ad ad

अन्तर्वार्ता


नेपाल बैंक अब साना लगानीकर्ताहरुमा केन्द्रित हुन्छ : सीईओ अधिकारी (अन्तर्वार्ता)

नेपाल बैंक अब साना लगानीकर्ताहरुमा केन्द्रित हुन्छ : सीईओ अधिकारी (अन्तर्वार्ता)

नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी।


नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १८:३२, काठमाडौँ

नेपाल बैंक नेपालको सबैभन्दा पुरानो बैंक हो। बुधबार यो बैंक ८५ वर्ष पूरा भएर ८६ वर्षमा प्रवेश गर्दै छ। 

स्थापनाकालदेखि अहिलेसम्म विभिन्न आरोह अवरोह व्यहोरेको यो बैंक अहिले राम्रो वित्तीय सूचक भएको बैंकहरुमध्ये पर्छ। यस बैंकको वित्तीय अवस्था र आगामी योजनाबारे केन्द्रित रहेर नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीसँग नेपालखबरले गरेको कुराकानी :

नेपालको बैंकको इतिहासदेखि अहिलेसम्मको अवस्थालाई कसरी सम्झिनुहुन्छ?
नेपाल बैंकको इतिहास धेरै लामो हो। वि.सं. १९९४ कात्तिक ३० गते यसको स्थापना भयो। नेपालमा पहिलोपटक यही बैंकले बैंकिङ सेवा दिन सुरु गरेको थियो। हामी ८५ वर्ष पूरा गरेर ८६ वर्षमा प्रवेश गर्दै छौँ। यो लामो कालखण्डमा बैंक कुनै समय स्वर्णिम देखियो त कुनै समय समस्याबाट पनि गुज्रिनुपर्यो। 

त्यसबाट माथि उठ्न सुधारतर्फ लाग्यौँ। अहिले हामी अन्य बैंकका प्रतिस्पर्धी भएका छौँ। अहिले देशभरका २६ बैंकमध्ये नेपाल बैंक स्वस्थ, सबल, सक्षम र प्रतिस्पर्धी बनेको छ। यसलाई प्रमाणित गर्ने आधार भनेको वित्तीय विवरण हो। ०७९ असार मसान्तकै तथ्यांक हेर्दा हामीसँग १ खर्ब ९७ अर्बको निक्षेप छ भने १ खर्ब ८० अर्ब कर्जामा लगानी गरिसकेका छौँ। कम आधार दर हुनेमा हामी दोस्रो स्थानमा छौँ। यसको अर्थ हामी सस्तोमा कर्जा प्रवाह गर्न सक्षम छौँ।

क्यापिटल एडिक्वेसी (पुँजी पर्याप्तता)मा पनि उत्कृष्टमा परेका छौं। नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड ११ प्रतिशत छ तर हामीले १५ प्रतिशत कायम गरेका छौँ। कतिपय बैंकले नाफा आर्जन गर्दागर्दै पनि आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न पाइरहेका छैनन्। प्रत्येक महिना नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पालना गर्नुपर्ने हुन्छ। नत्र कमाएको नाफा बाँड्न मिल्दैन। त्यस्ता धेरै बैंक पनि छन्। हामीले निरन्तर १५–१६ प्रतिशतको क्यापिटल राखेका छौँ। त्यसैले सुदृढ अवस्थामा छौँ। 

निष्क्रिय कर्जाकै कुरा गर्ने हो भने पनि असार मसान्तसम्म १ दशमलव ९१ थियो भने असोज मसान्तमा २ को हाराहारी पुगेको छ। केही बढे पनि स्वीकार्य अवस्था हो। गत आवमा नेपाल बैंकले असहज परिस्थिति भोग्यो। तरलताको समस्या भोग्नुप¥यो। यद्यपि, निक्षेप र कर्जा बढाउन सक्यौँ। कर्जा र निक्षेपको वृद्धिदरको आधारमा २७ बैंक हुँदा नेपाल बैंक पहिलो नम्बरमा थियो। असार अन्तिममा २६ वटा बन्दा हामी दोस्रो स्थानमा छौँ। यसले के देखाउँछ भने अहिलेको समयमा नेपाल बैंक सबैभन्दा विश्वासिलो बैंक बनेको छ। 

नेपाल बैंक सस्तो कर्जाको ब्याज लिनेमा दोस्रो स्थानमा छ, यो कसरी सम्भव भयो?
पछिल्लो समय धेरै कारणले बैंकको लागत बढिरहेको छ। अहिले बैंकको लागत ७ प्रतिशतसम्म छ। पहिले अधिकतम ५ प्रतिशतसम्म मात्रै हुन्थ्यो। तर पनि नेपाल बैंक अन्यभन्दा कममा नै पर्छ। किनभने नेपाल बैंकको निक्षेपमा अरू बैंकको तुलनामा मुद्दतीको मात्रा कम छ।

सेभिङ एकाउन्ट रेसियो (बचत खाता अनुपात) अरूको भन्दा बढी अर्थात् ६० प्रतिशत छ। बजारमा अरूको बढ्दा हाम्रो पनि बढ्ने अवस्था हो। तर, मुद्दतीको अंश कम हुने भएकाले अरूको भन्दा सस्तो दरमा कर्जा प्रवाह गर्न सकिरहेका छौँ। 

प्रतिफल वितरणमा नेपाल बैंक कहाँ छ?
हो, पक्कै पनि २३ वर्षसम्म हामीले केही दिन सकेनौँ। लगातार तीन वर्षदेखि भने लाभांश बाँडिरहेका छौँ। आर्थिक वर्ष २०७५÷०७६ मा २५ प्रतिशत, ०७६/०७७ मा १६ प्रतिशत र ०७७/०७८ मा १७ प्रतिशत लाभांश दियौँ। 

गत आर्थिक वर्षको बाँकी छ। हामी वितरण गर्ने योजनामै छौँ। लगानीकर्ताले प्रतिफल खोज्नु र हामीले वितारण गर्नसक्नु आफैँमा राम्रो पक्ष देखिएको छ। 

नेपाल बैंकले जनशक्तिको व्यवस्थापन कसरी गरिरहेको छ?
नेपाल बैंकमा ३३ सय ९६ कर्मचारी आबद्ध छन्। लोकसेवा आयोगको कठोर परीक्षा पास गरेर आएकाले अरू बैंकभन्दा उत्कृष्ट हुनुहुन्छ। त्यो बैंकको लागि पनि धेरै राम्रो कुरा हो। 

राम्रा जनशक्ति भएपछि उनीहरुले आफ्नो भविष्य पनि राम्रो रुपमा हेर्नुपर्ने हुन्छ। सेवासुविधामा पनि नेपाल बैंकले एउटा बेन्चमार्क (मानक) निर्माण गरिसकेको छ। हिजो नेपाल बैंक प्रवेशपछि अरू अवसरको खोजीमा हिँड्नुहुन्थ्यो। अब यहाँ काम गर्नेले नेपाल बैंकभन्दा बाहिर कतै सोच्नै नपर्ने स्थिति बनेको छ। सेवा सुविधाको हिसाबले अहिले नेपाल बैंक नै एक आधार बैंकको रुपमा छ। 

राष्ट्र बैंकले मर्जरको नीति लिएको छ, त्यसमा नेपाल बैंकले केही सोचेको छ?
बैंकिङ क्षेत्रमा मर्जरको माहोल नै बनेको छ। बैंकहरू मर्जरमा गइरहेका पनि छन्। तपाईंले भनेजस्तो राष्ट्र बैंकले पनि मर्जरमा लैजान प्रोत्साहनको नीति लिएको हो नै। राष्ट्र बैंकको नीतिअनुसार भनौँ वा बैंकहरु आफ्नै कारणले भनौं अहिले बैंकिङ क्षेत्रमा कतिपय बैंकलाई ठूलो कसरी बन्ने भन्ने होडबाजी चलिरहेको छ। 

त्यसले गर्दा मर्जरको विषयमा गहन रुपले सोचिएको छैन कि जस्तो पनि देखिन्छ। मर्जर त राम्रोसँग अध्ययन गरेर भएको राम्रो हो। तर रातारात सहमति भएर समेत भएको देखियो। राष्ट्र बैंककै अध्ययनले नेपालमा १६ बैंक उचित हुन्छ भनेर प्रतिवेदन तयार पारेको थियो। यो वैशाखतिर आएको प्रतिवेदन हो। निजी बैंकहरूलाई त यो विषयमा निर्णय लिन सजिलो हुने नै भयो। हामीचाहिँ सरकारको स्वामित्वमा हुने भएकाले बजेट तथा मौद्रिक नीतिमै व्यवस्था भएर प्रक्रियागत हिसाबले अघि बढ्नुपर्ने हुन्छ। 

हाम्रो बोर्डले निर्णय गरेर पनि हुँदैन। अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने पनि हुन्छ। त्यसकारण अहिले नेपाल बैंकको मर्जरबारे ठोस योजना छैन।

अहिले तरलता अभावको समस्या छ, तपाईंहरु आफ्नो योजनामा कसरी अघि बढिरहनुभएको छ?
पहिलो कुरा विकास निर्माणको कुराबाट हेर्नुपर्ने हुन्छ। संघीय संरचनामा गइसकेपछि विकास निर्माणले तीव्रता पाएको छ। यसको वृद्धिसँगै कर्जाको माग पनि बढ्न थालेको हो भन्न मिल्छ। 

यही कार्यान्वयनको क्रममा कोरोना सुरु भयो। यसले त्यो गतिविधिलाई खुम्च्यायो। त्यो अवस्थामा निक्षेप संकलन भएन। संकलन हुने माहोल पनि थिएन। कोरोना नियन्त्रणमा आएपछि अर्थात् खोपको कारणले केही कन्ट्रोल गर्यो। त्यसपछि आर्थिक गतिविधि फेरि विस्तार हुनथालेको हो। गतिविधि बढेपछि माग बढ्न थाल्यो। तर, पहिले जसरी निक्षेप संकलन हुन सकेन। अहिले नेपाल बैंक मात्रै नभई सबै बैंकहरु ‘पर्ख र हेर’को स्थितिमा छन्।

कोभिडको सुरुवातमा राष्ट्र बैंकले पनि नियामकीय छुटको सुविधा दिएको थियो। ती सुविधा पनि अहिले फिर्ता भइरहेको छ। बैंकहरु खुम्चिएर बसेका छन्। बैंकहरुले व्यवसाय कसरी विस्तार हुँदै जान्छ भन्ने कुरामा चाहिँ कसरी निक्षेप संकलन हुँदै जान्छ त्यसरी नै जाने हो। कसरी निक्षेप आकर्षित गर्न सकिन्छ भनेर त्यसमा लागेका छन्। 

अहिले सबै बैंकको ब्याजदर एउटै छ। पहिले निजी र सरकारी बैंकको फरक हुन्थ्यो। अहिले प्रधिस्पर्धी भएर हामी तीनवटा सरकारी बैंक नै गएका छौँ। हामीले अहिले निक्षेपको ट्रेण्ड हेरेर नै आफ्नो नीति लिने हो। असार मसान्तमा कर्जा विस्तार कम गर्दा समेत हाम्रो निक्षेप घटेको थियो। अर्थात् पैसा लिकाल्नेहरु धेरै देखिएका थिए। यस्ता कुराहरुलाई हामी मध्यनजर गर्नेछौँ। 

पछिल्लो समय रेमिट्यान्स बढिरहेको छ। हाम्रो स्रोतहरु बढिरह्यो भने हामी  विस्तारै साना तथा मझौता व्यवसायमा केही अघि जानेछौँ। अर्थात् साना व्यवसायमा अलि बढी केन्द्रित हुनेछौँ।

अहिले कर्जा महँगिँदै गएको छ, यसले नेपाल बैंकको नाफामा असर गर्छ?
निक्षेपमा बढेको ब्याजदरले तीन महिनासम्म कर्जामा असर पर्दैन। कात्तिकमा ब्याजदर बढेको भए माघको १ गते मात्रै कर्जामा ट्रान्सफर गर्न सकिन्थ्यो। त्यस हिसाबले बैंकहरूको खर्च बढ्छ तर कर्जामा देखिँदैन। 

कात्तिकमा हामीले ब्याजदर बढाएनौँ। निक्षेपमा ब्याज बढेकाले नाफामा कमी ल्याउँछ। नेपाल राष्ट्र बैंकले ४ दशमलव ४ स्प्रेडदर तोकेको छ। कुनै बैंकले ४ दशमलव ४ प्रतिशत कमाएको छ भने त नाफामा खासै असर पर्दैन। तर, यो सधैँ पूरा गर्न सकिँदैन । हाम्रो उद्देश्य नाफा मात्रै कमाउने होइन तर नाफा नै चाहिँदैन भन्ने पनि होइन । 

गत आर्थिक वर्षमा हाम्रो स्प्रेडदर निकै कम थियो । नाफा चाहिन्छ, बैंकको स्थायित्वको लागि पनि नाफा चाहिन्छ। ग्राहकको विश्वासको लागि पनि नाफा आवश्यक छ। सेयरधनीहरुलाई प्रतिफल दिन पनि नाफा आवश्यक छ। 

आगामी दिनमा नेपाल बैंक कसरी अघि बढ्छ?
नेपाल बैंकमा कुनै ग्राहक आएर फर्किसकेपछि त्यसले अरुलाई पनि यही बैंक ठीक हो भन्ने वातावरण हामीले बनाउने हो। 

त्यसबाहेक संरचना सुधार गर्दै छौँ। शाखा सञ्जाल विस्तार गरेर २३० पुर्याउने योजना पनि छ। नेपाल बैंकलाई सबैले गौरव गर्नलायक बनाउने हो। त्यसमा सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने हुन्छ। अब प्रविधिमा पनि हामीले ध्यान दिनेछौँ। त्यसमा केही काम भइरहेको पनि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .