कोशी


कोसी प्रदेश सभा बैठकको तयारीः बैठकस्थलको खोजीमा सचिवालय, सचेतक खोज्दै दल

कोसी प्रदेश सभा बैठकको तयारीः बैठकस्थलको खोजीमा सचिवालय, सचेतक खोज्दै दल

कोसी प्रदेश सभा सचिवालय रहेको कटहरीस्थित तरकारी बजार


नेपालखबर
माघ १३, २०८२ मंगलबार १४:४३, विराटनगर

कोसी प्रदेश सभाको हिउँदे अधिवेशन तयारी सुरु भएको छ। प्रदेश सभा सञ्चालन हुँदै आएको भवन जेन्जी आन्दोलनको बेला जलाइएपछि अहिले कटहरीस्थित तरकारी बजारबाट सचिवालय सञ्चालित छ। 

कटहरीमा प्रदेश सभाको बैठक आह्वान गर्न हल निर्माण नभएको अवस्थामा कहाँबाट प्रदेश सभा सञ्चालन गर्ने भन्ने अहिले गृहकार्य भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

प्रदेश सरकारले माघको २२ देखि २५ भित्र प्रदेश सभा बोलाउने तयारी थालेको छ। मुख्यमन्त्री कार्यालयका अनुसार, अब प्रदेश सभाको बैठक धेरै विलम्ब नगर्ने तयारीमा मुख्यमन्त्री देखिएका छन्। त्यसो हुँदा माघको २२ देखि २५ भित्रमा प्रदेश सभा बोलाउने भन्ने योजना रहेको छ।

एक त प्रदेश सभा सञ्चालनको लागि सभा बस्ने ठाउँ खोज्दै गरेको अवस्था छ भने कतिपय दलहरूको सचेतक र प्रमुख सचेतक समेत नभएको अवस्था छ। 

भएका प्रमुख सचेतक र सचेतकहरूलाई दलले मन्त्रालयको जिम्मेवारी दिएर मन्त्रीमा नियुक्त गरेपछि अहिले नेकपा एमालेको प्रमुख सचेतक र नेपाली कांग्रेसको सचेतक पद रिक्त छ। 

एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि अहिले एमाले प्रमुख सचेतकविहीन अवस्थामा छ। 

त्यस्तै कांग्रेसका सचेतक शोभा चेम्जोङ पनि भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएपछि अहिले दुवै दल मध्ये एउटा प्रमुख सचेतक र अर्को सचेतक नभएको अवस्थामा छन्। 

प्रदेश सभा बस्ने तयारी हुँदै गर्दा प्रमुख सचेतक नियुक्तिको तयारीमा एमाले देखिएको छ। एमालेबाट अहिले ३ जनाको नाम चर्चामा छ। पहिलो नम्बर तेह्रथुम प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालको नाम चर्चा छ। मन्त्री बन्ने आश्वासन पाएर पनि मन्त्री बन्न नपाएका उनलाई प्रमुख सचेतक बनाएर व्यवस्थापनको तयारीमा मुख्यमन्त्री देखिएका छन्। 

एमालेले प्रमुख सचेतक बनाउन सक्ने दुलाल तेह्रथुममा लामो समय पार्टी राजनीतिमा सक्रिय व्यक्ति हुन्। उनी २०७९ सालको प्रदेश सभाको निर्वाचनमा तेह्रथुम क्षेत्र नम्बर १(१)बाट निर्वाचित भएका थिए। २०३५ सालदेखि निरन्तर पार्टी राजनीति हुँदै २०५४ सालमा जिल्ला विकास समितिको सभापति भइसकेका दुलाल अनुभवी नेताका रूपमा चिनिन्छन्। नेकपा एमाले कोसी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका उनी प्रदेश सभा भित्र सक्रिय उपस्थिति देखाउँदै आएका छन्। 

एमालेले प्रमुख सचेतक बनाउने दोस्रो नम्बरमा रमेश बस्नेत छन्। उनी सुनसरी बाट निर्वाचित हुन्। मुख्यमन्त्रीले विकल्पका रूपमा बस्नेत सँगै झापाका छवि चुँडाललाई राखेका छन्। अहिले ३ जना मध्ये एक जनालाई दलको नेता मुख्यमन्त्री कार्कीले प्रमुख सचेतक नियुक्त गर्न सक्ने स्रोतले जनाएको छ। 

प्रदेश सभा सञ्चालन हुनुपूर्व बस्ने एमाले संसदीय दलको बैठक पछि प्रमुख सचेतक नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad