कोशी


झापाको कचनकवलमा विद्यालय बस दुर्घटना हुँदा १२ जना घाइते, चालक फरार

झापाको कचनकवलमा विद्यालय बस दुर्घटना हुँदा १२ जना घाइते, चालक फरार

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १५:५९, विराटनगर

झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

भद्रपुर–दलकी भित्री सडक खण्डमा बिहान विद्यालय बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका हुन्।

दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापानी सेकेन्डरी स्कुलको प्र १–०१–००१ ख ४४८२ नम्बरको बसले बाटोमा निस्किएको प्र १–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्कर लगत्तै अनियन्त्रित भएको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनाको समयमा बसमा करिब २० जना विद्यार्थी सवार रहेकोमा १२ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएकोमा उपचार भइरहेको छ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक कचनकवल–३ का ५२ वर्षीय ओम प्रसाद तिमल्सिना रहेका छन्, जसको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको छ।

यस्तै, घाइते विद्यार्थीहरूमा १२ वर्षीय अभिषेक राजवंशी, ९ वर्षीय अर्जुन राजवंशी, ११ वर्षीय धर्मेन्द्र राजवंशी, ७ वर्षीय खुसबु श्रेष्ठ, ९ वर्षीय करण राजवंशी, १० वर्षीय प्रतीक्षा राजवंशी, ५ वर्षीय बरटिका राजवंशी, ४ वर्षीय सुमन राजवंशी, ८ वर्षीय सृजना राजवंशी र ४ वर्षीय दिपेन राजवंशी रहेका छन्।

अधिकांश विद्यार्थीहरूको अवस्था सामान्य रहेको र कतिपयको बाहिरी चोट नदेखिए पनि टाउको, पेट र ढाड दुख्ने समस्या रहेको अस्पताल स्रोतले जनाएको प्रहरीको भनाई छ। 

प्रहरीका अनुसार, दुर्घटना लगत्तै बस चालक फरार भएकाले प्रहरीले उनको तीव्र खोजी गरिरहेको छ। हाल दुवै सवारी साधन प्रहरी चौकी पथरियाको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad