कोशी


ओखलढुंगाको जिसस  प्रमुखमा कांग्रेस–एमालेबीच तालमेल

ओखलढुंगाको जिसस  प्रमुखमा कांग्रेस–एमालेबीच तालमेल

नेपालखबर
मंसिर २, २०८१ आइतबार १४:५६, ओखलढुंगा

जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो उम्मेदवार नउठाउने भएको छ। तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो।

कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। केहीबेरमा उम्मेदवारी दर्ताको तयारी छ। उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन्। 

जिल्लाका ८ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जितेका छन्। एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन्। जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ। 

एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार टेकराज भट्टराई सर्वसम्मत अबको साढे दुई वर्ष जिसस प्रमुख बन्ने भएका छन्। ८ स्थानीय तह रहेको ओखलढुंगामा नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेसकै बहुमत रहेको र जिससको नेतृत्वमा हालसम्म कांग्रेसकै उम्मेदवार निर्वाचित भएको जिल्लाको परिस्थिति तथा केन्द्रको सत्तागठबन्धनको नीतिअनुसार जिसस प्रमुखको उपनिर्वाचनमा एमालेले आफ्नो उम्मेद्वार नउठाएको एमाले जिल्ला कमिटी उपाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए। 

जिल्लामा उपनिर्वाचन हुने मोलुङ–५ को वडाध्यक्षमा भने स्वच्छ प्रतिस्पर्धा हुने उपाध्यक्ष न्यौपानेको भनाइ छ। ‘जिसस प्रमुखको दाबेदार पार्टीभित्र थुप्रै हुनुहुन्छ, तर मतदाता सङ्ख्याको अङ्कगणित र केन्द्रीय सत्तासाझेदार दल भएका हिसाबले भिड्नुभन्दा मिल्नु नै उपयुक्त ठानेर जिससमा उम्मेदार अघि सारिएन’, उपाध्यक्ष न्यौपानेले भने, ‘मोलुङ–५ को वडाध्यक्षमा हामी कांग्रेससँगै भिड्दैछौँ।’ मोलुङ–५ मा कांग्रेसको विरासत तोड्ने गरी एमालेले सर्वसम्मत वडाबाटै उम्मेदवार तय गरेको उनको दाबी छ। 

मोलुङ–५ एमालेका केन्द्रीय सदस्य तथा दुई पटक संघीय सांसद बनेका नेता यज्ञराज सुनुवारको वडा भएकाले पनि एमालेलाई जित्नैपर्ने दबाब छ। यद्यपि यसअघिका २०७४ र २०७९ का निर्वाचनमा यो वडा कांग्रेसले जितेको थियो। मोलुङ–५ का वडाअध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि रिक्त पदमा एमालेका गंगाबहादुर तामाङ र कांग्रेसका घनश्याम दाहाल मुख्य प्रतिस्पर्धी बनेका छन्। यो वडामा राप्रपा र रास्वपाले पनि उम्मेदवार उठाउने तयारी गरेका छन्।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad