनाव लड्ने नगर वा गाउँपालिका प्रमुख उपप्रमुखको लागि एउटा। वडाध्यक्षसहित वडा तहमा चुनाव लड्ने पाँचजना उम्मेदवारको लागि अर्को। त्यो ढंगले मतपत्रको व्यवस्था गरियो भने जनतालाई आफ्नो अभिमत व्यक्त गर्न समस्या हुँदैन। झुक्किने अवस्था रहँदैन। त्यसो गरियो भने कुन वडाबाट प्रमुख उपप्रमुखलाई कतिकति भोट आयो भन्ने पनि थाहा हुँदैन। त्यसो हुँदा सबै वडालाई उसले समान हिसावले व्यवहार गर्ने अवस्था आउँछ। कुनै पनि वडाप्रति वैमनस्यता रहँदैन।

अहिले निर्वाचित हुने सबै प्रमुख उपप्रमुखलाई आफूलाई कुन वडाबाट कति मत आयो सबै थाहा छ। यसले थोरै मत आउने वडाप्रति उनीहरु पूर्वाग्रही बन्न सक्छन्। दुईवटा ब्यालेट पेपरको व्यवस्था हुने हो भने यस्तो हुँदैन।

निर्वाचनको दौरानमा जनतालाई कस्ता खालका आश्वासन दिनु भएको छ?
निर्वाचनको सन्दर्भमा हामीले गठबन्धनको तर्फबाट साझा प्रतिवद्धतापत्र जारी गरेका छौँ। त्यही प्रतिवद्धतापत्रमा रहेका विषयमा केन्द्रीत भएर हामी नगरको कामलाई अघि वढाउने छौँ। शिक्षा र स्वास्थ्य सुधारमा केन्द्रीत हुने छौँ। शिक्षा र स्वास्थ्यलाई हामी जितपुर सिमरा उपमहानगरपालिकामा नयाँ मोडलमा विकास गर्ने छौँ।

कृषि क्षेत्रमा पनि हामीले धेरै काम गर्ने योजना बनाएका छौँ। किसानको गोठ र खेतमा पुग्ने खालका कार्यक्रम हामी ल्याउँदै छौँ। औधोगिक प्रदूषण नियन्त्रणको लागि पनि हामी काम गर्ने छौँ। यहाँ उद्योग, कलकारखाना र स्थानीयबीचको अन्तर्बिरोध छ। त्यो अन्तबिरोध न्युनीकरणको लागि हामी काम गर्ने छौँ। स्थानीयलाई रोजगारीमा जोड्न पहल गर्ने छौँ। यस क्षेत्रमा औधोगिक लगानीको वातावरण सिर्जना गर्नु हाम्रो अर्को कार्यभार हो। औधोगिक पूर्वाधारमा पनि ध्यान दिनुपर्ने छ।

उपमहानगरपालिकाका वडालाई मुख्य सडकसँग जोड्ने, वडाका दुर्गमबस्तीलाई वडा कार्यालयसम्म जोड्नेगरी सडक पूर्वाधार निर्माण गर्न हाम्रो ध्यान केन्द्रीत हुने छ। मानवहितलाई ध्यानमा राखेर वातावरणमैत्री विकास गर्नु आजको आवश्यकता हो। लगानी मैत्री वातावरण सिर्जना गर्नु हाम्रो अर्को दायित्व  हो।

तपाईं आफैँ युवा हुनुहुन्छ। तपाईंजस्ता धेरै युवा बेरोजगार छन्। उनीहरु रोजगारीको खोजीमा देश–विदेशमा भौतारिरहेका छन्। उनीहरुलाई यहीँ रोजगारी सिर्जना गर्ने के छन् तपाईंका योजना?
बेरोजगारी समस्या भनेको विश्वव्यापी समस्या हो। यो समस्या जितपुर सिमरा उपमहानगरको मात्रै होइन। त्यसैले हामीले मात्रै यो हल गर्न सक्ने विषय पनि होइन। यो देशको अर्थतन्त्र, विश्व अर्थतन्त्रसँग जोडिएको विषय हो। तर, हामीले स्थानीय स्तरमा बनाउने कार्यक्रम यहाँ रहेका अधिकांश युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने खालका हुनेछन्।

यहाँ ठूलाठूला उद्योग र कलकारखानाहरु छन्। औधोगिक क्षेत्रमा अझ लगानीको वातावरण सिर्जना गरेर रोजगारीको अवस्था सिर्जना गर्नेतर्फ हामी ध्यान दिने छौँ। कृषि, पशुपालनको क्षेत्रमा पनि रोजगार, स्वरोजगारको वातावरण सिर्जना गर्न हामी ध्यान दिनेछौँ।

अर्को, साना तथा घरेलु उद्योगहरुको विकास हो। ठूलो संख्यामा घरेलु तथा साना उद्योगहरु स्थापना गर्न सकियो भने धेरै बेरोजगार जनशक्तिले रोजगार पाउने छ। त्यसरी हामी बेरोजगार समस्या हल गर्न कोसिस गर्ने छौँ। हामीले मात्रै सम्पूर्ण बेरोजगार समस्या समाधान गर्छौं भन्ने होइन। यो विश्वव्यापी अर्थतन्त्रसँग जोडिएको विषय हो। हामी यहाँबाट रोजगारी सिर्जना गर्न अधिकतम कोसिस गर्ने छौँ।

यो एउटा औधोगिक क्षेत्र पनि हो। तपाईंसँग यहाँका उद्योगी व्यवसायीको अपेक्षा कस्तो पाउनु भएको छ?
उहाँहरुको भनाई विगत १५–२० वर्षदेखि यहाँ लगानीको वातावरण सिर्जना भएन भन्ने छ। बारा–पर्सा क्षेत्रमा लगानीको वातावरण बनेन भन्ने उहाँहरुको गुनासो छ। हामीले सरसर्ती हेर्दा पनि औधोगिक लगानी यहाँबाट पूर्व र पश्चिमतिर भागेको देखिन्छ। यस बीचमा पूर्व र पश्चिम क्षेत्रमा ठूल्ठूला उद्योग, कलकारखाना स्थापना भएका छन्। तर, बारा, पर्सा क्षेत्रमा त्यो देखिन्न। हामी अब यस क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्ने ढंगले काम गर्ने छौँ। त्यसरी औधोगिक वातावरण बनाउँदै गर्दा हामी वातावरण प्रदूषण न्यूनीकरणमा पनि ध्यान दिने छौँ।

यहाँ सञ्चालन हुने उद्योग, कलकारखानाहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय वातावरण संरक्षण सम्बन्धी नियमहरुलाई अनिवार्यरुपमा पालना गर्नुपर्ने छ। उद्योग कलकारखानाको कारण यहाँको हावा, पानी, ध्वनी, प्रदूषण हुनु भएन। यहाँका स्थानीयलाई रोजगारीको अवस्था सिर्जना गर्नुछ।

निर्वाचनको बेला मत माग्दै गाउँगाउँ जाँदा तपाईंसँग जनताको मुख्य माग के थियो?
जनताको माग एकदमै सामान्य खालका छन्। त्यति ठूलो अपेक्षा पनि उहाँहरुको छैन। जनताको मुख्य माग सुशासन कायम हुनुपर्यो भन्नेछ। अर्को, निर्वाचित भएर जाने जनप्रतिनिधिले आफ्नो धरातल नबिर्सिऊन् भन्ने नागरिकको चाहना छ।

गाउँमा खानेपानीको समस्या छ। छुवाछूत र जातीय विभेद, भाषिक विभेदको समस्या छ। यस्ता समस्या न्युनीकरणको लागि जनप्रतिनिधिले ध्यान दिउन् भन्ने नागरिकको अपेक्षा छ। तल्लो वर्गका समस्याप्रति जनप्रतिनिधिले ध्यान दिनुपर्यो भन्ने अपेक्षा गरिब नागरिकमा देखिन्छ। शिक्षा, स्वास्थ्यमा सुधार, भौतिक पूर्वाधार निर्माणका माग पनि नागरिकले गरेका छन्। नागरिकका यस्तै माग र अपेक्षामा केन्द्रीत भएर हामी कामलाई अघि बढाउने छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .