नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले मन्त्रीमण्डल पुनगर्ठनका विषयमा प्रदेश २ का अध्यक्ष प्रभु शाहले लेखेको फेसबुक स्टाटसलाई हावादारी भन्दै अनुशासन आयोगको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री केपी ओलीले बुधबार केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। पहिले साह पनि मन्त्री बन्ने हल्ला चलेको थियो। तर, उनी मन्त्रिमण्डलमा अटाएनन्।
बिहीबार साहले फेसबुकमा लेखे, ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो। मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन। योग्यहरुलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लज्जित भएका छौँ।’
पार्टीका जिम्मेवार व्यक्तिले लेनदेनकै आधारमा मन्त्री छानिएको भनेर आरोप लगाउँदा दुःख लागेको रिजालको भनाइ छ। साहको स्टाटसमा टिप्पणी गर्दै रिजालले लेखेका छन्, ‘पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ। मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो। तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ । कसैले उहा‘सँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ?’
नेता रिजालले यस्ता अभिव्यक्तिको पार्टीको अनुशासन कमिटिले छानबिन गर्नुपर्ने पनि बताएका छन्।
‘पार्टीको अनुशासन आयोग भर्खरै बनेको छ। यस्ता अराजक र अनुशासनहीन अभिव्यक्तिप्रति ध्यान जान जरूरी छ,’ उनले लेखेका छन्। उनले पर्साका काशीनाथ तिवारी हत्याकाण्डमा जोडिएका प्रभु शाहलाई तिवारी हत्याकाण्डको फाइल खुल्न लागेर डराएको हो भन्दै प्रश्न गरेका छन्।
‘अँ, साँच्चै काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र? सभामुखमाथि त निर्मम रूपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है,’ उनले लेखेका छन्।

प्रतिक्रिया