ad ad

राजनीति


कांग्रेसको पहिलो प्रदेश अधिवेशन : उम्मेदवारी दर्ता आज

कांग्रेसको पहिलो प्रदेश अधिवेशन : उम्मेदवारी दर्ता आज

केशव सावद
मंसिर १७, २०७८ शुक्रबार ८:५, काठमाडौँ

नेपाली कांग्रेस पहिलोपटक आफ्नो प्रदेशस्तरीय कार्यसमिति गठन प्रक्रियामा छ। प्रदेश कार्यसमिति गठनका लागि कांग्रेसले देशका ७ प्रदेशमध्ये ६ वटामा बिहीबार प्रदेश अधिवेशन उद्घाटन गरेको छ। 

अधिवेशनअन्तर्गत शुक्रबार बिहान ८ बजेदेखि प्रदेश २ बाहेक ६ वटै प्रदेशमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका कांग्रेसले बनाएको छ। 

सर्वसम्मत नयाँ नेतृत्व चयनको प्रयास असफल भए कांग्रेसले शनिबार बिहान ८ बजे मतदान सुरु गर्ने तयारी पनि गरेको छ। 

प्रदेशस्तरीय कार्यसमिति चयनका लागि सुरु प्रदेश अधिवेशनमा प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य प्रतिनिधि मानिन्छन्। 

यस्तै प्रदेशभित्रका पार्टीको जिल्ला कार्यसमितिका सभापति, प्रदेशका भ्रातृ/शुभेच्छुक संघ–संस्थाका प्रमुखहरु पनि प्रदेश अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुन पाउने कांग्रेसको विधानले व्यवस्था गरेको छ। 

विधानअनुसार प्रदेश अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुने प्रदेशका भ्रातृ/शुभेच्छुक संघ–संस्थाका प्रमुखहरुलाई मतदानको अधिकार भए पनि उम्मेदवार बन्न पाउँदैनन्। 

प्रदेश अधिवेशनका प्रतिनिधिले कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य रहेका प्रदेश अधिवेशनका प्रतिनिधिमध्येबाट एक जना सभापति चुन्नेछन्। 

अधिवेशनबाट कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेका प्रदेश अधिवेशन प्रतिनिधिमध्येबाट प्रदेश कार्यसमितिका लागि दुई जना उपसभापति, दुई जना महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री चयन हुने कांग्रेस विधानमा व्यवस्था छ।

प्रदेश सभापतिले प्रदेश कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी कोषाध्यक्ष मनोनयन गर्न पाउँछ। प्रदेश कार्यसमितिमा रहने सदस्य भने विधानअनुसार अधिवेशनले चयन गर्नेछ। 

कांग्रेसको क्षेत्रीय कार्यसमिति चयन गर्न सुरु अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि बागमती प्रदेशमा सहभागी हुँदै छन्। बागमती प्रदेशमा २ हजार १ सय ३७ प्रतिनिधि सहभागी हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार प्रदेश १ मा एक हजार ७ सय ७०, लुम्बिनी प्रदेशमा १ हजार ६ सय ४२, गण्डकी प्रदेशमा १ हजार १ सय ५३, सुदूरपश्चिम प्रदेशमा एक हजार १६ र कर्णाली प्रदेशमा ७ सय ४९ प्रतिनिधि मतदाताका रूपमा सहभागी हुने छन्। 

जसअनुसार प्रदेश २ बाहेकका प्रदेशमा सुरु भएका प्रदेश अधिवेशनमा सहभागी कांग्रेसका प्रतिनिधिको संख्या ८ हजार ४ सय ६७ हुन आउँछ। प्रदेश अधिवेशनभन्दा तल्लो तहमा अधिवेशन हुन बाँकी रहेका कारण प्रदेश २ मा भने प्रदेश अधिवेशन सुरु नभएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .