उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ।
देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला परेको हो।
महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो।
अनुगमनका क्रममा खसीको पहिचान चिह्न नभएको मासु बिक्रीका लागि राखिएको भेटिएपछि परीक्षण गर्दा बाख्राको मासु बिक्री भइरहेको पुष्टि भएको महानगरले जनाएको छ।
उपभोक्तालाई खसीको मासु भन्दै फरक प्रकृतिको मासु बिक्री गरी ठगी गरिएको ठहर गर्दै गाउँले मिट पसल र खान पसलविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए।
अनुगमन टोलीमा नगर प्रहरी प्रमुख राजन पौडेलसहितको सहभागिता रहेको थियो।
टोलीले अवैध रूपमा बिक्रीका लागि राखिएको मासु जफत गरी नष्ट गरेको छ। महानगरले उपभोक्ता संरक्षण र खाद्य स्वच्छता सुनिश्चित गर्न नियमित तथा आकस्मिक अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ।
महानगरले मासु व्यवसायीलाई प्रचलित मापदण्ड पालना गर्न तथा उपभोक्तालाई कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा जानकारी गराउन आग्रह गरेको छ।
Shares

प्रतिक्रिया