कोशी


राजमार्गमा बमजस्तो बनाएर राखेको वस्तु परालको डल्लो

राजमार्गमा बमजस्तो बनाएर राखेको वस्तु परालको डल्लो

नेपालखबर
फागुन ५, २०८२ मंगलबार ७:५४, विराटनगर

झापाको शिवसताक्षी नगरपालिका-१० माई धारस्थित कन्काई पुलमा आज (मंगलबार) बिहान फेला परेको श‌ंकास्पद वस्तु ‘होक्स’ (नक्कली बम) भएको पुष्टि भएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक जाँच तथा डिस्पोज गर्ने तयारीका क्रममा उक्त वस्तु विस्फोटक नभई परालको डल्लो रहेको पुष्टि गरेको हो।

पराललाई डल्लो बनाएर तारले बेरेको र बाहिरी भागमा `नेपाल बन्द होसियार´ लेखिएको कागज राखी ढुंगाले थिचेर पुलको बिच भागमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त वस्तु बम भएको आशंकामा बिहानैदेखि पूर्वपश्चिम राजमार्गको सो खण्डमा सवारी आवागमन रोकिएको थियो।

घटनापछि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शंकास्पद वस्तु हटाएपछि राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले कसैले सर्वसाधारणमा त्रास सिर्जना गर्ने उद्देश्यले उक्त कार्य गरेको हुन सक्ने बताएकी छन्।

घटनामा संलग्न व्यक्तिको पत्ता लगाउने प्रयास भइरहेको उनले बताइन्। 

शंकास्पद वस्तुका कारण केही समय राजमार्गमा यातायात प्रभावित बनेको थियो भने सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad