ad ad

अन्तर्वार्ता


ओलीसँग भनेका हौं– घनश्याम र भीम रावललाई बोलाएर टिकट दिनुस् : अष्टलक्ष्मी शाक्य (अन्तर्वार्ता)

ओलीसँग भनेका हौं– घनश्याम र भीम रावललाई बोलाएर टिकट दिनुस् : अष्टलक्ष्मी शाक्य (अन्तर्वार्ता)

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन्– अध्यक्षसँग सुरु सुरुमा अप्ठेरो भएपनि अहिले धेरै सहज छ (तस्बिर : विशाल कार्की)


रुपक चौलागाईं
कात्तिक २०, २०७९ आइतबार ८:३८, काठमाडौँ

अष्टलक्ष्मी शाक्य नेकपा एमालेकी पुरानो नेतृ हुन्। गत मंसिरमा भएको १०औं महाधिवेशनबाट उपाध्यक्ष बनेकी शाक्य योपटक निर्वाचनमा उम्मेदवार बनेकी छैनन्। पार्टीले दिएको टिकट अस्वीकार गर्दै आफू संसदीय राजनीतिबाट बिदा हुने घोषणा गरेकी शाक्य पार्टी राजनीतिमा भने सक्रिय हुने बताउँछिन्। टिकट पाउन लामो मिहिनेत गरेर अन्य नेताहरूलाई उनले पाएको टिकट नलिएकोमा अचम्म लागेको छ। तर, शाक्य भने पार्टीको सक्रिय राजनीतिदेखि लेखन र इतिहास खोज्नसम्ममा आफू सक्रिय हुने बताउँछिन्।

०७४ को प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (ख) बाट निर्वाचित शाक्यले यो पटक पनि सो क्षेत्रमा एमालेले नै जित्ने दाबी गरेकी छन्। काठमाडौंका १० वटा क्षेत्रमध्ये ७ वटा जित्ने दाबी गरेकी शाक्यसँग नेपालखबरले गरेको कुराकानीको सम्पादित अंशः

पार्टीले दिएको टिकट पनि अस्वीकार गर्नुभयो, हिजोआज के गर्दै हुुनुहुन्छ?
अहिले चुनाव लाग्यो। सबैलाई चुनाव लाग्यो मलाई पनि लागेको छ। म खासगरी काठमाडौं केन्द्रित कार्यक्रममा सहभागी छु। काठमाडौं–८ आफूले छाडेको ठाउँ भएको कारणले पनि त्यहाँ अलि बढी घरदैलौ कार्यक्रममा सहभागी भएको छु। 

कस्तो पाउनुभएको छ अहिलेसम्मको माहोल?
अहिलेसम्म विभिन्न ठाउँबाट भएको रिपोर्टिङअनुसार एमाले अनुकूल छ। चुनावी माहोल एमालेको अनुकूल छ भन्ने आइरहेको छ। कमजोर ठाउँबाट पनि एमालेलाई जिताउन पाए हुन्थ्यो भन्ने आएको छ। जहाँसम्म काठमाडौंको कुरा छ, यहाँ अवस्था राम्रो बन्दै गइरहेको मैले पाएको छु। 

यहाँभन्दा धेरै वृद्धले पनि चुनाव लड्न लाग्नुभएको छ। तर, तपाईंले संसदीय राजनीतिबाट बिदा हुन हतार गर्नुभएको त होइन?
हतार गरेको होइन। खासगरी म राजनीतिबाट विमुख होइन। म संसदीय राजनीति नगर्ने र पार्टी राजनीति गर्ने भनेको हुँ। त्यो भनेको पार्टीको राजनीति रहिरहन्छ भनेको हो। मसँग मनमोहन अधिकारीको प्रेरणा छ। राजनीतिमा वितृष्णा जाग्ने वा बिदा लिने भन्ने नै आउँदैन। मेरो हकमा त त्यो झनै हुन सक्दैन। यसलाई वितृष्णा नभनौं, संसदीय राजनीतिमा मैले अध्ययन गर्दै अहिले युवाहरूमा पुनः राजनीतिक जागरण आएको छ। स्वतन्त्र भने पनि राजनीतिमा युवाहरूको चासो बढेको देख्छु। मैले ०४८ देखि सत्ता र सुविधाको राजनीतिमा राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा हुँदै सबै ठाउँको अनुभव भयो।

त्यसकारण बिस्तारै युवालाई छाडेर पार्टी राजनीतिमा लाग्ने, पार्टीलाई बलियो बनाउन सक्छु कि भनेर अहिले मैले यो निर्णय गरेको हो। ०४६ सालपछि बल्ल सुविधाको राजनीति सुरु भएको हो। त्यसअघि त्याग र निष्ठाको राजनीति हो। जेल, नेल, कस्टडी यातना सबै भोगेको हो। त्यसअघि राणा शासनविरुद्ध अग्रजहरू लाग्नुभयो। कम्युनिस्ट आन्दोलन मिलाउँदै जाँदा नेकपा एमालेबिना समृद्धि हुँदैन भनेर विभिन्न दलहरू सक्रिय भइरहँदा एमालेले नेतृत्व लिएको बेलामा मात्र रुचाइएको देखिन्छ। छोटो समयमा भए पनि राम्रो काम एमालेले गर्‍यो भन्ने भावना छ। एमालेको सरकारमा गरेका कामहरूमा जनता खुसी छन्। अहिले राजनीतिक अराजकता सुरु भएको छ, त्यस्तो अवस्थामा जनताहरू छिटो देश विकासको चाहनामा छन्।

भिडिओः

तपाईं चुनावमा नउठ्नुचाहिँ अध्यक्ष केपी शर्मा ओलीप्रतिको असन्तुष्टिले पनि हो भन्छन् नि? 
त्यस्तो होइन। असन्तुष्टि हुनपर्ने कारण नै छैन। मैले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादीमा जानुभएका पूर्व नेताहरूलाई समेत पार्टी एक बनाउनपर्छ भनेर भनेको छु। उहाँहरूमा धेरै स्वार्थ पलायो, महत्वकांक्षा बढ्यो। हामी एमालेलाई नै बलियो बनाउनपर्छ भनेर फुटको पक्षमा वकालत गरेनौं। अध्यक्षसँग सुरु-सुरुमा अप्ठेरो भए पनि अहिले धेरै सहज छ। अहिले हामी छलफलमा पनि छौं। 

एमाले एकातिर विभाजित छ, अनि तपाईंहरू अनुभव भएकाहरूले पार्टी छाड्दा घाटा नहोला? 
घाटा हुँदैन। एकजना व्यक्ति नलाग्दैमा घाटा लाग्दैन। संसदीय राजनीतिमा हिजो निरन्तर लाग्नुभएको, उपप्रधानमन्त्री, प्रधानमन्त्री हुनुभएको साथीहरू यो निर्वाचनमा हुनुहुन्छ। त्यसकारण अनुभव सम्हाल्नुभएका साथीहरू पनि निर्वाचनमा हुनुहुन्छ। नयाँ पुस्ता पनि राजनीतिमा सँगसँगै हिँड्नुपर्छ भन्ने मेरो कुरा हो। यसरी हिँड्दा सिक्ने र सिकाउने कुराहरू पनि हुन्छ। देशको राजनीति पनि बलियो ढंगबाट अघि बढाउन यसले सहयोग पुग्छ। पार्टी राजनीति संसदीय राजनीतिबाट ओझेल पर्न हुँदैन। जब पार्टीको राजनीति कमजोर हुन्छ, संसदीय राजनीति पनि कमजोर हुन्छ भन्ने मलाई लाग्छ। पार्टीले विधिसम्मत ढंगबाट चल्ने पंक्ति तयार गरेर महत्त्वपूर्ण भूमिका खेल्न सक्यो भने अराजकता र वितृष्णा आउँदैन जस्तो मलाई लाग्छ।

तपाईंकै सरकारको पालामा दुईपटक संसद् विघटन भएपछि पाँचदलीय गठबन्धन बनेको छ। एमाले एक्लोजस्तै मैदानमा छ, गठबन्धनको चुनौती कसरी सामना गर्नुहुन्छ?
गठबन्धनको धेरै चर्चा गरिराख्नु जरुरी छैन। गठबन्धन आफैं कमजोर छ। एकअर्कामा अन्तरविरोध छन्। समस्या कति छन् भन्ने बाहिर आएकै छ। हामीले साँच्चै मर्यादित राजनीति गर्ने हो भने गठबन्धनबाट होइन। गठबन्धन गर्नु नै गलत हो। लोकतान्त्रिक संस्कारभित्र यो सुहाउँदैन। कांग्रेस, माओवादीले एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्ने आँट गर्नुपर्‍यो नि। आँट नभएपछि सबै मिलेर एमालेलाई सिध्याउने भनेर लागेका छन्। यो अत्यन्तै नराम्रो राजनीतिक संस्कार हो। यो लोकतान्त्रिक चरित्र पनि होइन। त्यसकारण गठबन्धनसँग आत्तिनपर्ने अवस्था पनि छैन। एमाले देशैभरि लागेको छ, केही ठाउँमा तालमेल छ, नत्र एमाले एक्लै लडेको छ। हामी ढुक्कै एक्लै जित्छौं।

तपाईंकै दलका नेताहरू एक्लै बहुमत त्याउँछौं भनेर दाबी गरिरहँदा आन्तरिक मूल्याकंनचाहिँ के छ?
पार्टी बसेर, अध्यक्षसहित बसेर यो कुरा छलफल गर्नुपर्छ। देशैभरिको कमिटीबाट बुझ्नपर्छ। अहिले हामी बस्न पाएको छैन। हाम्रो अध्यक्षले बोल्नुभएको छ, हामी बहुमत आउँछ भन्नुभएको छ। त्यसकारण मैले ठ्याक्कै भन्न सक्दिनँ। हामी सबै बसेर छलफलपछि यति भनेर भन्न सक्छौं। अहिलेचाहिँ बहुमत आउँछ भनेर भन्न सक्छौं। अध्यक्षकै कुरा सापट लिएर भन्दा अहिले हामी १५० सिट ल्याउँछौं। एमाले बहुमत आउँछ भन्ने कुरा सुदूरपश्चिमदेखिका सबै प्रदेशमा भनेका छौं।

एमालेले पाँच वर्षको जनमत जोगाउन सकेन, समय खेर फाल्यो भन्ने आरोप पनि छ। यो अवस्थामा कसरी बहुमत आउला?
पाँच वर्षको बहुमत जोगाउन सकेन भन्ने कुरा एमालेको कारणले मात्र भएको होइन। राजनीतिभित्रको षडयन्त्रकारी र अराजनीतिक गतिविधिले भएको हो। हाम्रोमा कम्युनिस्ट आन्दोलन बलियो होला भन्दापनि नेकपा भएर आन्दोलनलाई बलियो बनाउनपर्छ भन्दा पनि भएन। मिलेर जान सकिएन। हाम्रो उद्देश्यभन्दा बाहिर रहेछ भन्ने साबित भएको छ। फराकिलो राजनीति, स्वस्थ राजनीति नहुँदा भएकै सरकारमा पनि अनेकौं चलखेलको स्थिति बन्यो। कसरी देश र जनताको लागि राम्रो काम गर्ने भन्ने भएको छैन। जसले सबैलाई नोक्सान भएको छ। मुख्यतः कम्युनिस्ट आन्दोलनलाई कमजोर बनायो। कम्युनिस्टहरू छरपस्ट भएर भन्दा पनि मिलेर जानपर्छ भन्दा पनि सम्भव भएन। जनताले विश्वास गरेकै थिए, कसरी देश र जनताको लागि काम गर्ने भनेर सोच्न पाएको भए राम्रो हुन्थ्यो, त्यो हुन सकेन। जसले एमालेलाई मात्र नभई कम्युनिस्ट आन्दोलनलाई नै नोक्सान भयो भन्ने मलाई लागेको छ।

स्थानीय चुनावपछि स्वतन्त्र उम्मेदवारको क्रेज पनि बढेको छ। ठूला दलले अहिलेको व्यवस्थालाई बदनाम गरे भन्ने आरोप छ, के साँच्चै व्यवस्थालाई बदनाम भएको हो? 
बदनाम गर्‍यो नै भन्न सकिँदैन। तर उहाँहरूको शैलीमाथि प्रश्न उठेको हो। ठूला दलहरू भनेको देशको अभिभावक हो। सबैलाई सम्झाएर बुझाएर ठिक ट्र्याकमा लाने नेतृत्व हो। तर ठूला दलहरूभित्र अत्यन्तै संकिर्णता देखियो। स्वस्थ प्रतिस्पर्धा भन्दा पनि राजनीतिक संकिर्णता दलहरूमा देखियो। अराजकता पनि उहाँहरूले सिर्जना गर्नुभयो। आफ्नो आफ्नो पार्टीमा गुट र समूह चलाउने अवस्था बढी सिर्जना भयो। यसले समस्या ल्याएको हो। 

गुट र समूह चलाउने कुरा त ५ वर्षमा एमालेमा नै बढी देखियो नि होइन र?
होइन। एमालेमात्र नभई सबै दलमा देखिरहेका छौं। कहाँ घटी कहाँ बढी भन्ने मात्र लेखाजोखा गरौंला। तर सबै ठाउँमा देखियो। अहिलेको अवस्थामा चलखेलको राजनीति बढ्यो। यो राजनीतिक पार्टी र नेतृत्वबाट भएको हो। राजनीतिक नेतृत्व अभिभावक हुन सकेन। नयाँ नीतिका साथ मुलुकको नेतृत्व गर्नपर्नेबाट नै यो भएन। मुख्यतः ०६२/०६३ सालमा गणतन्त्रलाई साझा एजेन्डा बनाएर, समाजवालाई साझा एजेन्डा बनायौं। यसरी सडकमा आएर जेलनेल भोगेर, यातना खाएर, आम जनताको साथ लिएर सफल बनाएका हौं। यति राम्रो संविधान हामी सबै मिलेर बनाइसकेपछि यसलाई अब साझा बनाउन पर्दैन? यसलाई सफल र बलियो बनाउनपर्छ, समाजवादको लक्ष्यमा पुग्न पनि सामूहिक एकता चाहिन्छ भन्ने बुझ्नपर्छ।

जसरी हामी ०६२/०६३ सालमा सफल बन्यौं, त्यसैगरी हामी देश बनाउनेतिर जानुपर्छ भन्ने सोच नै कमजोर भयो। जसले गर्दा आज अराजकता र चलखेल भयो। नेतृत्वमा पनि परिवारवाद र गुटवाद जन्मियो। अनि स्वतन्त्रहरू बढ्ने स्थिति बन्यो। जहाँसम्म स्वतन्त्रहरू आएर केही गर्छु भन्ने चाहना बोकेर आउनुभएको छ। यो राम्रो कुरा पनि हो। मलाई त्यो राम्रो लागेको छ। बीचमा एकपटक युवाहरूमा राजनीतिप्रति वितृष्णा जागेको जस्तो भएको थियो। तर अहिले त्यो फेरि आएको छ। त्यो स्वतन्त्रहरूको मात्रहरूले केही गर्न सक्दैन। जितेर गए पनि एक्लाएक्लै विचार पास हुँदैन। त्यसकारण उहाँहरूलाई संसदीय प्रणालीमा संस्थागत विकासको कुरामा उहाँहरूको जोड दिनुपर्छ। 

काठमाडौंको परिणामले देशभरि एउटा सन्देश दिन्छ। गत स्थानीय तहको निर्वाचनले पनि त्यसलाई संकेत गरेको छ। यहाँ लामो समय राजनीति गर्नुभएको नेतृ। उपत्यकामा यो पटक एमालेको कस्तो आउँला परिणाम?
उपत्यका हाम्रो ठीकै छ। सबै सिट त कसैले पनि दाबी नगर्दा हुन्छ। एमालेले पनि त्यसरी दाबी नगर्दा हुन्छ। जति उठायो सबै जित्छन् भन्ने पनि नराखौं। केही केही सिट तलमाथि हुनसक्छ। यही यही सिट त नभनौं तर केही सिट हामीले छाड्नपर्ने हुनसक्छ। काठमाडौंको १० वटा क्षेत्रमा सबै हामीले नै जित्छौं भन्दा अरूले पत्याउन पनि पर्‍यो। १० वटै सिट त होइन कम्तीमा ५ वटा भन्दा बढी नाघ्नुपर्छ। मेरो विचारमा ७ वटा सिटसम्म हामीले दाबी गर्नुपर्छ भन्ने मलाई लाग्छ।

तपाईंले छाडेको काठमाडौं–८ माचाहिँ एमालेको अवस्था कस्तो छ?
काठमाडौं ८ हामी जित्छौं। चुनावमा मिहेनत त गर्नैपर्छ चुपो लागेर बसेर त जितिँदैन। किनभने त्यहाँभित्र पनि धेरै उम्मेदवार हुनुहुन्छ। तर त्यसलाई मर्यादित र स्वस्थ, मर्यादित र संस्कारयुक्त प्रतिस्पर्धा गर्दा हामी काठमाडौं–८ सहज तरिकाले जित्छौं। किनभने पहिला पनि हामीले यो क्षेत्र जितेकै हौं। 

यसअघि जितेका उम्मेदवार पार्टी छाडेर अहिले पनि एमालेविरुद्ध नै उठ्नुभएको छ। स्वतन्त्रहरूको पनि काठमाडौं–८ मा चर्चा छ। कसरी सहज जित सम्भव छ?
त्यस्तो म ठान्दिनँ। काठमाडौं–८ मा जति पनि उम्मेदवार उठ्नुभएको छ, उहाँहरूले पनि आफ्नो आफ्नो तयारी गरिरहनुभएको छ। मेरै घरमा पनि भोट माग्दै उहाँहरू आइरहनुभएको छ। यसरी सबै ठाउँमा एकले अर्कालाई सम्मानस्वरुप भोट माग्न सकिन्छ। उहाँहरूको पनि केही केही भोट त छ। केही भोटचाहिँ तलमाथि होला। एमालेको चित्त नबुझेर पनि केही उम्मेदवार उठेका छन्। तर सबै मतको विश्लेषण गर्दा सबैभन्दा ठूलो दल एमाले नै हुन्छ। किनभने अहिलेको जनमत जसरी सिर्जना भएको छ, त्यसले पनि त्यही देखाउँछ। मैले अहिलेसम्म केही छाडेको छैन, म पनि आफैं निर्वाचन क्षेत्रमा खटिरहेको छु। जित्नुहुन्छ भन्ने विश्वासका कारण नै शिवसुन्दर राज वैद्यलाई उठाएका छौं। उहाँ संयोजक पनि हो। लामो समयदेखि मजदुर आन्दोलनमा सक्रिय हुनुभएको हो। राजेश शाक्य पनि पहिला जित्नुभएकै हो। उता निमा घ्याम्चो पनि जित्नुहुन्छ। 

एमाले विभाजित भएपछि पनि अध्यक्षले टिकट वितरणमा ‘१० भाइ’लाई पेलेको, आफू निकटलाई मात्र टिकट दिएको आरोप पार्टीभित्र छ। यसले कसरी पार्टी बलियो होला?
टिकट वितरणमा हामीले सचिवालयको बैठकमा पनि तल्ला कमिटीबाट सिफारिस गर्ने, सचिवालयको बैठकबाट निर्णय गर्ने भनेर गरेकै हौं। अन्तिम अवस्थामा कतिपय कुराहरू हामीले अध्यक्षलाई पनि जिम्मा दिएका थियौं। जहाँसम्म घनश्याम कमरेडको कुरा छ, टिकट नै नपाए पनि संसदीय राजनीतिमा प्रवेश हुन नपाउनु मात्र मुख्य हो त? कम्युनिस्ट आन्दोलनमा लागेपछि घनश्याम कमरेडजस्तो बाैद्धिक व्यक्तित्वले यही पार्टीलाई चटक्क छाड्न हुँदैनथ्यो भन्ने मेरो विश्लेषण छ। उहाँले पर्खिएको भए के हुन्थ्यो? पर्खिन पनि त हामीले धैर्यता राख्न सिक्नपर्‍यो। जहिले पनि मलाई नै मात्र चाहियो भन्ने पनि गर्नुहुँदैन जस्तो मलाई लाग्छ। जहाँसम्म अध्यक्षले ठीकै छ नि त भनेर दिएको भए पनि फरक पर्दैन थियो। हामीले घनश्याम र भीम रावल कमरेडलाई पनि बोलाएर कुरा गर्नुस्, टिकट दिनुस् भनेका पनि हौं। जित्नेलाई टिकट दिनका लागि मन साँघुरो बनाउन पर्दैन भनेका थियौं तर कता-कता के के मिलेन होला। 

कमल थापालाई सूर्य चिह्न प्रदान गरिरहँदा घनश्याम भुसाल र भीम रावलले टिकट नपाएको भन्दै आलोचना त भयो नि?
टिकटकै कुरा गर्दा धेरै कुराहरू भन्नपर्ने कुराहरू छन्। अहिले वास्तवमा कति पटक मन्त्री बन्ने?, कति पटक प्रधानमन्त्री बन्ने? बनेकाहरूको हालत पनि हामीले देखेका छौं। मान्छेले समीक्षा त गर्छन् नि। पटकपटक सांसद भएकाहरू पनि अहिलेसम्म जितेका छन्। तर हामीले ठूलो संख्या आइसकेका कारण पार्टीले अब कति पटक भन्नेचाहिँ निष्कर्षमा पुग्नपर्छ। जसले टिकट नै पाएको छैन, उहाँहरू पार्टी भनेर इमानका साथ बस्नुभएको छ। उहाँहरूलाई कसरी लिने? उहाँहरूबाट पनि सिक्न त पर्‍यो नि। 

राप्रपा र राप्रपा नेपालसँगको तालमेलका विषयमा अहिले पनि आलोचना जारी छ। राजावादीहरूसँग मिल्नपर्नेचाहिँ एमालेलाई के त्यस्तो बाध्यता आइपर्‍यो?
यसबारेमा जति व्यापक रुपमा छलफल हुनपर्ने हो त्योचाहिँ भएन। तर, लोकतन्त्रमा राप्रपाले राजावादी भनेर हिजोको धङधङी राखेर चल्छ? हिजो राजाको व्यवस्था थियो होला, देश दुनियाँमा विभिन्न व्यवस्था पनि हुन्छ। नयाँ व्यवस्थालाई आत्मसात् गरेर अनुशरण गर्ने कि नगर्ने भन्ने महत्त्वपूर्ण कुरा हो। अहिलेको चलन के हो भने, सोच नै बदल्न सक्दैनौं। व्यवस्था बदल्यौं तर सोच बदल्न सक्दैनौं। अझै पछि हटेर हिजोको व्यवस्थालाई तान्न खोज्छौं। त्यसकारण लोकतन्त्र र गणतन्त्रप्रति उहाँहरूमा पनि विश्वास जाग्नपर्‍यो। यसैमा आधारित भएर चल्न जान्नपर्‍यो। यसैमा आधारित भएर देश बनाउन जान्नपर्‍यो। राप्रपाको सवालमा पनि मेरो दृष्टिकोण त्यही हो। लोकतन्त्रमा विश्वास राखेर नै अघि बढ्नपर्छ। अब देश बनाउन गणतान्त्रिक शक्तिमात्र नभई लोकतान्त्रिक शक्ति पनि मिल्नुपर्छ भन्ने मेरो बुझाइ हो।

अन्त्यमा, तपाईं आफैं संसदीय राजीतिबाट विश्राम लिएर पार्टी राजनीतिमा आइरहँदा अब कसरी अघि बढ्ने सोच बनाउनुभएको छ?
म लामो समयदेखि पार्टीमा लागेको मान्छे हुँ। झण्डै २७/२८ सालदेखि नेकपा मालेमा नलागे पनि श्यामप्रसाद समूहदेखि पार्टीमा सक्रिय भएको हुँ। त्यसपछि निरन्तर लाग्दा माले हुँदै एमाले भयो। लामो समय राजनीतिमा लाग्दा धेरै कुराहरू प्राप्त गरेँ र धेरै गुमाएँ। हिजो निरकुंशतन्त्रविरुद्धको अनुभव, भूमिगत व्यवस्थाको अनुभव, जनताको वास्तविक दुःख के हो भन्ने कुरा पनि मैले अनुभूत गरेँ। त्यसकारण कम्युनिस्ट पार्टीमा लागेकै कारण मैले यो सबै अनुभूत गर्न पाएको छु। यो मेरा लागि महत्त्वपूर्ण कुरा हो। राजनीतिलाई सफल बनाउन र लोकतन्त्र ल्याउन हामी लागेका थियौं। यतिसम्म आउँदा म यो मानेमा खुसी छु कि, हामीले व्यवस्था परिवर्तन गर्‍यौँ। हाम्रो राम्रो संविधान पाएका छौं। राजनीतिक हिसाबले हामी स्वतन्त्र भएका छौं, हिजो हामी हुकुमी व्यवस्थाको दास बनेका थियौं। आज सार्वभौम नेपाली नागरिक भएका छौं। यो महत्त्वपूर्ण परिवर्तन हो, यसैमा टेकेर हामीले देशलाई नयाँ उचाइका साथ खुसी नेपाली बनाउने काम गर्नपर्‍यो। भ्रष्टाचार अन्त्य, सुशासन कायम, शिक्षा, स्वास्थ्य, रोजगार लगायमा माथि उठेर लाग्नुपर्छ भन्ने छ। 

म पार्टी राजनीतिमा सक्रिय हुन्छु। उपलब्धिलाई रक्षा गर्दै पार्टीमा बसेर मेरो सक्रिय भूमिका रहन्छ। पार्टीले जे जिम्मेवारी दिए पनि सक्रिय भूमिका खेल्न चाहन्छु। किनभने अर्को महाधिवेशनसम्म मेरो कार्यकाल बाँकी रहने हुनाले पनि सक्रिय हुन्छु भनेको हुँ। साथसाथै म इतिहासको खोजीमा पनि लागेको छु। संघर्षशील योद्धाहरू भन्ने पुस्तक लेखेको छु। नेपाली महिलाहरूको जीवनी उजागर गर्नपर्छ भनेर पनि म लागेको छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .