राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्ला अधिवेशनअन्तर्गत बन्द सत्रमा प्रतिनिधिहरूको वैधतालाई लिएर विवाद उत्पन्न भएपछि पूर्वनिर्धारित निर्वाचन तालिका स्थगित गरिएको छ।
जेठ २४ गतेका लागि तय गरिएको अधिवेशनको खुला सत्र शान्तिपूर्णरूपमा सम्पन्न भए पनि बन्द सत्र सुरु हुनासाथ प्रतिनिधिहरूको आधिकारिकतामाथि प्रश्न उठेपछि लामो समयसम्म विवाद र छलफल चलेको थियो।
जिल्ला निर्वाचन समितिका संयोजक नारायण घिमिरेका अनुसार विवादका कारण पूर्वनिर्धारित समय तालिका प्रभावित भएपछि जेठ २४ गतेका सम्पूर्ण निर्वाचन कार्यक्रमहरू पूर्ण रूपमा रद्द गरिएको छ। उत्पन्न विवाद समाधानका लागि केन्द्रीय निर्वाचन आयोगको च.नं. १३७ को पत्र र रास्वपा जिल्ला अधिवेशन कार्यविधि २०८२ लाई आधार बनाइएको छ।
जसअनुसार २०८३ वैशाख १५ गतेभन्दा अगाडि छनाैट भएका प्रतिनिधि सदस्यहरूले मात्र उम्मेदवारी दिन र मतदान प्रक्रियामा भाग लिन पाउने निर्णय भएको छ। वैशाख १५ गतेपछि निर्णय वा नियुक्ति भई आएका व्यक्तिहरूलाई भने मतदानको अधिकार नदिई पर्यवेक्षकको रूपमा मात्र सहभागी गराइने समितिले प्रष्ट पारेको छ।
अघिल्लो कार्यतालिका खारेज भएसँगै अब निर्वाचन प्रक्रिया पुनः सुरुदेखि अर्थात् उम्मेदवार मनोनयनको चरणबाटै अगाडि बढ्नेछ। नयाँ कार्यतालिका अनुसार भोलि जेठ २५ गते दिउँसो १ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने जानकारी निर्वाचन समितिले दिएको छ।

प्रतिक्रिया