कोशी


एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: 'चालकले तत्कालै इन्जिन अफ गर्नुभयो'

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: 'चालकले तत्कालै इन्जिन अफ गर्नुभयो'

केदार मगर/रासस
चैत ५, २०८२ बिहिबार ५:१६, खोटाङ

खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा बुधबार एयर डाइनेस्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

काठमाडौँबाट पाँच यात्रु लिएर बुधबार दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणका क्रममा भित्तामा ठोकिएको थियो।

चालकसहित ६ जना सवार एयर डाइनेष्टीको नाइन एन-एएफक्यू नम्बरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।

दुर्घटनामा परेका काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको छ। घाइते काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै नाइन-एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट १२ः ३५ बजे नै उपचारका लागि काठमाडौँ पठाइएको छ।

खार्तम्छाका वडाध्यक्ष मिलन राईका अनुसार काजीबहादुरलाई दुर्घटनाग्रस्त हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको हो।

सो हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी बालाबेँसी निवासी ७७ वर्षीया मनलक्ष्मी राईको शव अन्त्येष्टि गर्न मृतकका आफन्तहररू आएका थिए।

मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ।

आफन्तका अनुसार मृतक मनलक्ष्मीको शव भने गाडीमार्फत बिहीबार बालाबेँसी आइपुग्ने व्यवस्था मिलाइएको थियो।

हेलिकप्टर दुर्घटनामा परेका आफन्त भने सकुशल रहेको वडाध्यक्ष राईले जानकारी दिए।

दुर्घटनालगत्तै चालकले इन्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताए।

'घटना सम्झिँदा सपनाजस्तो लाग्छ। सबैको होस उडिसकेको थियो। म अगाडिको सिटमा बसेको थिएँ', उनले भने, 'यस्तो दुर्घटना हुँदा पनि बाँच्न सकियो। चालकले तत्कालै इन्जिन अफ गर्नुभयो। चलिरहेको इन्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौँ।'

एयर डाइनेस्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको कार्यअनुभव र कूल एक हजार १०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिलेसम्म केही खुलाएको छैन।

एयर डाइनेस्टीका प्रवक्ता एवम् वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ।

बारीको डिलमा अवतरण गरिएको हेलिकप्टर पुनः उठाएर बारीको बिचमा लैजान खोज्दा पछाडिको भाग पल्टिएर दुर्घटना भएको थियो।

हेलिकप्टरका पङ्खा र पुच्छर टुक्रिएको अवस्थामा बारीको कुनामा थुप्रिएका छन्।

बालाबेँसीमा भएको हेलिकप्टर दुर्घटनाको अनुसन्धान तथा सर्जमिन गर्न अर्को हेलिकप्टरमा काठमाडौँबाट विज्ञ टोली आएर अनुसन्धानपछि फर्किएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad