कोशी


गाउँपालिकाले अनुदान दिएपछि पार्वतीले थालिन् कोदोको बिस्कुट बनाउने व्यवसाय

गाउँपालिकाले अनुदान दिएपछि पार्वतीले थालिन् कोदोको बिस्कुट बनाउने व्यवसाय

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १३:२६, मङ्गलबारे

इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ।

उपाध्यक्षसँग युवा यद्यमी कार्यक्रमअन्तर्गत पालिकावासीलाई अनुदान दिन सुरु गरेको हो।

अनुदान पाएर हाल एक जना महिलाले गाउँपालिकाको नयाँबजारमा कोदो पिठोबाट बिस्कुट उत्पादन गर्न थालेकी छन्।

नयाँबजारकी पार्वती भट्टराईले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेकी हुन्। 

‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको उनको भनाइ छ। उद्यमी भट्टराईले उद्योग नै सञ्चालन गरेर यसको उत्पादन सुरु गरेकी हुन्। 

‘भट्टराई कोदोको बिस्कुट तथा बेकरी उद्योग’ नाम दिएर उद्योग स्थापना गरिएको उनले बताइन्। 

तयारी कोदो फल्ने, पिस्ने र मह वा चिनी एवं केही मैदा मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाएर यसलाई तयार गर्ने गरिएको छ।

उत्पादन सुरु भरेको भर्खरै मात्र भएर हाल स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरूले कोसेलीका रूपमा बिस्कुट लैजाने गरेको उनले बताइन्। 

माईजोगमाई गाउँपालिकाद्वारा सञ्चालित उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत अनुदानमार्फत आफूले सो उद्योग स्थापना गरेको सञ्चालक भट्टराईको भनाइ छ। कोदोको परिकार शक्तिवर्द्धक मानिन्छ।

यसमा मिसाइने गुलियो या मह चिनी, उखुको खुदोले अझ मिठोपन दिने गर्दछ। सँगै भट्टराईले पाउरोटीलगायतका परिकारसमेत निर्माण गर्ने गरेकी छन्।

तयार गरेको कोदोको बिस्कुट उपभोक्ताले रुचाउने गरेको उनी बताउँछिन्। 

स्वास्थ्यका लागि समेत राम्रो भएपछि यसलाई विस्तार गर्ने सोचमा रहेको सञ्चालक भट्टराई बताउँछिन्। 

मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएको समेत उनको भनाइ छ। गाउँपालिकाले सहयोग गरेको यो कार्यक्रमले स्थानीयस्तरमा कोदाको समेत ‘ब्रान्डिङ’ हुने अपेक्षा लिइएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए।

उनले बिस्कुट बनाउन थालेपछि कोदोलाई ‘ब्रान्ड’ बनाउन सकिने सम्भावनादेखिको उल्लेख गरे। 

पछिल्लो समय कोदोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएपछि यसको उत्पादनसमेत कम हुँदै आएको छ।

गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुने र उत्पादनसँगै किसानलाई फाइदा पुग्ने गाउँपालिका अध्यक्षको भनाइ छ।

उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमले नेपालमा नै केही गर्न चाहने युवाहरूलाई सहयोग गर्ने गाउँपालिकाकी उपाध्यक्ष प्रवीना राईले बताइन्। 

उनका अनुसार उद्योग स्थापना गर्न गाउँपालिकाले नै सहयोग गरेको छ। गाउँपालिकाले औजार खरिदमा सहयोग गरेको हो।

विभिन्न वडामा रहेका युवाहरूलाई काममा जोड्न र आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।

उनले यो कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन सके गाउँपालिकाले थप सहयोग गर्ने बताउँदै व्यावसायिक तरिकाले काम गर्न सुझाव दिए।

युवा तथा उद्यम गर्न चाहानेहरूले नयाँ र रचनात्मक हिसाबले काम गरे उद्योग सञ्चालकलाई मात्र नभएर सिङ्गो गाउँपालिकालाई नै फाइदा मिल्ने उनको भनाइ छ।

वस्तु उत्पादनमा मात्र नभएर उत्पादित वस्तु बजारसम्म लैजानसमेत गाउँपालिकाको सहयोग आवश्यक छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad