राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावलाई लक्षित गरेर बुधबारदेखि चुनावी सभा सुरु गरेको छ।
रास्वपाले कैलालीको धनगढीबाट ‘परिवर्तन उद्घोष सभा’ नाम दिएर चुनावी सभा सुरु गरेको हो। रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सभालाई सम्बोधन गरे।
रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका बालेनले सुदूरपश्चिमेली भाषामा आफ्नो सम्बोधन सुरु गरे।
‘नमस्कार। कि छन् हालचाल? निकाइ छौं कि नाइ? बेली छकालै एउटा सुइना देख्या थे सुदूरपश्चिम बनेको, देश बनेको, त्यो सपना पूरा गर्न्या हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो,’ बालेनले सम्बोधन अगाडि बढाए।
बालेन सभामा करिब ४ मिनेट मात्रै बोले। उनले भोट माग्न नभएर काम माग्न सुदूरपश्चिम आएको बताए।
सुदूरपश्चिमलाई काठमाडौँसँग जोड्नुपर्ने बताउँदै उनले त्यसका लागि रास्वपाले काम गर्ने उल्लेख गरे।
गरिबले सहज रुपमा स्वास्थ्य उपचार गर्न पाउने नै रास्वपाको एजेन्डा रहेको उनको भनाइ थियो। यस्तै, देशलाई स्विट्जरल्यान्ड बनाउन नपर्ने बरु स्विट्जरल्यान्डभन्दा राम्रो ठाउँ सुदूरपश्चिमै रहेको जिकिर गरे।
सुदूरपश्चिमेली लवजमै ‘सुदूर अब दूर नाइ झिक्कै झिक्कै माया तमलाई, आइ लभ यू।’ भन्दै बालेनले आफ्नो सम्बोधन टुंग्याए।
यस्तो छ बालेनको सम्बोधन
नमस्कार। कि छन् हालचाल? निकाइ छौं कि नाइ? बेली छकालै एउटा सुइना देख्या थे सुदूरपश्चिम बनेको, देश बनेको, त्यो सपना पूरा गर्न्र्या हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो।
(दीपक बोहरातिर हेर्दै) बोहरा जी बुझ्या छौं कि नाइ? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, स्वास्थ्य उपचार पाउनु पर्यो त्यो हो हाम्रो एजेन्डा।
दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन डेढ वर्षमा बन्नु पर्यो त्यो हो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्यो।
यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन यहाँको बाटो किन बनाउने? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस, एमाले, माओवादी र सबै नेपाली जनता हिड्ने बाटो बनाउँछ।
मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्। स्विट्जरल्यान्डको बाउ बढिमालिका यही छ किन बनाउनुपर्यो स्विट्जरल्यान्ड? स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन यही छ, खप्तड नेशनल पार्क यही छ किन बनाउनुपर्यो स्विट्जरल्यान्ड?
हामी नेपालीहरु माल भाको चाल नपाएको मान्छेहरु पर्यौं। भाको चिज देखाउनै सक्या छैन, सुदूरपश्चिमलाई जोड्नै सक्या छैन। सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुदो रहेछ, ८ लाख १ मिलियन सब्स्क्राइबर भएको तर त्यो गीत काठमाडौंको चोक चोकमा बज्दैन। सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन यहाँको गीतहरु काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ काठमाडौंसँग।
सुरुमा त गीत बज्नुपर्यो, त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ। सुन्दा सानो जस्तो लाग्छ तर त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा। सुदूरपश्चिमलाई सुनजिक प्रदेश बनाउनुपर्यो त्यो हो रास्वपाको एजेन्डा। तपाईहरुलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो। काम दिनुस् है। तपाईहरुले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो के के छ तपाईहरुको काम उम्मेदवारहरुलाई हाम्रो पार्टीमा मान्छेहरुलाई हाम्रो काम यो हो भनेर लिष्ट दिनू। भोट नदिए पनि हुन्छ बरु कामको लिष्ट दिनू, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले।
(चश्मा निकाल्दै) आँखा हेर्न पर्दैन। काम हेर्नूहोला। म धेरै बोल्दिन। धेरै धेरै धन्यवाद। सुदूर अब दूर नाइ झिक्कै झिक्कै माया तमलाई, आइ लभ यू।
Shares

प्रतिक्रिया