ad ad

अन्तर्वार्ता


चुनावपछि नयाँ गठबन्धन इन्कार गर्न सकिँदैन : झापामा केपी ओलीसँग भिडिओ वार्ता

‘कांग्रेसको सिट डबल हुन्छ, माओवादी ओरालो लाग्छ, गठबन्धनका अरु सिद्धिन्छन्’
चुनावपछि नयाँ गठबन्धन इन्कार गर्न सकिँदैन : झापामा केपी ओलीसँग भिडिओ वार्ता

प्रतिनिधि सभामा झापा ५ बाट एमाले उम्मेदवार रहेका केपी ओली मंसिर ४ गते मतदान गरेर बालकोट फर्कने छन् (तस्बिरः सरोज बैजु)


जेवी पुन मगर
मंसिर १, २०७९ बिहिबार २२:४९, दमक, झापा

लक्का जवानहरुलाई माथ दिनेगरी गएको स्थानीय निर्वाचनदेखि नै देशका कुनाकन्दरामा चुनावमा स्टार प्रचारकको रुपमा दौडिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको उर्जा चकित पार्ने खालको छ। नेकपा टुक्रिएर संगठन यताउति हुँदा समेत आफ्नो हताशालाई कार्यकर्ताहरुमाझ नदेखाउने बरु तिनको उर्जा भर्न आफू पनि आत्मबिश्वासी देखिने ओली पार्टीका प्रभावशाली नेता माधव नेपाल सहितका शीर्ष नेताहरुले दलत्याग गर्दा समेत ड्राइभिङ सिटबाट टसकामस भएनन्।

‘संसद् विघटन नगरिएको भए प्रचण्ड र माधव नेपालले एमाले तहसनहस बनाइसक्ने’ तर्कमा नेता तथा कार्यकर्ताहरुलाई विश्वस्त तुल्याउन सफल ओलीले स्थानीय निर्वाचनमा राम्रो मत ल्याई आफ्नो नेतृत्व क्षमता पुनः साबित गरेर देखाइदिए। पार्टीमा दुईदुई चोटि ‘दुर्घटना’ हुँदा समेत ओलीको चुस्त ब्यवस्थापनले एमालेलाई ट्रयाकमा त फर्काएकै छ, उनको नेतृत्व र सांगठनिक क्षमताले विपक्षीहरुलाई पनि हायलकायल बनाएको छ। 

चारचार वटा प्रदेशबाट आफ्नो सरकार गुम्दा पनि ‘केही नभएजस्तो गरी बस्न सक्ने’ र अनेकन स्टन्ट गरी कार्यकर्तालाई चलायमान बनाइराख्न सक्ने क्षमता ओलीबाहेक उनका समकालीन नेता कसैमा देखिँदैन।

झापाका गाउँगाउँ भेटिएका एमालेका कार्यकर्ताहरुमा गज्जबको फूर्ति देखिन्छ। ओली प्रतापकै कारण हुनुपर्दछ, सत्ता गठबन्धनका नेताहरुले सार्वजनिक सभाहरुमा भाषण गर्दा ‘ओलीलाई हराउने’ एकसूत्रीय चुनावी नारा बनाइरहेको देखिन्छ। त्यसैले होला, थुप्रै विश्लेषकले यसपालिको चुनाव ओली भर्सेस अन्य दलको प्रतिस्पर्धाको रुपमा व्याख्या गरिरहेका छन्।

१ मंसिरको बिहान ८ बजे हामी ओलीको दमकस्थित निवासमा पुग्दा त्यहाँ दर्जनौँ नेताकार्यकर्ताहरुको लाम लागिसकेको थियो। उनको अन्तर्वार्ता गर्न चाहने आधा दर्जन सञ्चारमाध्यम लाइनमा बसिरहेका थिए। ३० कात्तिकमा काठमाडौँबाट विराटनगर ओर्लिएका ओली राति अबेरसम्म कार्यक्रमलाई सम्बोधन गरी १२ बजे दमक फर्किएका थिए। त्यहाँ पनि उनलाई भेट्न सुवास नेम्वाङ, राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल लगायतका दुई दर्जन नेताहरु पर्खिरहेका थिए। उनीहरुसँग राति २ बजेसम्म छलफलमा बसेका ओली बिहान आठ बजे नित्यकर्ममा लागिसकेका थिए।

प्रतिनिधि सभामा झापा ५ बाट एमाले उम्मेदवार रहेका ओली अब मंसिर ४ गते दमकमा मतदान गरेर मात्रै बालकोट फर्कने छन्। बिहीबार आमनिर्वाचन २०७९ को स्थिर समय सुरु हुनुभन्दा ठिक अगाडि नेपालखबरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेको संवादः

स्थानीय चुनावमा पनि असाध्य दौडधुप गर्नुभयो– पूर्वदेखि पश्चिमसम्म। युवाहरुभन्दा धेरै दौडिनुभयो। कहिले एलओडी पुग्नुहुन्छ, मानिसलाई चकित पार्नुहुन्छ। कहिले फोटोग्राफीमा व्यस्त भएको तस्बिर सार्वजनिक हुन्छ। यो उर्जाको स्रोत के हो? 
मेरो विचारमा स्वास्थ्य ठीकै छ। कहिलेकहिले मानिस बिरामी हुन्छ। बिरामी नै नहुने मान्छे हुँदैन। उपचार गर्नुपर्छ। असाध्यबाहेक अरु रोग र अरु अवस्थामा उपचार लाग्छ। म पनि बिमारी थिएँ। उपचार गरेँ, निको भएँ।

देश र जनताको सेवाको लागि काम गर्नुपर्छ, बाँच्नुपर्छ। मान्छे भएर बाँच्नुको अर्थ केही काम गर्नुपर्छ भन्ने हो। बाँच्न त किरा पनि बाँचेको हुन्छ। तर, मान्छे भएर बाँच्दा देश, जनता, समाजका लागि बाँच्नुपर्छ। मैले जनताको स्नेहले, मायाले यस देशका निम्ति के कसो गर्नुपर्छ भन्ने विचार गर्ने मौका पाएको छु। ती विचार कार्यान्वयन गर्ने समय समयमा मौका पाएको छु। यो उर्जा मेरो देशभक्तिको परिचय हो। मेरो जनसेवाको परिचय हो। 

तपाईंले माओवादीले ७ सिट ल्याउँछ, एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी हुँदैनन्, हामी सय सिट नघाउँछौँ भन्ने दाबी गर्नुभएको छ। यो कुनै अध्ययनका आधारमा भन्नुभएको कि त्यत्तिकै?
विभिन्न प्रकारका आकलन, सर्वेक्षण, प्रक्षेपण आदि गर्नेहरु छन्, ती सबै स्वार्थप्रेरित नै छन्। स्वाभाविक रुपमा आफ्नाआफ्ना पक्षहरुलाई विजयी बनाउनको लागि यस्ता प्रकारका चतुरतायुक्त खेलहरु मानिसहरुले खेल्न सक्छन्।

तर, यथार्थ के हो भने माओवादीले टेकेका वैशाखीहरु कमजोर छन्। एउटा वैशाखी मोहनविक्रम सिंहको। जसले हाम्रो मद्दतमा २०७४ मा एउटा सिट जितेर आएको थियो, अहिले कांग्रेसको मद्दतमा ठूलो भाग खान कांग्रेसको पालीमा गएर बास बसेको छ। यसपल्ट त्यो एउटा सिट पनि हिँड्छ। गठबन्धन भनेको तिनैको होइन? गठबन्धन भन्या त त्यही न हो। एउटा त गइगयो।

दोस्रो, माधव नेपाल, हामीबाट चोइटिएका दुईचार जना भएको, त्यसले एकदुई सिट पनि ल्याउँछ, ल्याउँदैन। समानुपातिकमा ३ प्रतिशत पुर्याउँदैन। समानुपातिकको भोट नगने हुन्छ। राष्ट्रिय पार्टी कुनै पनि हालतमा बन्दैन। फिनिस्ड!

लोसपा, एउटा सिट जित्नेवाला छैन। ल एउटा सिट जितेछ रे, ३ प्रतिशत पुर्याउँदैन, राष्ट्रिय पार्टी हुँदैन।

जुन दिन एमालेको साथ छोड्यो, दशा लाग्यो त्यसैदिन। ग्रहदशा बिग्रियो, एमालेको साथ छोड्यो। कसको अराउखटाउ, कसको निर्देशनमा? कसको सुझावमा, कसको सल्लाहमा? कसको इसारामा, कसको आदेशमा त्यो उसले जानोस्। कि आफ्नै बुद्धि त्यस्तै हो। उसैले जानोस् तर, गल्ती गर्यो। अब त्यो पनि गयो। ५ वटामा तीनवटा त सिद्धिए। तपाईं गठबन्धनको कुरा गर्दै हुनुहुन्छ? के गठबन्धन छ?

भिडिओ: सरोज बैजु

गठबन्धनमा कांग्रेस छ, माओवादी केन्द्र पनि छ ...
शेरबहादुर र प्रचण्ड मिल्या त हो नि। के गठबन्धन छ? अरु के छ त्यहाँ? कांग्रेसभित्र कस्तो छ स्थिति? रामचन्द्र पौडेललाई राष्ट्रपति दिन्छु भने, प्रतिनिधि सभा सदस्यमा उठाइदिए। मन्त्री पनि खानुभएन, प्रधानमन्त्री हुने कुरै भएन। सांसदमा उठाइदिए। जित्ने सम्भावना कम देख्छु। छैन।

अब शेखर कोइरालाजी लालबाबु पण्डितजीसँग पहिले पनि पराजित हुनुभएको हो क्यारे। अब मिनेन्द्र रिजालजत्तिका मान्छेलाई, स्वर्णिम वाग्लेजस्ता मान्छेलाई, गोविन्द पोखरेल जत्तिका मान्छेलाई या दिनेश कोइरालाजत्तिका मान्छेलाई टिकटै दिएको छैन।

अरु थुप्रै होनहार खालका, भविष्यका सम्भावित नेता हुने खालका, संसदमा यसो बोल्न सक्ने खालका नेतालाई टिकट त दिएकै छैन। अनि लगेर शेरबहादुरजीले आफ्ना मान्छे उठाए। त्यो जनताले देख्दा पनि बुख्याचा जस्तो देख्छ। यस्ता मान्छेहरुलाई उम्मेदवार बनाएको छ।

प्रचण्डको स्थिति ०६४ मा १२०। त्यसपछि ०७० मा २६। दौडेर एमालेको हात समातेर खोलो तर्छु भन्दा ३६ मा चढ्यो। अबको हिसाब, त्यतातिरै झर्ने हो।

कांग्रेस त पहिलो पार्टी हुन्छु भन्दै छ त?
मैले भनेको छु, कांग्रेसले मजाले प्रगति गर्छ। राम्रो प्रगति गर्छ। योचोटि। २३ सिट ल्याएको थियो डबल प्रगति गर्न सक्छ। र, ४६ सिट पुर्याउन सक्छ। कांग्रेसलाई फाइदा भएको छ। अब जुम्लामा कांग्रेसले माओवादी उम्मेदवारलाई भोट दिँदै छैन। भोट ज्ञानेन्द्रबहादुर शाहीलाई दिन्छ। 

कहाँ भोट दिँदैछ? गोरखामा दिँदै होला किनभने दिएन भने गठबन्धन भन्नै पाइएन। त्यसकारण गठबन्धनले गोरखाको चुनाव जित्छ।

गठबन्धनलाई खरानीको डल्ला पनि भन्नुभयो, त्यसो भए यो चुनावपछि गठबन्धनको स्थिति परिवर्तन हुन्छ?
कांग्रेस कुनै ‘रिस्क कभर’ पार्टी होइन, कुनै दानी पार्टी पनि होइन। अहिले यिनीहरुको गठबन्धन भनेको कुनै लोककल्याणको हिसाबले गरेको पनि होइन, यो त स्वार्थका हिसाबले हो। अनि यो गठबन्धन के कसरी कायम रहन्छ त? दुईवटाको कायम रहला। कांग्रेस–माओवादी। दुईवटाको के गठबन्धन भन्ने? 

त्यसोभए चुनावपछि एमाले–कांग्रेस वा एमाले–माओवादी गठबन्धन हुने सम्भावना छ?
त्यस्तो सम्भावना राजनीतिमा सबै खालको छ। हिजो पनि हामीले कांग्रेससँग मिलेर सरकार चलाएको हो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पनि हामीले काम गरेका हौँ। माधव नेपालको नेतृत्वमा कांग्रेस आएर पनि काम गरेको हो। 

त्यसकारण कतै मिल्ने सम्भावना हुँदैन भन्न त सकिँदैन। हाइपोथेटिकल्ली सैद्धान्तिक तवरमा इन्कार गर्न सकिँदैन। तर, अहिले त्यसको सम्भावना म देखिराखेको छैन। 

तपाईंलाई यो नरहोस् कि तपाईंको प्रश्नले एमालेको बहुमतको जुन उदेश्य हो, त्यसमा एमालेको विश्वासमा कमी छ। त्यस्तो होइन। मैले सैद्धान्तिक कुरा मात्रै गरेको हुँ। 

पाँच दल तपाईंविरुद्ध छ। पार्टीमा थुप्रै समस्या छ। तैपनि तपाईं पार्टीलाई एकगठ राख्न सफल हुनुभयो। यो कसरी म्यानेज गर्नुभयो?
पहिलो कुरा त हामीले कस्तो उदेश्य लिएका छौँ भन्ने हो। तपाईंसँगको मेरो मित्रता त्यतिबेला कायम रहन्छ, जतिबेला दुइटै इमानदार छौँ। एउटाले अर्कोलाई धोका, बेइमानी वा छलकपट भयो भने मित्रता कायम रहँदैन। जनताको हामीप्रतिको विश्वास यसकारणले छ कि हामी जनतालाई ठगिरहेका छैनौँ, छलिरहेका छैनौँ, भ्रम फिँजाइरहेका छैनौँ। सही कुरा बताएर, सही बाटो देखाएर सही गन्तव्यतर्फ अघि बढाउन नेतृत्व गरिरहेका छौँ। त्यसकारण जनता हाम्रो पक्षमा छ। 

म के ठान्छु भने काम गर्न सकुञ्जेल काम गर्नपर्छ। अब छोरो हुर्कियो म काम गर्दिनँ भनेर बस्नु उपयुक्त हुँदैन। आफ्नै शरीरलाई पनि ठिक हुँदैन। त्यसपछि त बुढ्यौली लागिहाल्यो नि। बुढ्यौली लाग्न दिन हुँदैन। मानसिक हिसाबले बुढो भयो भने शारीरिक हिसाबले पनि बुढो भइहाल्छ। पहिलो त मानसिक हिसाबले बुढो हुन हुँदैन। त्यसो भएपछि शारीरिक हिसाबले पनि बुढो हुँदैन। अघि नै मैले भनेँ, मसँग देश बनाउने एउटा ठूलो उदेश्य छ, त्यस उदेश्य पुरा गर्ने कुरालाई अभिभाराको रुपमा बुझेको छु, त्यो अभिभारा खेलाँचीको हिसाबले पुरा हुँदैन। त्यसकारण यसमा सचेत प्रयास, योजनाबद्ध सक्रियता आवश्यक छ। त्यसकारण म नीति र विधिहरुको साथ योजनाबद्ध ढंगले सक्रियता अघि बढाउँछु। 

व्यायाम गर्ने मान्छे चुस्त दुरुस्त हुन्छ। व्यायाम नगर्ने मान्छे कुँजो हुन्छ। बडी बिल्डर न नबिल्डरको बीचमा के फरक छ भने जसले एक्सासाइज गर्यो बडी बिल्ड हुन्छ, जसले गरेन त्यहाँ बडी बिल्ड हुँदैन। जो दौडन्छ धावक हुन्छ, जो बस्छ बसेको बस्यै हुन्छ। तसर्थ, तपाईंले बडी बिल्डर हुनका लागि धेरै पसिना बगाउनपर्छ, धेरै पटक थकित हुनपर्छ। धेरै पटक दुःख पाउनपर्छ। एउटा बक्सर कति पटक पिटाइ खाएपछि ऊ बक्सर हुन्छ। सिक्ने, लड्ने क्रममा मुक्का खान तयार भएन भने उसले जित्दैन। विरोधी नभइकन जित्ने कुरा कहाँबाट आउँछ? विरोधी त हुन्छ नै। विरोधी भएपछि विरोधीले त हान्छ नै। वचनको वाण हान्छ, अरु सबै किसिमका वाण हान्छ। उसले जानेजति उसले गर्छ। होसियार हुनुपर्छ कहिलेकहिले। कुस्ती खेल्दा कहिलेकहिले नजिकै पर्यो भने पाखुरा टोकिदिन्छ। हात टोकिदिन्छ। हारेकाले त जे पनि गरिदिन्छ, त्यसकारण त्यस्ता कुरामा पनि होसियार हुनुपर्छ। कहीँ हारेको झोँकमा नटोकोस् भनेर। म त्यसरी काम गर्छु।

आज हामी निर्वाचनको तीन दिनअघि कुरा गर्दैछौँ। केही समयमा स्थिर समय सुरु हुँदैछ, त्यसअघि मतदातालाई तपाईंको केही भन्नु छ?
यस अवसरमा म सबै मतदाताहरुसँग नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्छु। यो देशमा एउटा जबरजस्त राष्ट्रिय शक्तिको आवश्यकता छ, त्यो एमालेबाहेक कोही हुन सक्दैन। यी खपटा र चोइटा जोडेर राष्ट्रिय शक्ति निर्माण हुन्छ र? पिलर भनेको ठूलै बिटो बनाउनुस्, सानो सानो छेस्को जोडेर पिलर हुँदैन। पिलर भनेको ठूलै सालको रुख ड्याम्मै राख्नुपर्छ। एउटै। एमालेजस्तो। त्यसकारण पिलर एमाले जस्तोलाई भोट दिनुस्, देशको रक्षा गरौँ। समृद्धिको अभियानलाई अगाडि बढाऔँ, यो देश किन गरिब हुने? गरिब हुन आवश्यकै छैन्। समृद्ध नेपाल, सुखी नेपाली। मंसिर ४ एमाले सरकार। ५ वर्ष एमालेले गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .