राजनीति


एमालेको आग्रह : बेलायती गोर्खा सैनिकबारे सरकारले कूटनीतिक पहल थालोस्

एमालेको आग्रह : बेलायती गोर्खा सैनिकबारे सरकारले कूटनीतिक पहल थालोस्

नेपालखबर
साउन ३१, २०७८ आइतबार १४:२१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बेलायती सेनाबाट अवकाशप्राप्त गोर्खाहरुले उठाइरहेका माग सम्बोधनका लागि सरकारले कूटनीतिक पहल थाल्नुपर्ने जनाएको छ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आइतवार एक विज्ञप्ति जारी गर्दै गोर्खाहरुको माग समानताको सिद्धान्तका आधारमा सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। 

भूतपूर्व गोर्खा सैनिकहरुले बेलायती सहकर्मीसरह पेन्सन लगायत समान सुविधा पाउनुपर्ने मागसहित आन्दोलनरत रहेको जनाउँदै एमालेले अहिले चलिरहेको आमरण अनशनलाई ध्यान दिएर ठोस कदम चाल्नुपर्ने एमालेले जनाएको छ। 

'बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भुपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय छ', ज्ञवालीले भनेका छन्, 'यस सन्दर्भमा, पूर्ववर्ती सरकारले भुपू गोर्खा सैनिकका सरोकारलाई सम्बोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको थियो।'

ज्ञवालीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा बेलायतको भ्रमणका क्रममा त्यहाँका समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धीको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राखेको पनि स्मरण गराएका छन्। 

उनले दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको पनि उल्लेख गरेका छन्। 

'समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्नुपर्छ,' एमालेले भनेको छ, 'बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहलका लागि नेकपा एमाले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ।'


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad