ad ad

अन्तर्वार्ता


नक्कली वामपन्थीसँग एमालेले गठबन्धन गर्दैन : प्रदीप ज्ञवाली (अन्तर्वार्ता)

‘कसैको लौरो नटेकी एमाले एक पाइला चल्न सक्दैन भन्ने भ्रममा नपरौं’
नक्कली वामपन्थीसँग एमालेले गठबन्धन गर्दैन : प्रदीप ज्ञवाली (अन्तर्वार्ता)

रुपक चौलागाईं
जेठ १४, २०७९ शनिबार ११:०, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्षस्थ नेताहरुको निर्वाचनअघि र पछिको विश्लेषण मिलेन। निर्वाचनअघि महासचिव शंकर पोखरेलले ‘महानगरको मत परिणाममा चमत्कार’ गर्ने अभिव्यक्ति दिएका थिए। चमत्कार त भयो, तर एमालेले सोचेको भन्दा भिन्न ।

चुनावअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पहिलो बन्नेमा कुनै शंका नभएको धेरै जिल्लामा पुगेर दाबी गरेका थिए । पाँच दलीय गठबन्धनका सामु एमाले एक्लै क्विन्टलको ढक भएको बताएका थिए, तर परिणामले त्यस्तो देखाएन ।

निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगिरहँदा एमाले दोस्रो दल बनेको छ। दोस्रो दल बनेसँगै एमाले नेताहरुले चुनावमा सत्ताको दुरुपयोग भएको र धाँधली गरेकोदेखि पार्टीभित्रै लज्जास्पद अन्तर्घात भएको सम्मका विश्लेषण गर्न थालेका छन्।

एमालेकै शीर्ष नेतामध्ये उपमहासचिव पृथ्वीसुब्बा गुरुङले  डिजास्टर भयो, अब वाम गठबन्धन गरौं भनेका छन् । उता उपाध्यक्ष विष्णु पौडेलले वाम गठबन्धन सम्भव नभएको संकेत गरेका छन् । 

स्थानीय चुनाव लगत्तै ९ महिनादेखि जारी संसद अवरोधसमेत निःशर्त खुलाएको नेकपा एमाले अबको संसदीय चुनावमा कसरी अघि बढ्ला? अघिल्लो प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एक भएर हिँडेका ओली–प्रचण्ड र माधव नेपालबीचको सहकार्य पुनः सम्भव छ कि छैन? देशभरका महानगरका प्रमुखका एउटै पनि जित निकाल्न नसक्नुका पछाडिका कमजोरी के के हुन्?

यिनै प्रश्नहरुको सेरोफेरोमा हामीले एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग कुराकानी गरेका छौं।

नेकपा एमालेले स्थानीय तह निर्वाचनको परिणामलाई कसरी हेरेको छ? के यो नतिजा अप्रत्यासित हो?
यो निर्वाचन हामीले सत्तापक्षीय गठबन्धनको सम्पूर्ण घेराबन्दी, मोर्चा र राज्य शक्तिको चरम दुरुपयोगको विरुद्ध लडेर प्राप्त गरेको परिणाम हो। यो परिवेशमा हेर्दा यो परिणामलाई नकारात्मक भन्न मिल्दैन। यद्यपि हामीले योभन्दा अझै राम्रो परिणामको अपेक्षा गरेका थियौं।

निर्वाचनका बारेमा छलफल गर्न बसेको केन्द्रीय कमिटीको पछिल्लो बैठकमा हामीले तीनवटा सम्भाव्य स्थितिको पूर्वानुमान गरेका थियौं।

एउटा– नेकपा एमाले विरुद्ध सम्पूर्ण शक्ति एक ठाउँ भए भने त्यतिबेला कस्तो परिणाम आउँछ? दोस्रो– सबै दलहरु आ–आफ्नै ढंगले स्वस्थ प्रतिस्पर्धामा गए भने कस्तो परिणाम आउँछ ? तेस्रो– नेकपा एमालेले स्थानीय तहमा विभिन्न पक्षसँग तालमेल गर्दा कस्तो परिणाम आउँछ?

हामीले यसमा छलफल गरेका थियौं । छलफलबाट ३० प्रतिशतदेखि ५४ प्रतिशतसम्म रहेर विभिन्न अनुमान गरेका थियौं। हाम्रो विरुद्ध भएको गठबन्धनको राज्य शक्तिको दुरुपयोग हेर्दा हामीले अनुमान गरेजस्तै नै हो परिणाम। तर, केही मुख्य महानगर, सहरी क्षेत्रहरुमा हामीले पाएको परिणामबाट अलि गम्भीर भएका छौं।

तपाईंले भनेजस्तै, महासचिव शंकर पोखरेलले महानगरमा हामी ‘चमत्कार’ गर्छौं भन्नुभएको थियो। तर, परिणाम त्यस्तो आउन सकेन। महानगरपालिकाको नतिजाबारे अबको समीक्षा कस्तो हुन्छ?
हामीले महानगरपालिकाको हकमा दुई/तीनवटा पक्षलाई संगै राखेर हेर्नुपर्छ। एउटा, काठमाडौंजस्तो महानगरमा मूलधारका राजनीतिक दलहरु भन्दा स्वतन्त्र उम्मेदवारप्रतिको झुकाव बढी देखियो। मतदाताहरूको छनोटलाई हामीले सम्मान गर्नुपर्छ। तर, यसका पछाडिका कारणहरूको गम्भीर खोजीनीति हुनुपर्छ भन्ने मलाई लाग्छ। हामी तिनै कुराहरु खोज्दैछौँ।

उपमेयर र वडाहरूमा दलहरुले राम्रो मत प्राप्त गर्ने तर मेयरमा हाम्रो पार्टी र अरु पार्टीहरुले पनि समर्थन नपाउने स्थितिमा त्यसले केही नयाँ संकेत गरेको छ।

पोखरा महानगरमा मूलतः हामी आफ्ना आन्तरिक कारणले गर्दा पराजित भयौं। त्यहाँ पार्टीभित्रको आन्तरिक समस्या अलि गम्भीर भयो, जसलाई बेलैमा हामीले समाधान गर्न सकेनौँ।

भरतपुरमा राज्य शक्तिको चरम दुरुपयोग भयो। मौन अवधिमा समेत चार/चारजना मन्त्रीहरु जाने, मतदातालाई धम्क्याउने, तर्साउने दबाव र प्रभावमा पार्ने र त्यहाँ अमूक उम्मेदवारले नजिते देश नै दुर्घटनामा जान्छ भनेर एक किसिमले ‘इमोसनल ब्ल्याक मेल’ गर्ने कामहरु भयो।

त्यसकारण, प्रत्येक महानगरको छुट्टाछुट्टै समीक्षा हुनु जरुरी छ। समग्रमा भन्दा हाम्रो परिणामका पछाडि मुख्य कारण चाहिँ सत्ता गठबन्धन र त्यसले गरेको साधन स्रोतको दुरुपयोग हो। सँगसँगै हाम्रा केही आन्तरिक कमजोरीहरू पनि रहेका छन्। र, कतिपय ठाउँमा मतदाताहरूको बदलिँदो मनोविज्ञानलाई पनि हेर्नुपर्छ भन्ने मैले ठानेको छु।

कतिपयले त चुनावअघि पार्टीको आन्तरिक तयारी नपुगेको टिप्पणी पनि गरेका छन् नि?
संगठनात्मक हिसाबले त हामी पूर्ण तयारी अवस्थामा नै थियौं। समयमा निर्वाचन गर्नका लागि हामीले दबाव पनि दिएका थियौं। त्यस अर्थमा हामीले पार्टीको राजनीतिक तयारी राम्रो नै गरेका हौं। तर, दुईवटा कुरामा हामीलाई समय नपुगेको हो।

एउटा– कतिपय ठाउँमा हामीले मनोनयन दाखिला गर्ने दिनमा मात्र उम्मेदवार छनोट ग¥यौं। त्यसले गर्दा उम्मेदवारहरूले पर्याप्त मात्रामा मतदाता माझ पुग्न पाउनुभएन।

दोस्रो– चुनावअघि ठूलो संख्यामा अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने लहर देखापर्यो। तर, त्यो लहरलाई संगठित गरेर हामीले निर्वाचन अभियानमा होम्न पाएनौं। प्रवेश गर्नुभयो, तर कतिपय ठाउँमा अभिलेख राख्ने र उहाँहरुलाई परिभाषित कामको जिम्मेवारी दिएर निश्चित ठाउँमा तोकेर पठाउने लगायतका काम गर्न पाएनौं। नवप्रवेशीहरुलाई परिचालित गर्ने कुरामा र कतिपय ठाउँमा उम्मेदवारहरूको प्रचार–प्रसारमा समय दिन सकिएन।

स्थानीय निर्वाचनमा एमालेले एक्लै लड्ने घोषणा गरेको थियो। अबको संसदीय चुनावमा पनि एमाले एक्लै लड्छ?
एमाले मूलतः एक्लै नै चुनावमा जान्छ। अहिलेको परिणामले हामीलाई राष्ट्रिय राजनीतिमा एमालेले एउटा धारको नेतृत्व गर्छ, त्यो धारलाई बलियो बनाउनुपर्छ, त्यो धार नै मूलधार हो भन्ने हाम्रो पूर्व मान्यतामा पुनर्विचार गर्नुपर्छ भन्ने हामीले ठानेका छैनौं।

आजपनि नेपाली कांग्रेस परिणामको हिसाबले १२० सिटले हामीभन्दा अगाडि छ। तर पनि कांग्रेस र सत्ता गठबन्धनका कोही पनि दलहरुले एक्लै एमालेसँग चुनाव लड्छौँ भन्ने आँट गर्नुभएको छैन। अर्थात्, प्रतिकुल परिणामका बावजुद पनि नेकपा एमाले सशक्त शक्ति हो भन्ने कुरा विपक्षीहरुले समेत स्वीकार गरेको अवस्था छ। हामीले आफूलाई कमजोर ठानेर वैशाखी टेक्नुपर्ने आवश्यकता देखेका छैनौं।

निःसन्देह स्थानीय तहमा कतिपय ठाउँमा तालमेलहरु हुन पनि सक्लान्। तर, नेकपा एमालेले राष्ट्रव्यापी रुपमा कसैसँग तालमेल गरेर गठबन्धन गरेर चुनावमा जाँदैन। आफ्नो बलबुँतामाथि नेकपा एमालेलाई विश्वास छ। जनताको अभिमतमाथि, जनताले सही फैसला गर्नेमाथि नेकपा एमालेको पूर्ण विश्वास छ।

यहाँले यस्तो भनिरहँदा अर्कोतिर वाम गठबन्धन र वाम एकताको पनि हावाहुरी चल्न थालेको छ। नेकपा एमाले वाम एकताको पक्षमा छ कि छैन?
वास्तविक वामपन्थीहरु एक ठाउँमा हुनुपर्छ भन्ने मान्यतामा आज पनि हामी दृढ नै छौं। तर, ती नक्कली वामपन्थीहरु, जसले वाम आन्दोलनलाई कमजोर गरेर कांग्रेसलाई बलियो बनाउनुभयो। जसले वामपन्थी आन्दोलन कमजोर गरेर कांग्रेस पहिलो शक्ति भएकोमा विजय उत्सव मनाउँदै हुनुहुन्छ, जसले आफ्नो घरमा आगो लगाएर खरानी धस्दै हिँडिरहनुभएको छ, ती वामहरुलाई वाम मानेर एकता वा गठबन्धनको भ्रममा नेकपा एमाले पर्दैन।

नेपाली कम्युनिस्टलाई बलियो बनाउने र यही कम्युनिस्ट आन्दोलनको नेतृत्वमा समाजवादको आधार तयार गर्दै समाजवादसम्म जाने लक्षमा इमान्दारीपूर्वक लागिरहेका बहुसंख्यक वामपन्थी कार्यकर्ता र वामपन्थी जनमतप्रति हाम्रो सदैव सम्मान छ। ती वामपन्थीहरुले समेट्ने प्रयास आज पनि जारी छ। तर, केही नेताहरु, जसका निम्ति सत्ता स्वार्थभन्दा बढी केही पनि छैन र सत्ताका लागि कम्युनिस्ट आन्दोलनलाई कमजोर गरेर पुँजीवादी शक्तिलाई बलियो बनाउन जो लागिरहनुभएको छ, पुँजीवादी शक्तिको विजयमा जसले खुसी मनाइरहनुभएको छ, उहाँहरूसँगको गठबन्धन, तालमेल वा एकताको कुनै अर्थ पनि छैन।

तपाईंले भन्न खोज्नुभएको माओवादी केन्द्र र एकीकृत समाजवादीसँग एमाले मिल्दै मिल्दैन भन्ने हो?
अब, नाम लिन पनि जरुरी छ भन्ने म ठान्दिनँ। नेपाली जनताले उनीहरुलाई राम्रैसँग बुझ्नुभएको छ। हामीले देख्यौं, उहाँहरु कुन हदसम्म जानुभयो । एक थान वडा सदस्य जित्नका लागि, एक थान वडाध्यक्ष जित्नका लागि कांग्रेसको चुनाव चिन्ह लिएर लड्नेसम्म तल झर्ने साथीहरुको हकमा अब उहाँहरु वामपन्थी हो भन्न सकिन्न। त्यो नेतृत्व वामपन्थी हो र उसँग सहकार्य नगरी केही गर्न सकिँदैन भन्ने अवस्थामा हामी छैनौं।

बहुसंख्यक वामपन्थी जनमतलाई आकर्षित गर्ने, संगठित गर्ने, सहकार्य गर्ने तर जसले वामपन्थी आन्दोलनलाई वास्तवमा धोका दिएको छ, ती नेतृत्वको भ्रमबाट समाजलाई छिटोभन्दा छिटो मुक्त गर्नु आवश्यक छ।

तपाईंले त मिल्दैनौं भन्नुभयो, नेपालखबरसँगकै अन्तर्वार्ताका क्रममा तपाईंकै पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले त डिजास्टर भयो अब वाम एकता आवश्यक छ भन्नुभयो, डिजास्टर भएकै हो?
कुन सन्दर्भमा उहाँले त्यस्तो भन्नुभयो, केलाई डिजास्टर देख्नुभयो, त्यो डिजास्टर चाँहि पार्टीको आन्तरिक कारणले भयो वा माधव नेपाल बाहिरिएका कारणले भएको हो, त्यो उहाँले कुनै सन्दर्भमा भन्नुभएको होला । सन्दर्भ नै नबुझी म त्यसमा टिप्पणी गर्दिनँ।

तर, जहाँसम्म पार्टीको दृष्टिकोण हो, पार्टी आफ्नो बलबुँतामा उभिनेछ। सकारात्मक शक्तिहरुलाई साथ लिन हाम्रो सदैव ढोका खुला छ। तर, यस्तो निरीहता हाम्रो कुनै पनि नेताले प्रकट गर्नुहुँदैन कि मानौं अरु कसैको लोरौ नटेकी एक पाइला पनि चल्न सकिँदैन । यस्तो भ्रममा कोही पनि पर्न हुँदैन भन्ने मलाई लाग्छ।

अन्तिममा, ९ महिनादेखि भएको संसद अवरोध एमालेले विनाशर्त खुलायो। यहाँभन्दा अघि मागहरु पूरा नभई अवरोध खुलाउँदैनौँ भन्नुहुन्थ्यो, के परिस्थिति आयो र संसदमा सहभागी हुनुभयो?
यसबारे मैले सदनमा पर्याप्त नै बोलेको छु। यसका दुईवटा कारण छन् :

एउटा– हिजो जे कारणले सदनमा विरोध जारी राखेका थियौं, ती मुद्दाहरु आज पनि कायम नै छन्। हामीले संघर्षको स्वरुप मात्र बदलेका हौं। हामीले मुद्दा बदलेको होइन। एउटा दल विशेषलाई लक्षित गरेर जस्केलाबाट अध्यादेश ल्याउने, दल फुटाउने र अध्यादेश फिर्ता लिने कुरा कानुनी जालसाजी थियो। त्यो जालसाजीकै रुपमा रहिरहनेछ।

अर्को– दलले कारबाही गरेका सांसदहरुको सूचना नटाँसेर दलको विभाजनमा कारक बन्ने सभामुखको कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत रहनेछ। इतिहासले त्यसको मूल्यांकन गर्नेछ। त्यसकारण हामीले आफ्ना मान्यतालाई बदलेका होइनौं। हाम्रा मान्यतामा हामी दृढ नै छौं।

तर, दुईवटा कारणले हामीले सदन खोल्ने निर्णय गर्यौं–

पहिलो मुलुकको स्थिति धेरै गम्भीर बन्दै गइरहेको छ। खासगरी आर्थिक र भूराजनीतिक हिसाबले। यो विषयमा सदनमा गम्भीर छलफल गर्नु, देशवासीलाई यसको बारेमा जानकारी गराउनु र जे बेठीक कामहरु भइरहेका छन्, त्यसका विरुद्धमा सिंगो सदनलाई एकतावद्ध बनाएर अघि लानुपर्ने हामीले ठानेका छौं। सरकार त गैरजिम्मेवार भयो भयो। तर, अरुले पनि त्यसमा सार्थक हस्तक्षेप नगर्ने हो भने देश आर्थिक हिसाबले संकटमा पर्ने देखेर हामीले सदनमा विरोधको स्वरुपलाई परिवर्तन गरेका हौं।

दोस्रो, जसले नेकपा एमालेलाई सिध्याउनका लागि भनेर पार्टी विभाजन गर्नुभयो, नेपाली जनताले उहाँहरुलाई फैसला गरिदिए। तपाईंहरुको हैसियतचाँहि यो हो भनेर जनताले नै फैसला गरिदिएपछि हामीले सभामुखले ठीक नगरे पनि, अदालतले त्यसमा आनाकानी गरे पनि जनताको फैसलालाई स्वीकार गरेर अघि बढ्न वान्छनीय देख्यौं। हामीले विरोधको स्वरुप परिवर्तन गरेका हौं, मुद्दा परिवर्तन गरेका हैनौं।

त्यसोभए, माधव नेपालसहितका १४ सांसदलाई अब संसदमा स्वीकार्नुभएको हो?
त्यसमा हाम्रो आफ्नो विरोध जारी नै छ। उहाँहरु अनुशासनहीन हो । हामीले गरेको कारबाही यथावत नै छ। तर, योभन्दा ठूलो कारबाही चाँहि जनताले गरे भन्ने हामीले लिएका छौं। त्यसकारण यो विषयलाई त्यही कारणले सदनमा लगातार हाम्रो विरोध जारी राख्नपर्ने हामीले देखेनौं।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .