ad ad

राजनीति


‘श्रीमान’ राणाका जेठान– १९ नम्बर मन्त्री

‘श्रीमान’ राणाका जेठान– १९ नम्बर मन्त्री

केशव सावद
असोज २२, २०७८ शुक्रबार १५:३२, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका छन्। 

सत्ता गठबन्धनमा प्रधानन्यायाधीश राणाले पनि भाग खोजेको आरोप लागिरहेको बेला उनकै जेठान मन्त्री भएका हुन्। मन्त्रिपरिषद् सूचीमा हमालको नाम १९ औँ वरियतामा छ।

सर्वोच्च अदालतले गत असार २९ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै दिएको परमादेशअनुसार देउवा प्रधानमन्त्री बनेका थिए। शपथ लिएको ८८ औँ दिनमा मन्त्रिमण्डल विस्तार गरेका हुन्। 

दुई पटक वडा अध्यक्ष जितेका थिए 
गजेन्द्रले बाँकेबाट कांग्रेसको राजनीति गर्दै आएका छन्। उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीति सुरु गरेका हुन्। उनी २०२८ सालमा नेविसंघ बाँकेको पहिलो अध्यक्ष बनेका थिए।  

गजेन्द्रले २०३६ सालमा भएको विद्यार्थी आन्दोलनको बाँकेमा नेतृत्व गरेका थिए। विद्यार्थी आन्दोलनका क्रममा स्थानीय प्रशासनको तारो बनेपछि उनी भागेर दाङ पुगेका थिए। 

उनले पश्चिम दाङमा बसेर तत्कालीन समयमा उक्त क्षेत्रका विद्यालयहरुमा हड्ताल गराएका थिए। दाङमा पनि अञ्चलाधीशको खोजी सूचीमा परेपछि उनी भागेर जनकपुर पुगेको उनका भाइ लुम्बिनी प्रदेशसभा सदस्य सुरेन्द्र हमाल स्मरण गर्छन्। 

‘२०३६ सालमा विद्यार्थी आन्दोलनको बाँकेमा सुरुवात गर्ने मान्छे नै उहाँ हो। बाँकेमा मात्र होइन, पश्चिम दाङका स्कुलहरुमा हड्ताल गराउनुभएको थियो,’ गजेन्द्रले राजनीतिमा पु¥याएको योगदान स्मरण गर्दै सुरेन्द्रले भने, ‘बाँकेमा पुलिसले खोज्न थालेपछि उहाँ पश्चिम दाङ जानुभएको थियो, त्यहाँ हाम्रो दिदीको घर थियो। पछि अञ्चलाधीशले सताएपछि दाजु जनकपुर भाग्नुभएको थियो।’

सुरेन्द्रका अनुसार गजेन्द्र हमाल २०३९ सालमा वडाध्यक्ष विजयी भएका थिए। उनी २०४४ सालमा दोस्रो पटक पनि वडाअध्यक्षमा निर्वाचित भएका थिए।

‘दाजुले २०३९ सालमा वडाध्यक्षमा जित्नुभयो। २०४४ मा पनि चुनाव जित्नुभयो। पार्टीले स्थानीय चुनावमा वडाध्यक्षमा लडाएको थियो,’ प्रदेशसभा सदस्य हमालले भने, ‘त्यसपछि २०४६ मा बहुदल आयो। पार्टी राजनीतिमा लाग्नुभयो।’

तत्कालीन केन्द्रीय सभापति गिरिजाप्रसाद कोइरालाले १७ जिल्लाका कार्यसमितिहरु भंग गर्दा गजेन्द्र पार्टीको बाँके सभापति थिए। उनी २०५३ सालमा कांग्रेस बाँकेको सभापति चुनिएका थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विभाजन गर्दा गजेन्द्रले साथ दिएका थिए। २०५८ सालमा देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा उनी बाँके सभापति बनेका थिए। गजेन्द्रले कांग्रेस प्रजातान्त्रिक छनोट गर्दा बाँकेका २१ जना महाधिवेशन प्रतिनिधिमध्ये १८ जनाले उनलाई साथ दिएको सुरेन्द्रले बताए। 

‘कांग्रेस प्रजातान्त्रिकको उहाँ संस्थापक जिल्ला सभापति हो,’ उनले भने, ‘त्यो बेला जिल्लाबाट २१ जना महाधिवेशन प्रतिनिधि हुन्थे। सुशील कोइरालाको गृहजिल्ला भए पनि १८ जनाले दाजुलाई साथ दिनुभएको थियो।’

पार्टी विभाजनमा दिएको साथको ‘रिवार्ड’
गजेन्द्र हमालको परिवारले मन्त्री पदलाई पार्टीका लागि विगतमा निर्वाह गरेको भूमिकाको ‘पुरस्कार’का रुपमा लिएको छ। 

पार्टीका लागि पुर्याएको योगदान र प्रधानमन्त्री देउवासँगको सम्बन्धले मन्त्री पद ‘रिवार्ड’ का रुपमा प्रदान गरिएको उनका सहोदर भाइ सुरेन्द्रले जिकिर गरे। 

‘दाजुले कांग्रेसका लागि केसम्म गर्नुभएन र? प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्याउनु भएको थिएन र?’ उनले प्रश्न गरे, ‘फेरि उहाँको प्रधानमन्त्रीज्यूसँगको सम्बन्ध पुरानै हो। त्यसकै रिवार्ड दिएको हो जस्तो लाग्छ।’  

सुरेन्द्रले सर्वोच्चका प्रधानन्यायाधीश जबराको ‘कोटा’ मा मन्त्री पद पाएको आरोपको भने खण्डन गरे। यद्यपि, उनले जबरासँग आप्mनो पारिवारिक सम्बन्धका बारेमा बिना हिच्किचाहट सुनाए। 

‘मिडियामा के–के आयो, जोड्नेले कहाँ–कहाँ जोडेका छन्,’ सञ्चारमाध्यममा आएका समाचारप्रति गुनासो गर्दै सुरेन्द्रले भने, ‘उहाँ (प्रधानन्यायाधीश) रिलेसनको मान्छे हो। मेरो भिनाजु, गजेन्द्रको ज्वाइँ हो।’ 

प्रधानमन्त्री देउवाले गजेन्द्रलाई नै किन पुरस्कृत गरे त?

‘दाजुको पहिल्यैबाट प्रधानमन्त्रीज्यूसँग नजिकको र राम्रो सम्बन्ध हो। अहिले महाधिवेशन पनि नजिकै छ। बाँके–बर्दिया क्षेत्रमा राम्रो पकड भएको बलियो मान्छे रिवार्ड गरे राम्रो म्यासेज जान्छ भनेर मन्त्री बनाउनु भएको होला,’ उनले नेपालखबरसँग भने।  

गजेन्द्रको परिवार नै कांग्रेसको राजनीतिमा 
२०१० फागुन ८ मा जन्मेका गजेन्द्र ६ भाइमध्ये साइँला हुन्। उनका माइला दाइ रणेन्द्र हमाल (भाइराजा) ११ वर्षसम्म लगातार कांग्रेस बाँकेको सभापति थिए। 

भाइराजाको २०४४ मा निधन भयो। भाइराजाकी धर्मपत्नी उत्तम हमाल नेपाल महिला संघ बाँकेकी संस्थापक अध्यक्ष हुन्। 

२०४६ सालमा महिला संघको जिल्ला अध्यक्ष बनेकी उत्तमलाई कांग्रेसले २०५४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बनाएको थियो। उनी निर्वाचनमा विजयी भएकी थिइन्। 

पाँचौ भाइ सुरेन्द्र लुम्बिनी प्रदेशसभा सदस्य छन्। उनी बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन्। 

कांग्रेसबाट बाँके र बर्दिया जिल्लामा विजयी हुने उनी एकमात्र प्रदेशसभा सदस्यसमेत हुन्। सुरेन्द्र पनि २०३५ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।

उनले २०३७ सालमा नेपालगञ्जको महेन्द्र बहुमसखी क्याम्पसको स्ववियू सचिव, २०४२ मा स्ववियू सभापति र २०४४ मा फेरि स्ववियू सचिवको जिम्मेवारी सम्हाली सकेका छन्। 

‘३७ सालमा सचिव भएँ, ४२ सालमा सभापति भएँ। फेरि ४४ सालमा स्ववियू सचिव नै बन्नुपर्ने भयो,’ सुरेन्द्रले हाँस्दै भने, ‘सभापति भइसकेको मान्छे सचिव भएको सुन्दा अप्ठ्यारो नमान्नुस्। कहानी अर्कै छ– मेरो साथी महेश मल्लले सभापति हुने इच्छा देखाए। म काठमाडौंमै बस्ने भएकाले पनि ठीकै छ नि त भनेँ। तर, अरु साथीहरुले मानेनन्। म नभइ नहुने भयो, अनि सचिवमै लडेँ।’

गजेन्द्रका कान्छा भाइ जितेन्द्र हमाल बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य छन्। उनका भतिजा रविन्द्र हमाल यसअघिको कार्यसमितिमा बाँकेका जिल्ला सचिव थिए। 

‘हाम्रो परिवार नै कांग्रेस हो। त्यसमा पनि हामी उहिल्यैबाट शेरबहादुर देउवानिकट हौं,’ सुरेन्द्रले भने, ‘हामी दाजुभाइ मात्र होइनौँ, भतिजो पनि कांग्रेसकै राजनीतिमा छ। ऊ १२ औँ महाधिवेशनमा बाँकेको जिल्ला सचिव भएको हो।’

     

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .