लुम्बिनी


दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १८:४०, तुलसीपुर (दाङ)

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा दिनेश उप्रेतीसहितको टोलीले आज दुईजना बिरामीको एन्जियोप्लास्टि रिएको हो।

पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात (हर्टअट्याक) भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा देवकोटाले बताए। उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि एउटा उपलब्धि हो। यसअघि मुटुको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था रहेको थियो। 

योसँगै मुटुसम्बन्धी बिरामीलाई थप उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा श्याम लम्सालले बताए। 

‘उक्त उपचारका लागि रु १० करोड बराबरका सामग्री ल्याइएको छ। यसरी सामग्री तयारी गरेपछि पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ डा देवकोटालाई ल्याएर सेवालाई सुरुआत गरिएको हो’, उनले भने।

प्रतिष्ठानबाट केही दिनअघि एन्जोयोग्राफी सेवा दिइएको थियो। जुन निदानात्मक उपचार थियो भने आज एनियोप्लाष्टी सेवा सुरु गरिएको हो। दाङमै यो सेवा सुरु भएपछि जिल्लाबाहिरका बिरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले बताए। उनका अनुसार विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृतका लागि निवेदन पठाएकाले सूचीकृत हुने बित्तिकै बिरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने समेत उनको भनाइ छ। हाल मुटुको उपचारका लागि एक लाखभन्दा बढी खर्च लाग्ने गरेको छ।  

जब हृदयघात भएको थाहा भयो..
रोल्पा थवाङ गाउँपालिका–५ निवासी ७५ वर्षीया धनजिता विकको मुटु दुख्ने, सास फेर्न गाह्रो हुने, पेट फुल्ने समस्या हुन्थ्यो। त्यसपछि उपचारका लागि परिवारले दाङका निजी अस्पतालहरूमा पुर्‍याए। तर, कुनै रोग पत्ता लागेन। गत शुक्रबार प्रतिष्ठानमा मुटुको परीक्षण गरियो, त्यसपछि पत्ता लाग्यो धनजितालाई हृदयघात भएको थियो। त्यसपछि उनको आज एनियोप्लाष्टी गरिएको अस्पताल स्रोतले जनाएको छ। 

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–९ निवासी ७५ वर्षीय गङ्गाधर कँडेलको पनि मुटुमा समस्या भएपछि हृदयघात भएको थियो। त्यो कुरा प्रतिष्ठानमा मुटु जाँच गराएपछि थाहा भएको परवारले बताएका छन्। उनीहरू दुवै जनाको एनियोप्लाष्टी गरिएको थियो। योसँगै अब नियमित एनियोप्लाष्टी हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad