नेपाली कांग्रेसका नव निर्वाचित सभापति गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने भएपछि कांग्रेसका पुराना नेता डा.अमरेश कुमार सिंह दबाबमा परेका छन्। यसघिका तीनवटा आम निर्वाचनमा लगातार सर्लाही ४ बाट चुनाव जितेका सिंह यो निर्वाचनमा रास्वपाबाट चुनाव लड्ने तयारीमा छन्। हिजो मात्रै उनी जनकपुरमा रवि लामिछाने र बालेनको हातबाट टिका लगाएर रास्वपा प्रवेश गरेका थिए।
देशको पुरानो पार्टी कांग्रेसका नव निर्वाचित सभापति थापाले विगतदेखि निर्वाचन जित्दै आएको काठमाडौँको सुरक्षित क्षेत्र छाडेर मधेस रोज्नुलाई धेरैले चासोको साथ हेरेका छन्। जनतालाई गगन निर्वाचन लड्न मधेस झर्दा चासो बढेको छ। तर, सर्लाही ४ मा गगनका मुख्य प्रतिस्पर्धी ठानिएका सिंह भने गगनको उपस्थितिले दबाबमा परेका छन्। प्रस्तुत छ, सर्लाही ४ बाट अहिलेसम्म चुनाव नहारेका सिंहसँग नेपालखबरले गरेको वार्ता:
गगन थापा उम्मेदवार बन्ने भएपछि तपाईँले निर्वाचन जित्दै आएको सर्लाही ४ त पूरै चर्चामा छ नि?
मलाई हराउन सक्ने नेता कांग्रेसमा छैनन्। त्यही भएर सभापति आफैँ सर्लाही आउँने भएछन्। तर, म भाग्ने र हार्नेवाला मान्छे छैन। म जनताको नेता हो। गगनलाई जितेर देखाउँछु।
तपाईँ त पुरानो कांग्रेस नेता हो, रास्वपामा गएर चुनाव जित्नु होला र?
म कोइरालाहरू नेतृत्वमा हुँदा कांग्रेस थिएँ। ठगहरू कांग्रेसको नेतृत्वमा आएपछि मैले कांग्रेस छाडेको हुँ। मेरो आदर्श कांग्रेसमा कोइरालाहरू थिए। अब त्यो छैन। मेरो कांग्रेस पृष्ठभूमि अब सकियो।
हामीले बुझेअनुसार तपाईँको शेरबहादुर देउवा र आरजु राणासँग विमती थियो। गगनसँग त थिएन नि! अहिले गगन नै कांग्रेसको सभापति हुनु भएको छ। उहाँ सभापति भएपछि तपाईँलाई अब कांग्रेसमै फर्किनुस्, रास्वपातिर नजानुस् अमरेस जी भन्नु भएन?
कहिल्यै पनि भनेनन्। सम्पर्क पनि गरेका छैनन्। गगन सुरुदेखि नै अमरेश सिंहलाई समाप्त पार्ने अभियानमा छन्। तर, अमरेश सिंह कहिल्यै समाप्त हुँदैन। म बीपी र गिरिजा कोइरालालाई मन मस्तिस्कामा राखेर राजनीतिमा आएको मान्छे हो। जुन दिन उहाँहरू रहनु भएन, तबदेखि म कांग्रेस रहिनँ। म दास हुन राजनीतिमा आएको होइन।
अब गगन थापासँग चुनाव लडेर जित्नु होला र?
अमरेशसिंह जनताको लागि जन्मिएको मान्छे हो। म मर्नको लागि तयार हुन्छु, तर आत्मसमर्पण गर्दिन। गगनले सुरुदेखि नै मलाई असहयोग गर्दै आएका छन्। यो भन्दा पहिला पनि उनले सर्लाही ४ बाट टिकट लिइसकेका थिए। तर पछि फेरि सर्लाही आउने हिम्मत गरेनन्। अघिल्लो निर्वाचनमा शेरबहादुर देउवालाई उचालेर सर्लाही ४ बाट मलाई टिकटबाट बञ्चित गरे। पछि अर्कैले कांग्रेसको टिकट लिए। उनलाई मैले स्वतन्त्र उठेर पनि हराइ दिएको तपाईँहरूले देख्नु भएकै छ नि।
तपाईंँले सर्लाहीबाट ३ पटक चुनाव जित्नु भयो। अब चाहिँ गाह्रो हुने भयो जस्तो लागेको छैन?
यसअघि तीनपटक जितेको छु। यसपटक पनि जनताले मलाई नै जिताउँछन्। सर्लाही जिल्लाको इतिहास यस्तो छ कि, बाहिरको मान्छे आएर यहाँ चुनाव जितेका छैनन्। पार्टी अध्यक्ष नै आएर चुनाव लड्दा पनि सर्लाहीबाट पराजित भएर फर्किएका छन्।
सूर्यबहादुर थापादेखि झलनाथ खनाल र गजेन्द्र नारायण सिंहले पनि चुनाव हारेको जिल्ला हो सर्लाही। यहाँबाट पार्टी अध्यक्षले चुनाव जितेको इतिहास नै छैन। महन्थ ठाकुर अध्यक्ष हुँदा यहाँ चुनाव हारेका थिए। सदस्य हुँदा मात्रै चुनाव जितेका हुन् उनले पनि।
सर्लाही ४ कांग्रेसको पुरानो आधार इलाका हो नि। गगन थापालाई निर्वाचन जित्न के गाह्रो होला र?
सर्लाही ४ कांग्रेसको आधार इलाका होइन, जनताको आधार इलाका हो। जनता मेरो साथमा छन्। जता अमरेश त्यतै जनता। जनताले चुनावमा स्थानीय नेतालाई मतदान गर्छन्। यहाँ गगनले गएर जनताको कुरा सुन्ने, सुखदुखमा साथ दिने पनि होइनन्। गगनलाई यहाँको कुनै टोलको नाम पनि थाहा छैन।
गगन पार्टी सभापति हुनुभयो, अबको प्रधानमन्त्री बन्ने सम्भावना भएको नेता हो नि उहाँ त।
अबको प्रधानमन्त्री गगन होइन बालेन हो। बालेनलाई जनताले रोज्छन्, गगनलाई रोज्दैनन्। मेरो नेता बालेन हो, गगन होइन। देश परिवर्तन बालेनबाटै हुन्छ। उनी अब ३५ वर्षमा देशको प्रधानमन्त्री बन्दैछन्।
अघिल्लो निर्वाचनमा पनि त्यहाँ कांग्रेसले थोरै मतले हारेको थियो। अब गगन नै उम्मेदवार भएपछि उहाँलाई चुनाव जित्न के गाह्रो होला र?
त्यतिबेला कांग्रेस मात्र होइन, पाँच दल एक ठाउँमा थिए। त्यति हुँदा पनि मैले चुनाव जितेको ठाउँ हो सर्लाही चार। अमरेश सिंहले सर्लाही ४ बाट कांग्रेस हुँदा पनि चुनाव जितेको हो, स्वतन्त्र हुँदा पनि जितेको हो, अब रास्वपा भएर पनि जित्ने छ। म जनतामा विश्वास गर्ने मान्छे हो। अमरेश जता लाग्छ, सर्लाही ४ का जनता उतै लाग्छन्। हेर्दै जानुस्।
Shares

प्रतिक्रिया