कोशी


झापा-५ निर्वाचन : रञ्जित भन्छन्- दुई अतिवादबीचको उत्तम उम्मेदवार मै हुँ

झापा-५ निर्वाचन : रञ्जित भन्छन्- दुई अतिवादबीचको उत्तम उम्मेदवार मै हुँ

नेपालखबर
माघ ६, २०८२ मंगलबार १९:३७, इलाम

नेपाली कम्युनिस्ट पार्टीका (नेकपा)ले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ। 

युवा नेता तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङले आसन्न फागुन २१ गतेको उपनिर्वाचनमा आफू नै यस क्षेत्रको सबैभन्दा उपयुक्त र आवश्यक विकल्प भएको दाबी गरेका छन्।  

उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो निर्वाचन स्वाभाविक अवस्थामा नभई देशको एक विशिष्ट र संकटपूर्ण समयमा भइरहेकाले यसको विशेष महत्त्व रहेको बताए।

तामाङले राजनीतिक स्थिरता र वर्तमान संकटको निकासका लागि आगामी प्रतिनिधि सभाको पहिलो बैठकबाटै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए। 

उनले वि.सं. २०४६ पछिका सबै जनप्रतिनिधि र सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र शासकीय प्रणालीमा व्यापक सुधार ल्याउनुपर्नेमा जोड दिए। 

राज्यको शासन प्रणाली सही नहुँदा तमाम क्षेत्रमा विकृति र विसङ्गति बढेको उल्लेख गर्दै उनले ती सबैको रूपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको प्रस्ट पारे।

उम्मेदवारहरू बीचको प्रतिस्पर्धालाई लिएर गरिएको प्रश्नमा तामाङले अहिले देशमा दुई किसिमका अतिवाद (एक्ट्रीमिज्म) देखिएको टिप्पणी गरे।  उनका अनुसार एउटा पक्षले देशलाई दुर्घटनातर्फ धकेल्न खोजिरहेको छ भने अर्को पक्ष संकटको समयमा मूकदर्शक बनेर उभिन सकिरहेको छैन।

‘संकटमा धकेल्ने र संकटको बेलामा नउभिने दुवै अतिवादको विकल्पको रूपमा स्थानीयता र राजनीतिक आन्दोलनको अनुभवका आधारमा म नै यहाँको विकल्प हुँ,’ तामाङले भने।

अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बन्ने चाहना राखेको भए तापनि तत्कालीन दलीय गठबन्धन र राजनीतिक समीकरणका कारण सम्भव नभएको उनले स्मरण गरे। 

यस पटक भने स्थानीय आवश्यकता र जनताको भावनालाई बुझेर आफूले उम्मेदवारी प्रस्तुत गरेको भन्दै जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad