अन्तर्वार्ता


सरकारले निजी क्षेत्रलाई ज्वाइँजस्तो व्यवहार गरेको छ : उद्योग राज्यमन्त्री दुगड (अन्तर्वार्ता)

सरकारले निजी क्षेत्रलाई ज्वाइँजस्तो व्यवहार गरेको छ : उद्योग राज्यमन्त्री दुगड (अन्तर्वार्ता)

दीपक भट्ट
असार १८, २०७७ बिहिबार ८:४६,

उद्योगी मोतिलाल दुगड नेकपाबाट सांसद हुँदै हाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री छन्। उनी पहिलेदेखि नै उद्योग र राजनीतिमा सक्रिय हुँदै आएका छन्। तत्कालीन सद्भावना आनन्दीदेवीमा लागेका दुगडले पछि आफैँ पार्टी खोलेका थिए।

तर त्यो पार्टी उनले तत्कालीन नेकपा एमालेसँग ‘मर्ज’ गराए। राज्यमन्त्री भएपछि विशेष गरी निजी क्षेत्रको समस्या सुल्झाएर उद्योगीमाझ आत्मविश्वास ल्याउने काम उनले गरिरहेका छन्। उनै मन्त्री दुगडसँग नेपालखबरले गरेको कुराकानी :

तपाईं एक व्यावसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै राज्यमन्त्री हुनुभएको छ, के–के सुधार गर्नुभयो?
म तथा अहिलेका माननीय मन्त्री लेखराज भट्टले यो मन्त्रालयमा आउँदा र यहाँ आएर हेर्दा यहाँबाट हुने काम एकदम ढिलो थियो। एक दिन हुने कामलाई दिनहुँ लगाएर मात्रै गर्ने प्रचलन थियो। मैले भन्न खोजेको कर्मचारीहरुले काम गर्न नचाहेका होइनन्। यहाँको प्रचलन नै यस्तो हो। तर सेवाग्राहीहरुले त दुःख पाए नि! कुनै एउटा फाइल तत्कालै अगाडि बढाउनुपर्नेछ भने त्यसलाई विस्तारै हेर्ने प्रचलन अन्त्य गरेका छौँ। सेवाग्राहीलाई अल्झाउनुहुन्न भनेर यसो गरिएको हो। विशेषगरी निजी क्षेत्र यो अल्छ्याइँबाट आक्रान्त थिए। मेरो भनाइ के हो भने निजी क्षेत्रलाई ज्वाइँजस्तो व्यवहार गर्नुपर्छ। हामीले त्यही गरेका छौं। देशलाई समृद्ध बनाउन निजी क्षेत्रको सहभागिता आवश्यक छ।

moti lal dugar MAIN IMAGE

नेपालको स्रोत साधन परिचालन गर्न हामीलाई निजी क्षेत्र चाहिन्छ। हामीकहाँ निजी क्षेत्र र कर्मचारीतन्त्रको एक प्रकारको समन्वयको अभाव थियो। त्यसलाई सहज गराउने गरी मैले काम गरिरहेको छु। मन्त्री लेखराज भट्ट र मैले कसैको फाइल पनि एक दिनभन्दा बढी रोक्न नदिने गरी निर्देशन जारी गरेका छौँ। कुनै कागजात तथा प्रकिया पुगेको छैन भने त्यसलाई तुरुन्तै भन्नुपर्छ। काम गर्नको लागि समय एकदमै महत्वपूर्ण हुन्छ। त्यो कुरा सबैले बुझ्नुपर्छ भन्ने हो। यो हामीले मन्त्रालय मात्रै हैन मन्त्रालयमातहतका निकायहरुमा पनि पालना गराएका छौँ।

तपाईं आफैँ उद्योगी हुनुहुन्छ, पहिला सेवा लिँदा र अहिले दिँदा कस्तो अनुभव भइरहेको छ?
म आफैँ उद्योगी व्यवसायी हुँ। उनीहरुको समस्या के हो मलाई सबै थाहा छ। पहिलो कुरा भनेको उद्योगी व्यवसायीलाई ऐन, कानुन, नियमले उनीहरुलाई दिएको सेवा सुविधा सबै हामीले उनीहरुलाई दिनुपर्छ भन्ने मान्यतासाथ काम गरिरहेका छौँ। पहिला त्यो सुविधा कसरी न्यूनतम गर्ने भन्ने कुरा हुन्थ्यो भने अहिले हामीले त्यसकुमारको प्रवर्द्धन गर्ने काम गरिरहेका छौँ। अहिले निजी क्षेत्रहरु धेरै खुसी छन्। उनीहरुले पहिले सेवा पाउने प्रक्रियामा धेरै फरक पाएकोले उनीहरुको प्रतिक्रिया पनि राम्रो आइरहेको छ। कसैले केही कारणले रोकेको छ भने तुरुन्त कारबाही पनि गर्छाैं। त्यसकारण पहिलेको अवस्थासँग अहिले तुलना गर्नै मिल्दैन।

तपाईंहरु, मन्त्री हेरफेर भएर मन्त्रालय सम्हालेको केही समयमा नै लकडाउन सुरु भयो, त्यो अवधिमा काम गर्न कति कठिनाइ भयो?
लकडाउन संकटको अवस्था भनेको आपूर्ति व्यवस्थापनसँग जोडिएको हुन्छ। यो बेला आपूर्ति व्यवस्थापन गर्न ठूलो चुनौती थियो नै। हामीले सुरुमै अत्यावश्यक वस्तुहरुको पहिचान गरेर त्यसलाई नै केन्द्रित गरेर आपूर्ति व्यवस्थापन, वस्तुको मौज्दात र सरकारी तवरबाट पनि वितरणलाई ध्यान दिएका थियौं। आपूर्तिको व्यवस्थापन हामीले खाद्यान्नमा मात्रै नभई औषधि तथा ग्यास र पेट्रोलियम पदार्थमा ध्यान दिएका थियौँ। लकडाउनको अवधिमा सबै घरमा नै रहेको कारण सरकारले नै होम डेलिभरीको काम गरेको थियो। अर्को कुरा निजी क्षेत्रलाई पनि हामीले त्यसको लागि आह्वान गरेका थियौँ।

moti lal dugar 2

यो समयमा कर्मचारीको पनि अभाव थियो। कर्मचारीहरु थिएनन् तर काम धेरै गर्नुपर्ने थियो। जसकारण उपलब्ध कर्मचारीहरुबाट र हामी धेरै सक्रिय भएर काम गर्यौं। राहत वितरणको काम धेरै गर्यौँ। प्रधानमन्त्रीले कोही पनि भोको बस्न नदिनु भन्नुभएको थियो। जसअनुसार हामीले राहत आवश्यक परेकाहरुको पहिचान गरेर वितरण गर्यौँ। त्यो जिम्मा विशेषगरी मेरो थियो। र त्यसमा हामीले सफलता हासिल गरेका छौँ। त्यसको लागि स्थानीय तह, प्रदेश र संघ/संस्थाहरुबाट राहत वितरण गरेका छौं। यसकारण हामीले धेरै काम गरेका छौँ।
मैले माथि भनेका र गरेका कामहरुलाई हामीले मात्रै राम्रो भनेर पनि हुँदैन, त्यो त सेवा पाउनेहरुले गर्ने मूल्यांकन नै हो। त्यस्तै मिडियाकर्मी र नागरिक समाजले कसरी लिएका छन्, त्यो पनि हो। यो मन्त्रालयले अहिलेसम्म त्यस्तो अनावश्यक नियुक्ति पनि गरेको छैन। सोही कारण मन्त्री भएर आएपछि पनि हामीलाई मन्त्रालयका कर्मचारीहरुबाट पनि सहयोग भइरहेको छ। धेरै समस्या देखिएको छैन।

अर्थतन्त्र संकटमा पुगेको छ, त्यसलाई माथि ल्याउने योजना कसरी बनाइरहनुभएको छ?
हो, अहिले धेरै ठूलो संकटको अवस्था छ। लकडाउनपछि पनि सजिलोचाहिँ छैन। धेरै बेरोजगार बनेका छन्। धेरै उद्योग व्यवसायी धरापमा परेको छ। उद्योगहरु २० प्रतिशत मात्रै चलेका छन्। यसले गर्दा ठूलो आर्थिक संकटमा छौँ। तेस्रो मुलुकबाट आएकाहरुलाई पनि रोजगारी तत्काल सिर्जना गर्नुपर्छ । अब हामी नयाँ प्रविधिमा जाने, नयाँ उद्यमीको खोजी गर्ने र उद्योगको नयाँ क्षेत्रको पनि पहिचान गरेर देशलाई सुरुको चरणमा केही वस्तुमा आत्मनिर्भर गर्नु छ। त्यसको लागि धेरै ठूला उद्योगहरु मात्रै होइन, साना–साना उद्योगहरुको सञ्चालन गर्ने योजनामा छौं।

त्यसको लागि उद्योग राख्नेस्थान, बिजुलीमा सहुलियत र सुरुवाती पुँजी दिने योजना छ। त्यस्तै सरकारको रुग्ण उद्योगहरुलाई पनि निजी क्षेत्रलाई दिने तयारीमा छौं। उक्त उद्योग निजी क्षेत्रलाई दिँदा अहिले भएको सरकारको संरचनाको सेयर सरकारको कायम गरेर निजी क्षेत्रले त्यसमा लगानी गर्ने गरी काम गर्दै छौँ। यो भनेको पीपीपी मोडल हो। ५/७ वटा उद्योगहरुलाई हामी त्यसरी अघि बढाउँदै छौँ। यसो हुँदा सरकारको योजनाअनुसार उद्योग राम्रोसँग सञ्चालनमा आउनेछ भने ठूलो रोजगारीको अवसर सिर्जना हुनेछ। अब नेपाललाई अत्मनिर्भर बनाइनेछ। यी उद्योग सञ्चालनमा आउँदा नेपाली वस्तु निर्यातको पनि वातावरण बन्छ।

moti lal dugar 3

यो त अर्थतन्त्र माथि ल्याउने भावी योजना भयो? तर कोरोनाको कारण क्षति पुगेको उद्योग धन्दा सुचारु गर्न र तिनीहरुलाई माथि ल्याउने कामचाहिँ के गर्दै हुनुहुन्छ?
अहिलेको अवस्थामा सबै उद्योगहरुलाई राहतको आवश्यकता छ। हामीले कुनै न कुनै माध्यमबाट त्यो उपलब्ध गराउनैपर्छ। सोअनुसार सरकारले थालनी गरिसकेको पनि छ। सरकारले बैंकको ब्याज तिर्ने अवधि सारिदिएको छ। त्यो भनेको उद्योगको लागि सबैभन्दा ठूलो राहत हो। त्यस्तै हामीले सहुलियत ऋण उपलब्ध गराउँदै छौं। त्यसले पनि उनीहरुलाई सहयोग नै पुग्छ। पुनर्कर्जा सीमा पनि बढाएको छ।

नेपालको मुख्य निर्यातका वस्तुहरु अहिले अवरोध भइरहेका कुरा आइरहेका छन्, त्यसमा छिमेकी मुलुक भारतसँग कसरी समन्वय गरिरहनुभएको छ?
नेपालको मुख्य निर्यातको वस्तुमा पाम आयल पर्छ। तर त्यसमा भारतले रोकिरहने समस्या छ। यो समस्या धेरै ठूलो कुरा हो। हाम्रोजस्तो सानो मुलुकको लागि पाम आयल निर्यातले ठूलो सहयोग पुग्दै आएकोमा अहिले त्यो रोकिनुले समस्या त भएको नै छ। योभन्दा अघि रोकिँदा दुई पकटसम्म मेरो नै पहलमा त्यो खुलाएको थिएँ। एक पटक वाणिज्य सचिवको मिटिङ गराएर खुल्यो भने दोस्रो पटक म आफैँ भारत गएर समकक्षी मन्त्रालयमा कुरा गरेर खुल्ला गर्न लगाएको थिएँ। अहिले पनि यो बारेमा दुईपटक वार्ता भएको छ। त्यरकारणले अब आशा गरौँ, खुल्छ। अर्को चिया, अलैँचीजस्ता वस्तुहरु रोकिएका समाचारहरु आए। यो विषयमा म सधैँ अपडेट नै छु। त्यो के थियो भने मेची भन्सार कोरोनाको कारण केही समय बन्द नै भएको थियो। तर खुल्नेबित्तिकै नेपालको वस्तु निर्यात भइरहेको छ।

नेपाली धागोले भारतीय र बंगलादेशको बजार पाउनसकेन भन्ने पनि छ, यसमा केही प्रगति भयो त?
नेपालको धागो अन्य मुलुको तुलनामा बढी गुणस्तरीय छ। तर अहिले समस्या भारतमा राम्रो मूल्य पाउनसकेको छैन। त्यसबारे हामीले छलफल गरिरहेका छौं। बंगलादेशको बजारमा चाहिँ नेपाली धागो जानैसकेको छैन। यो विषयमा मन्त्रालयले ठूलो पहल गरिरहेको छ। बंगलादेशसँग भएको हरेक वार्तामा हामीले यो एजेण्डा राख्ने गरेका छौँ। बंगलादेश टेक्सटायलमा अघि बढेको देश भएको कारण हाम्रो धागोको लागि राम्रो बजार हुनसक्छ।

भिडियो हेर्नुहोस्–

अन्त्यमा के भन्नुहुन्छ?
देशलाई समृद्ध बनाउनु छ। सानो–सानो कुरामा झगडा गरेर बस्नुहुँदैन। स्वदेशमा नै धेरै वस्तु उत्पादन गर्नु छ। त्यसको लागि निजी क्षेत्रलाई हातमा लिनु छ। रेमिट्यान्सको भरमा देश चल्दैन। देशलाई कसरी औद्योगीकरण गर्ने विषयमा सबैले सोच्नुपर्छ। सानो चित्त बनाएर, देशमा झगडा मात्रै गरेर केही हुनेवाला छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad