ad ad

राजनीति


प्रचण्ड मुभ : गुट भत्काउने घोषणा, आफ्ना ‘खास मान्छे’ मन्त्री सिफारिस

प्रचण्ड मुभ : गुट भत्काउने घोषणा, आफ्ना ‘खास मान्छे’ मन्त्री सिफारिस

सागर न्यौपाने
असोज २०, २०७८ बुधबार २१:३०, काठमाडौँ

माओवादी केन्द्रमा गुटहरू सक्रिय भएको भन्दै पछिल्लो समय पटक पटक गुट भत्काउने घोषणा गर्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चारैजना आफूनिकट नेतालाई मन्त्री बनाउने निर्णय स्थायी समिति बैठकबाट गराएका छन्।  

गठबन्धन सरकारमा नेकपा माओवादीबाट मन्त्री बन्न लागेकाहरूले पहिलोपटक कार्यपालिकामा अवसर पाएका हुन्।

देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बन्न लागेका हुन्। 

उनीहरुमध्ये फुलमन्त्री हुने तीनजनाले शिक्षा, खानेपानी, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनेछन्। बोधमायाको मन्त्रालय टुंगिसकेको छैन।

बुधबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले चारैजना नयाँ नेतालाई मन्त्री बनाउने निर्णय गरेको हो।

यसअघि असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुँदा माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल नियुक्त भएका थिए। 

भुसाल तेस्रो पटक मन्त्री बनेकी हुन्। शर्मा भने चौथो पटक मन्त्री बनेका हुन्।  

पौडेल : बाबुराम छोडेर प्रचण्डको साथमा  
२०७४ भदौ ७ गते बाबुराम भट्टराई छोडेर २ सय बढी नेता तथा कार्यकर्ता लिएर माओवादीमा फर्केका पौडेल निरन्तर प्रचण्डको साथमै रहे। 

माओवादीका स्थायी समितिका नेताहरुमा कुनै गुटमा नरहेका पौडेल पनि एक हुन्। हरिबोल गजुरेल, गणेश शाह, लीलामणि पोखरेल पनि कुनै गुटमा नलागी प्रचण्डसँगै छन्।

बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचन जितेका पौडेल माओवादी शान्ति प्रक्रियामा आएपछि एक पटक पनि मन्त्री बनेका छैनन्। 

२०७० मा संविधान सभाको दोस्रो पटक भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट पराजित भएका पौडेल सांसद र मन्त्री पहिलो पटक बन्न लागेका हुन्।

उनले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीहरुको शपथ बिहीबार राखिएको छ। 

‘उहाँ पहिलो पटक सांसद र मन्त्री बन्नुभयो,’ पौडेलका स्वकीय सचिव राजन पौडेलले नेपालखबरसँग भने।

शशी श्रेष्ठ : एकताकेन्द्र​ हुँदै माओवादी 
माओवादी युद्धमा नलागे पनि चौथो महाधिवेशनदेखि नै सक्रिय राजनीति गरेकी श्रेष्ठ हाल संसदको राज्य व्यवस्था समिति सभापति छिन्। 

श्रेष्ठ र उनका श्रीमान लीलामणि पोखरेल दुबै माओवादी केन्द्रमा सक्रिय नेता हुन्। सुरुमा एकताकेन्द्र मसालमा रहेकी श्रेष्ठ पार्टी एकतापछि माओवादी बनेकी हुन्। 

केही समय नारायणकाजी श्रेष्ठ​निकट रहे पनि पछिल्लो समय उनीहरु अध्यक्ष प्रचण्ड निकट छन्। श्रेष्ठ पहिलो पटक मन्त्री बनेकी हुन्।

महेश्वरजंग गहतराज : प्रचण्डको खास मान्छे 
बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन जितेका गहतराज जनयुद्धका विभिन्न मोर्चाका कमाण्ड समालेका केन्द्रीय नेता हुन्। 

जनयुद्धमा सुरुदेखि लागेका उनी शालीन वैचारिक नेताका रुपमा रहेको अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष नरेन्द्र न्यौपानेले बताए।

न्यौपानेका अनुसार प्रचण्डको खास मान्छे भनेर गहतराज चिनिन्छन्। 

‘अध्यक्ष प्रचण्डको खास मान्छे हो, कसैको गुटमा लाग्नु भएको छैन,’ न्यौपानेले बाँकेबाट नेपालखबरसँग भने,‘अध्यक्षले दिएको जिम्मेवारी कुशलता पूर्वक पुरा गर्ने नेता हो।’

तर कतिपयले उनी पछिल्लो समय जनार्दन शर्मा निकट नेता रहेको बताएका छन्। 

बोधमाया : शहीद रामबृक्ष यादवकी छोरी 
माओवादीले गरेको जनयुद्धमा मारिएका रामबृक्ष यादवकी छोरी हुन्। उनी हाल केन्द्रीय सदस्य छिन। प्रचण्डले उनलाई राज्य मन्त्री बनाएका छन्।

मन्त्री परिषदको भागबन्डामा माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाएको छ। त्यसमा अधिकांश आफ्ना ‘खास मान्छे’ मन्त्री बनाउँदा पनि प्रचण्डले क्षेत्र, जाति, लिंगको आधारमा समावेशी टिम पठाएका छन्। 

राज्यमन्त्री सहित ६ मन्त्रीमध्ये आधा अर्थात् तीन मन्त्री महिला परेका छन् भने जनजाति, दलित, मधेशी शहीद परिवार समेटेर समावेशी टिम बनाइएको छ। 

‘अहिले मन्त्री बन्नुभएका चारैजना हेर्दा त्यहाँ गुट छैन, स्थायी समिति सदस्य शक्ति बस्नेतले नेपालखबरसँग सुनाए, ‘त्यहाँ सिंगो पार्टी देखिन्छ। शहीद परिवार, समावेशी चयन भएको छ। मन्त्री बन्नेहरू लामो समय आन्दोलन गरेका हुनुहुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .