नेकपा एमालेको ११ औँ महाधिवेशनबाट महासचिवमा पुनः निर्वाचित शंकर पोखरेल यतिबेला दाङ निर्वाचन क्षेत्र नं २ मा घरदैलो र जनतासँग भेटघाट गर्न व्यस्त छन्। जेनजी विद्रोहले २०८४ मा हुने संघीय निर्वाचन यही फागुन २१ गतेका लागि तय गरेपछि पोखरेल दाङमा आफ्ना मतदाताहरूसँग भोट मागिरहेका हुन्।
जेनजी विद्रोहमा पोखरेलको काठमाडौँ र दाङस्थित तुलसीपुरमा रहेका दुवै घरमा आगो लगाइएको थियो। त्यही जलेको घरकोभित्र कार्यकर्ता भेटघाट, नेकपा एमालेको निर्वाचन परिचालन कार्यालय छ। जलेर खण्डहर बनेको घरभित्र बसेर उनले नेपालखबरसँग अन्तर्वार्ता दिए।
पोखरेलले आगामी निर्वाचनमा नेकपा एमाले समानुपातिकतर्फ पहिलाको भन्दा ठूलो बन्ने विश्लेषण गरे। उनले एमाले र कांग्रेसबीचमा मुख्य प्रतिस्पर्धा हुने उल्लेख गर्दै रास्वपा तेस्रो र नेकपा चौथो स्थानमा आउने दाबी गरे।
निर्वाचनलाई नै केन्द्रमा राखेर नेपालखबरले पोखरेलसँग दाङमा गरेको संवाद– ‘तत्कालै’ :
२०८४ सालमा हुने संघीय निर्वाचन जेनजी विद्रोहपछि हुँदैछ। एमालेले एक ढङ्गले अप्रत्याशित रूपमा चुनावको सामना गरिरहेको छ। यसलाई तपाईंले कसरी लिइरहनु भएको छ?
स्वाभाविक रूपमा २०७९ को निर्वाचनपछि मुलुकले निकास पाउन गाह्रो भयो। किनकि राजनीतिक स्थायित्वबिना जनताका अपेक्षाहरू पूरा हुन सक्दैनन्। राजनीतिक स्थायित्वका लागि बलियो र निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ। त्यसका लागि नेकपा एमालेलाई तयार गर्नुपर्दछ भन्दै हामीले २०७९ को निर्वाचन सकिएलगत्तै निरन्तर प्रयास गर्दै आएका हौँ। त्यस अर्थमा हाम्रो लागि त अब यो चुनाव आकस्मिक होइन। यद्यपि, राष्ट्रका लागि आकस्मिक जस्तो बन्न पुग्यो।
त्यसको मूल कारण भनेको भदौ २३ र २४ गतेको घटना नै हो। त्यो घटनालाई कतिपय मानिसले एमालेविरुद्ध प्रयोग गर्न खोजिरहेको देखिन्छ।
२३ र २४ गतेको घटना राष्ट्रका विरुद्ध, संविधानका विरुद्ध र लोकतन्त्रका विरुद्ध एक प्रकारको षड्यन्त्र थियो भन्ने कुरालाई बुझ्न पर्दछ। यद्यपि, त्यसको आवरणमा जेनजी अभियान्ताहरू रहे। हाम्रा नवयुवाहरू रहे। उनीहरूका आकांक्षाहरू रहे, ती कुराहरू उनीहरूले उठाएको भावनाको, मागको हामी सबैले सकारात्मक रूपमा ग्रहण गर्नुपर्दछ। तर उनीहरूका आन्दोलनको आवरणमा जे भयो, एक त नवयुवाहरूलाई एम्बुसमा पारियो। जुन ठाउँको सुरक्षाका लागि सुरक्षा निकायलाई जिम्मा लगाइएको छ, ती ठाउँहरूलाई टार्गेट गरी कलिला बालबालिकाहरूलाई प्रवेश गराउने कुरा, एक प्रकारले भन्ने हो भने षड्यन्त्रको कडी थियो।
र, त्यसलाई बहाना बनाएर जे गरियो, त्यो राष्ट्रविरुद्धको गम्भीर अपराध हो। विध्वंस गर्ने कुरा कुनै पनि अर्थमा नेपाली समाजले स्वीकार गर्न सक्ने विषय हो भन्ने म ठान्दिनँ। तर २३ र २४ गते मुलुकमा यस्तो प्रकारको भय, त्रास र आतङ्कको परिवेश निर्माण गरियो। जनता आफैँ हतप्रभ रहे। त्यस्तो अवस्थामा जनतालाई फेरि आत्मविश्वास जगाउने कुरा, लोकतन्त्रको स्पेस निर्माण गर्ने खालको कुरामा अरू कुनै राजनीतिक दलहरूले आँट नगरेका बेला ‘यो गलत भएको छ, मुलुकलाई प्रतिगमनतिर लाने काम भएको छ, भूराजनीतिक द्वन्द्वको क्रीडास्थल बनाउन खोजिएको छ, संविधान एक प्रकारले घायल भएको छ, संसद् विघटित गरिएको छ, यी सबै असंवैधानिक कदमहरू हुन्’ भन्ने निष्कर्षका साथ जनतालाई सचेत पार्ने कामको नेतृत्व एमालेले एक्लै गरेको हो।
जेनजी विद्रोह भ्रष्टाचारविरुद्ध युवाहरूको आक्रोश थियो, एमालेविरुद्ध प्रयोग गर्न खोजेको भन्न कसरी मिल्छ?
एमालेविरुद्ध मात्रै होइन, हामीले कुन रूपमा बुझ्नुपर्दछ भने यो नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रीडास्थल बनाउने रणनीतिक चाल हो। अहिले तत्कालका लागि यो प्रहार एमालेमाथि र नेपाल राज्यलाई कमजोर बनाउने विषयसँग जोडिएको छ। तर दीर्घकालीन हिसाबले भन्दाखेरि हाम्रा दुईवटा छिमेकीहरू चीन र भारतमाथि रणनीतिक घेराबन्दी गर्ने योजना अन्तर्गतै भइराखेको कुरा हो।
के अर्थमा भन्दाखेरि, खासगरी वालस्ट्रिटको इकोनोमिक क्राइसिस पछाडि पुँजीवादी अर्थव्यवस्था कमजोर हुँदै जाने, मिश्रित अर्थव्यवस्था भएका मुलुकहरू बलशाली हुँदै जाने अवस्थाभित्रै यतिबेला चीन विश्वको दोस्रो अर्थतन्त्र, भारत विश्वको चौथो अर्थतन्त्र बनिरहेको कुरा पश्चिमी पुँजीवादीहरूका लागि मन परिरहेको छैन। उनीहरू एसियाको समृद्धिलाई रोक्न चाहन्छन्। किनभने एक दशकपछि विश्वको पहिलो अर्थतन्त्र चीन, दोस्रो अर्थतन्त्र भारत बन्ने सम्भावना उजागर भएको छ। यदि विश्व अर्थव्यवस्थाको पहिलो र दोस्रो शक्ति एसियामा निर्माण भयो भने विश्व शक्ति सन्तुलनको निर्णायक तत्व त एसिया हुन्छ। त्यो पश्चिमाहरूका लागि स्वीकार्य छैन।
त्यसकारण उनीहरू एसियामा अशान्ति मच्चाउन चाहन्छन्। र, भारत र चीनको प्रगतिलाई रोक्न चाहन्छन्। त्यसका लागि नेपाली भूमिको प्रयोग गर्न चाहन्छन्। र, नेपाली भूमिको प्रयोग गर्नका लागि एमाले जस्तो देशभक्त शक्ति बलियो हुन्जेलसम्म सम्भव छैन भन्ने अर्थमा उनीहरू एमाले र त्यसको नेतृत्वमा प्रहार गर्न चाहन्छन्।

तपाईंले जसरी जेनजी विद्रोहलाई भूराजनीतिसँग जोड्न खोज्नुभयो, त्यो अमेरिका र चीनबीचको प्रतिस्पर्धाको बाछिटा मात्रै थियो वा अरु केही?
नेपालका मामिलामा चासो त धेरैको होला। तर जेनजी अभियानसँगै बारबरा फाउन्डेसनको संलग्नताको सरकार बनेको छ, हामी नेपाल र टीओबी संस्थाहरूको सक्रियतामा नेपालमा विध्वंस मचाइएको छ। यो सबै कुरा एक प्रकारले भन्ने हो भने एसिया विरुद्धको पश्चिमी रणनीतिको हिस्सा हो। त्यसलाई कसले, कतिले समयमा बुझ्यो, बुझेन त्यो बेग्लै पक्ष हो। तर अहिले मलाई के लाग्दछ भने एसियाका प्रमुख देशहरू चीन र भारत त्यो परिदृश्यमा सचेत छन् भन्ने लाग्दछ। त्यस अर्थमा चीन र भारत दुवैको चासो र सरोकार नेपाल भूमिलाई आफ्ना विरुद्धमा प्रयोग गरिने हो कि भन्ने खालको आशंका उनीहरूले व्यक्त गरेका छन्। नेपालमा पश्चिमीहरूको पपेट शक्तिको उदय हुन सक्यो भने त्यो शक्ति स्वाभाविक रूपमा चीन र भारतका विरुद्धमा प्रयोग हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्दछ।
एमालेका लागि यो चुनाव २०६४ सालमा भएको संविधान सभाको निर्वाचनभन्दा कमजोर अवस्था हो?
म त अहिले जटिल अवस्था ठान्दिनँ। अहिले नेकपा एमालेका लागि सापेक्ष हिसाबले अनुकूल अवस्था हो भन्ने ठान्दछु। के अर्थमा भन्दाखेरि, पहिलो कुरा त विगतको निर्वाचनमा हामी पाँच दलीय गठबन्धनका विरुद्धमा चुनाव लडेका थियौँ। आज हरेक राजनीतिक दलहरू एक्लाएक्लै चुनाव लडेका छन्। त्यो अनुकूलता हाम्रो पक्षमा छ। अर्कोतर्फ, २३ र २४ गतेको घटनालाई हेर्ने सन्दर्भमा त्यसलाई सकारात्मक ठान्नेहरू धेरै छन्। नेकपा एमाले मात्रै यस्तो शक्ति हो जसले राष्ट्रका विरुद्धको षड्यन्त्र र विध्वंसको डटेर सामना गरिरहेको छ। र, त्यो जनमत अहिले समग्रताको जनमतका हिसाबले हेर्नुहुन्छ भने ‘देश जलाउने र विध्वंस गर्ने कुरा गलत हो’ भन्ने जनमत कमजोर त होला। यद्यपि यो जनमत एकतिहाइ रहेछ भने पनि त्यो हाम्रो पक्षमा छ।
अरु जनमत ठूलो देखिएको भए पनि धेरै दलहरूमा विभाजित देखिन्छ। उनीहरूको जनमत धेरै समूहमा विभाजित हुँदाखेरि एमालेको पक्षको जनमत बलियो हुन्छ। यसरी हेर्दा आजको चुनावी प्रतिस्पर्धामा हाम्रो बलियो जनमत हो। चुनावी गणितका हिसाबले भन्नुहुन्छ भने नेकपा एमालेका लागि यो परिस्थिति अनुकूल परिस्थिति हो।
तर सामाजिक सञ्जाल र प्रचारमा त ‘नयाँलाई हेरौँ एकपटक’ भन्ने अभियान देखिन्छ त?
त्यो त २०७९ को निर्वाचनमा पनि हल्ला फैलाइएको थियो। तर जनताले त उम्मेदवार कस्तो छ भन्ने कुरा पनि हेर्छन् नि। फेरि सामाजिक सञ्जालमा एक प्रकारको हौवा र प्रचार भएको देखिन्छ तर आज जुन ठाउँबाट हावा बग्यो त्यो ठाउँ काठमाडौंँबाट त्यो हावा रोकिन सुरु भएको छ।

चुनावी अभियानमा सामाजिक सञ्जालको लोकप्रियताले कस्तो प्रभाव राख्दोरहेछ, तपाईंहरूको अनुभवमा?
संगठन र लोकप्रियता दुवै जोडिएको अवस्थामा त त्यसले अर्थ राख्छ। तर संगठनबिनाको लोकप्रियताको आधारमा गरिएको चुनावी अभियानको केही अर्थ हुँदैन। अहिले पनि मलाई के लाग्छ भने बालेनको तुलनामा रवि नै बलियो छन् भन्ने ठान्छु। तर सोसल मिडियामा हेर्दा त बालेनको बढी लोकप्रियता देखिन्छ। त्यसैले चुनावी राजनीतिमा सामाजिक सञ्जालको लोकप्रियताले खासै प्रभाव राख्दैन।
देशव्यापी रूपमा नेकपा एमालेले यो निर्वाचनमा कति सिट जित्ने आकलन गर्नुभएको छ?
समानुपातिकमा हामी पहिलाको भन्दा बलियो अवस्थामा हुनेछौँ। एक प्रकारले भन्नुपर्दा धेरै दलहरू प्रतिस्पर्धामा भएकाले कतिपय दलहरू थ्रेसहोल्ड कटाउन नसकेर बाहिर हुन्छन्। त्यसको अप्रत्यक्ष रूपमा हामीलाई फाइदा हुने देखिन्छ। त्यसले गर्दा समानुपातिक र थ्रेसहोल्डबाट थपिएको हिस्सा पनि एमालेकै बढी हुन्छ।
प्रत्यक्षमा चाहिँ के हुन्छ नि?
प्रत्यक्षमा त हामी पहिलाको भन्दा दोब्बर हुन्छौँ नि। त्यसमा त कुनै शंका गर्ने ठाउँ नै छैन।
यो निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धी को हो?
अहिलेसम्म देशव्यापी रूपमा हेर्दा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी हो। यद्यपि, कुनै–कुनै ठाउँमा रास्वपा, नेकपा र मधेसवादी दलहरूसँग पनि प्रतिस्पर्धा हुनेछ। रास्वपाको अवस्था के हुने भन्ने कुरा स्पष्ट नभएकोले कतिपय क्षेत्रहरूमा आकलन गर्न अलि गाह्रो पनि भइरहेको छ।
पहिलो, दोस्रो, तेस्रो र चौथो दल कुन–कुन हुनसक्ने आकलन गर्नुभएको छ?
पहिलो र दोस्रोमा त एमाले र कांग्रेस नै हुने देखिन्छ। रास्वपा तेस्रो र नेकपा चौथो हुनसक्ने अवस्था आउन सक्छ।
निर्वाचनमा एमाले र नेकपाबीच सहकार्यको लागि पटक–पटक छलफलहरू भए भन्ने समाचारहरू आइरहेका छन्। चुनावी तालमेल कसरी हुँदैछ?
यी मिडियामा आएको अफवाह मात्र हुन्। निर्वाचनमा तालमेल गर्ने गरी हामीबीचमा त्यस्तो छलफल भएको छैन। खासगरी प्रचण्डजीले प्रमुख नेताहरूका हकमा एकआपसमा उम्मेदवारी नदिने हो कि भनेर प्रस्ताव राख्नुभएको थियो। त्यो राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा देउवाजीले पनि ‘ठीकै छ नि’ भन्नुभएको थियो।
प्रचण्डजीले अध्यक्ष ओलीसँगको भेटघाटमा तपाईंहरूले त मेरा विरुद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीलाई सहयोग गर्ने निर्णय लिनुभयो भनेर कुरा उठाउनुभयो। हाम्रो सोच त्यस्तो होइन, त्यसैले पूर्वी रुकुमको हकमा हामी त्यसलाई सच्चाउँछौं भनेर मिलाइसक्यौँ। यसमा जनार्दन शर्माको पनि सहमति नै रह्यो।
निर्वाचनको एक हप्ताअघि एमाले र नेकपाबीच तालमेलको घोषणा हुनसक्छ भन्ने कुरा पनि आएको छ नि?
त्यो अर्कै कुरा हो। अहिले नभएको विषयमा ‘यसरी हुन्छ’ भनेर जान्नु उपयुक्त हुँदैन। पहिलो सन्दर्भ राष्ट्रिय सभाको निर्वाचनमा थियो। दोस्रो पटक प्रचण्डजीले रुकुम पूर्वको बारेमा चासो राख्नुभएको हो। त्यसमा हामीले प्रचण्डलाई ‘अप्ठ्यारो हुन्छ भने सच्याउँला’ भन्दै मिलाइसक्यौँ पनि। कुरा यति नै हो।
कांग्रेसमा गगन थापाको नयाँ नेतृत्व आइसकेपछि असन्तुष्ट देउवा पक्ष र एमालेबीचमा पनि अघोषित रूपमा सहकार्यको चर्चा भइरहेको छ। खास कुरा के हो?
समग्रतामा कांग्रेस लोकतान्त्रिक पार्टी हो भन्ने मान्यता राख्दछौँ हामी। त्यसैले लोकतान्त्रिक पार्टीहरू कमजोर नहून् भन्ने एउटा समझदारीको विषय हो। तर अहिले हामी एउटा पक्षलाई असहज बनाउने र अर्कोलाई बोकेर हिँड्ने भन्ने पक्षमा छैनौँ। तर औपचारिक रूपमा कांग्रेस एउटा लोकतान्त्रिक विचार बोकेको, इतिहास बोकेको पार्टी भएको हुनाले यो पार्टी कमजोर नहोस् भन्ने हाम्रो मान्यता छ।
कतै न कतै निर्वाचनमा सहकार्यको सम्भावना त होला नि?
अहिले नै हामी त्यो तहसम्म पुगेका छैनौँ। सम्भावना भयो भने त बाहिर ल्याइहाल्छौँ नि।
रास्वपाको प्रभाव र दबाब अझ बढ्दै गयो भने भोलि सहकार्य हुँदैन भनेर भन्न पनि नमिल्ला नि?
रास्वपाको प्रभाव त अब घट्ने क्रममा जाँदैछ। यो बढेर जाँदैन। एक पटक रवि र बालेनलाई हेर्न लागेको भीडलाई आधार मानेर ‘यो नै जनमत हो’ भनेर निष्कर्ष निकाल्नु गलत हुन्छ।
मैले पहिलो पटक बालेन जाँदा देखिएको भिड दोस्रो पटक जाँदा हेर्नु होला भनेको थिएँ। अहिले दोस्रो पटक बालेन झापा जाँदा मान्छे पहिलाको जस्तो त आएनन् नि। त्यसैले पहिलो पटक देखिएको भिडलाई आधार बनाएर लोकप्रियताको मापन गर्नु अतिरञ्जना मात्र हुन्छ। अर्कोतिर बालेनको पछि लाग्दा युट्युबरहरूले पैसा कमाउने भएकाले पनि सामाजिक सञ्जालमा होहल्ला सुनिएको हो। केही क्रेजी जमात देखिएको भए पनि आम मतदाता त क्रेजी जमातभन्दा ठूलो छ।
अध्यक्ष केपी ओली र तपाईं महासचिव चुनावी प्रचारमा आफ्नो क्षेत्रभन्दा बाहिर कतै जानुभएको छैन। तर बालेन र रवि त देशव्यापी दौडिरहेका छन्। किन यस्तो भयो?
चुनावी आचारसंहिताको हिसाबले फागुन ४ बाट मात्र प्रचार सुरु भएको छ। त्यसैले हामीले आचारसंहिताको पालना गरेको हो। भेटघाट गर्ने कुरा राजनीतिक अभियानको कुरा हो। तर घण्टी बजाउँदै हिँड्ने कुरा आचारसंहिताले दिन्छ र? तर उहाँहरूले घण्टी चुनाव चिन्हको प्रचार गर्दै हिँड्नुभएको छ। म आफैँ पनि दाङ जिल्लामा हिँड्दा कतै पनि पार्टीको झण्डा लिएर प्रचारमा गइनँ।
अब हामी क्रमशः चुनावी अभियानमा निस्कन्छौँ। म आफैँ पनि फागुन ६ गते चुनावी घोषणापत्र जारी गर्ने सभामा काठमाडौँ जाँदैछु। त्यसपछि स्वाभाविक रूपमा आवश्यकताको आधारमा हामी देशव्यापी अभियानमा जानेछौँ।
तपाईंको क्षेत्रमा निकट प्रतिस्पर्धी को हो भन्ने ठान्नुभएको छ?
म नेकपा एमालेको महासचिव भए पनि मैले के भन्ने गरेको छु भने दाङ जिल्लाको हकमा म सबै साथीहरूको प्रतिनिधि पात्रको रूपमा मेरो भूमिका स्थापित गर्न चाहन्छु। त्यसकारण कुनै पनि पार्टीका कार्यकर्ताहरूले दाङको विकास र समृद्धिका लागि राष्ट्रिय राजनीतिको नेतृत्वका लागि शंकर पोखरेलको खोजी गर्ने ट्रेन्ड सुरु भएको छ। मेरो अभिभावकत्व स्वीकार भएको अवस्था छ। त्यसको मैले सम्मान गरेको छु। र, मैले कसैको आलोचना गरेको पनि छैन। कसैलाई प्रतिस्पर्धी ठानेको पनि छैन।
त्यसैले मेरो निकटतम प्रतिस्पर्धी को हुन्छ भनेर म आकलन गर्न चाहन्नँ। किनकि मैले सबैको सद्भाव र माया पाएको छु।
दाङ–२ मा शंकर पोखरेललाई नै जिताउनुपर्ने कारण के–के छन् त?
भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र इमानदारीसहितको स्वच्छ छविको पहिचान बनाउनु छ भने शंकर पोखरेललाई बनाउँदा हुन्छ। जेनजीले उठाउँदै आएका विषयहरूमा खरो रूपमा परीक्षा दिँदा पास मात्र होइन, डिस्टिंकसन नै छ भन्दा पनि हुन्छ मेरो जीवनशैली हेर्दा। भ्रष्टाचारविरुद्धको अभियान र सुशासनका मामिलामा कसैलाई आदर्श मान्ने हो भने त्योसँग पनि दाँजिन म तयार छु भनेर जेनजीलाई पनि भनेको छु।
अर्को, दाङ जिल्लाको समग्र विकासको लागि म मुख्यमन्त्री हुँदा एउटा मानक खडा गरेको छु। नेपालको विकासको सन्दर्भमा मुख्य चुनौती के हो भने पुँजीगत खर्च हुनै सक्दैन। म मुख्यमन्त्री हुँदा सत प्रतिशत खर्च गरेर देखाएँ। कार्यसम्पादनको कुरा गर्नु हुन्छ भने तीन वर्ष दुई वटा मन्त्रालय चलाएँ। आखिर दुवै मन्त्रालयको बेरुजु शून्य राखेर बिदा भएको थिएँ। आखिर यही होला नि सुशासनको मापदण्ड भनेको त।
अर्कोतिर, जतिजतिबेला संसदीय राजनीतिमा विकृतिहरू आए, त्यसको सशक्त प्रतिवाद गर्ने मान्छे म नै हुँ। चाहे त्यो पञ्जेराकाण्ड वा औषधि प्रकरण नै किन नहोस्, वा विदेश भ्रमणको सन्दर्भमा नै किन नहोस्। यी सबै कुराबाट म जोगिएको छु। जसले बेथितिको विरुद्ध निरन्तर लड्यो, सुशासनको मानक खडा गर्यो, उसलाई चयन गर्ने कुरा नै अहिले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने आधार होला भन्ने लाग्छ।
विकासको सन्दर्भमा मैले दाङ जिल्लामा गरेका कामहरू हेर्दा स्वाभाविक रूपमा दङ्गाली जनताको रोजाइमा पर्ने आधारहरू बनेका छन्। गएको निर्वाचनमा मैले हार्दा धेरै जनतालाई पीडा भयो। जतिबेला एमालेको नेतृत्वको सरकार बन्यो, त्यतिबेला हामीले ठूलो अवसर गुमायौँ भन्ने जनगुनासो थियो। यद्यपि म सांसद नभएको अवस्थामा पनि यहाँको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छु।
राष्ट्रिय राजनीतिको तहमा, नीति निर्माणमा, बजेट बनाउने अवस्थामा भूमिका खेल्न सक्ने व्यक्तिलाई छाडेर अरुलाई पठाउँदा विकासको दृष्टिकोणले दाङ पछि पर्यो भन्ने जनतालाई पश्चात्ताप भएको छ। जितेका मान्छेसँग भन्दा हारेको मसँग जनताको अपेक्षा बढी भयो र पनि मैले त्यो काम गरेँ।
अस्तव्यस्त सडक पुनर्निर्माण, राप्ती अस्पतालमा मेडिकल साइन्समा पढाइ सुरु, औद्योगिक क्षेत्रको लागि मास्टरप्लान गर्न होस्, यी क्षेत्रमा म पराजित हुँदा पनि काम गरेको छु। मुख्यमन्त्री हुँदा ‘एक घर एक धारा’ को नीतिअनुसार यहाँ दुई तिहाइ जनताको घरमा पानीको धारा पुर्याउने काम भयो। कृत्रिम जलाशय बनाउने सन्दर्भमा नेपालकै नमुना बनेको छ दाङ जिल्ला। ५० वटा भन्दा बढी जलाशयहरू बनेका छन्। यसपटक सम्पूर्ण दाङमा बिजुली पुगेको छ।
सामाजिक र आर्थिक रूपमा पनि धेरै कामहरू भएका छन् यहाँ। यो कुरा जनताले नजिकबाट बुझेका छन्। अझै धेरै नयाँ–नयाँ र ठूला कामहरू गर्नुपर्ने छ। अझै जनताको सामाजिक, आर्थिक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा जीवनयापन गर्न सहज बनाउने योजनाहरू ल्याउन छ। त्यो काम शंकर पोखरेल जिम्मेवारीमा जाँदा सहज रूपमा अघि बढ्छ भन्ने कुरा जनताले बुझेका छन्। जनताको अत्यन्तै सकारात्मक सम्मान भाव मैले भेटघाटहरूमा पाउने गरेको छु।
तपाईंले कति मत अन्तर कायम गर्नुहोला?
यसलाई पनि अहिले हिसाब–किताबको विषय नबनाऔँ। जनतामा ‘यतिले दिन्छन्, यतिले दिन्नन्’ भनेर किन जानु? धारणा बनाउने समय अझ बाँकी छ। जे होस्, दङ्गाली जनताले मलाई भारी मतका साथ विजय गराउनेछन् भन्ने कुरामा म विश्वस्त छु।
भिडिओ :
Shares

प्रतिक्रिया