ad ad

राजनीति


देउवाले दिल्लीमा भाजपा मुख्यालय भ्रमण गर्ने, प्रतिपक्षी कंग्रेसका नेता नभेट्ने

देउवाले दिल्लीमा भाजपा मुख्यालय भ्रमण गर्ने, प्रतिपक्षी कंग्रेसका नेता नभेट्ने

भाजपासँग कांग्रेसको सम्बन्ध सुधार गर्ने क्रममा प्रधानमन्त्री पत्नी आरजु राण दिल्लीमा विजय चौथाइवालेसँग भेटवार्ता गर्दै


सन्तोष घिमिरे
चैत १७, २०७८ बिहिबार २२:२५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको क्रममा शुक्रबार साँझ सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को नयाँ दिल्लीस्थित मुख्यालय पनि पुग्ने भएका छन्। तर, देउवाले भारतको प्रतिपक्षी दल कांग्रेस आईका नेतासँग भेट्ने कार्यक्रम नरहेको अधिकारीहरुले बताए। 

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका क्रममा शुक्रबार दिउँसो २ः४० बजे नयाँ दिल्ली पुग्नेछन्। देउवाको पहिलो भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुने भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको छ। देउवा बस्ने होटल मौर्यमै आएर विदेशमन्त्री जयशंकरले देउवासँग शिष्टाचार भेट गर्नेछन्। त्यसलगत्तै देउवा भाजपा मुख्यालय पुग्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए। 

‘देउवालाई भाजपा मुख्यालयमा विशेष स्वागत गर्ने तयारी रहेको बुझेका छौँ,’ दूतावासका ती अधिकारीले नेपालखबरसँग टेलिफोनमा भने। 

भाजपा मुख्यालयमा देउवालाई सो पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले स्वागत गर्नेछन्। भाजपाका अन्य नेता समेत सो अवसरमा उपस्थित हुनेछन्। देउवा र नड्डा सहित भाजपा नेताहरुबीच भेटवार्ता समेत तय भएको छ। 

भाजपाका विदेश विभाग संयोजक विजय चौथाइवालेले भाजपा अध्यक्षको निम्तोमा देउवाले भाजपा मुख्यालय भ्रमण गर्न लागेको प्रतिक्रिया दिएका छन्। 

‘देउवाले हार्दिकतापूर्वक नड्डाको निम्तो स्वीकार गर्नुभएको छ। नड्डाजीले देउवाजीलाई पार्टी मुख्यालयमा स्वागत गर्नुहुनेछ,’ भारतीय दैनिक द हिन्दुसँग कुरा गर्दै चौथाइवाले भनेका छन्। 

भाजपा अध्यक्ष नड्डाको चाहनामा देउवा भाजपा मुख्यालय जान लागेको हिन्दुले भाजपा स्रोतलाई उधृत गर्दै जनाएको छ। 

हुन त देउवा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दैछन्। तर नेपाली कांग्रेसको ​सभापति समेत रहेका देउवाले यो भ्रमणलाई भारतीय जनता पार्टीसँग सम्बन्ध सुधारको अवसरका रुपमा लिएको देखिन्छ।

नेपाली कांग्रेस–भाजपा सम्बन्ध बढ्यो, कंग्रेस आईसँग दुरी 
भारतको इन्डियन नेसनल कंग्रेससँग नेपाली कांग्रेसको लामो समयदेखि विशेष सम्बन्ध रहे पनि भारतीय जनता पार्टीसँग सामान्य सम्बन्ध मात्रै थियो। अहिले परिस्थिति ठिक उल्टो भएको छ। नेपाली कांग्रेसको कंग्रेस आईसँगको सम्बन्ध सामान्य तहमा झरेको छ भने भाजपासँगको सम्बन्ध विस्तार हुँदै गएको छ। 

कांग्रेसको गत महाधिवेशनमा पनि भाजपाका नेता हर्ष वर्धन सहभागी भएका थिए। उक्त महाधिवेशनमा नेपाली कांग्रेसले निम्तो पठाए पनि भारतीय कांग्रेसले कुनै प्रतिनिधि पठाएन। एमाले महाधिवेशनमा पनि आएका भाजपा नेता वर्धनले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई बालुवाटारमै भेटेका थिए। उनीहरुले नेपाली कांग्रेसको पार्टी महाधिवेशन तयारीबारे चासो राखेका थिए। 

केही वर्षयता नरेन्द्र मोदी, अमित शाह र राजनाथ सिंह लगायत नेताको पहलमा भाजपाले नेपालका पार्टीहरूसँग सम्बन्ध विस्तारको प्रयास गरिरहेको छ। त्यसमध्ये पनि नेपाली कांग्रेस र एमालेसँगको सम्बन्धलाई बढी महत्व दिएको देखिएको छ।

देउवा प्रधानमन्त्री बनेयता भ्रमण आदानप्रदान बाक्लियो 
आठ महिनाअघि देउवा प्रधानमन्त्री भएयता कांग्रेस र भारतीय जनता पार्टीबीच भ्रमण आदानप्रदान बाक्लिएको छ। जनैपूर्णिमाताका काठमाडौँ आएका भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री देउवासँग भेटवार्ताको अवसर मात्र पाएनन्, भातृत्वपूर्ण व्यवहार दर्शाउन प्रधानमन्त्री पत्नी डा. आरजु राणाले उनलाई ‘राखी’ समेत बाँधिदिएकी थिइन्। 

आफूलाई काठमाडौँ भ्रमणको निम्तो दिने नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई चौथाइवालेले तत्कालै नयाँदिल्ली भ्रमणको निम्तो दिए। चौथाइवालेको निम्तोमा भारत भ्रमण सकेर महत नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल असोज अन्तिममा नेपाल फर्कियो। 

महत नेतृत्वको कांग्रेस टोलीले दिल्लीमा भाजपा अध्यक्ष नड्डा, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख चौथाइवाले र युवामोर्चाका महासचिव राजु विष्ट लगायतसँग भेटघाट गरेको थियो। महत भाजपा मुख्यालय नै पुगेका थिए। 

कांग्रेस टोलीले भेटघाट गरेका उच्च सरकारी अधिकारी थिए भारतीय विदेशमन्त्री जयशंकर र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ। 

डा. महतको भारत भ्रमण पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको व्यक्तिगत चाहनामा भएको महतले पत्रकारहरुलाई बताएका थिए। 

महतलाई नयाँदिल्ली पठाएर देउवाले भाजपा नेतृत्व र सरकारसँग सम्बन्ध नवीकरणको कोसिस गरेका थिए। 

डा. महतलाई नयाँदिल्ली पठाइनुको अर्को कारण नयाँदिल्लीसँग बढेको ‘व्यक्तिगत दुरी’ घटाउने देउवाको उदेश्य पनि थियो। सन् २०१९ नोभेम्बरमा भारतले नेपाली भूभाग लिम्पियाधुरा–कालापानी समेत समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपाली कांग्रेसले देशभर सडक–प्रदर्शन गरेको थियो।  

लिम्पियाधुरा–कालापानी मुद्दामा नेपाली कांग्रेस सडकमा उत्रेपछि भारतीय संस्थापन नेपाली कांग्रेससँग चिढिएको मानिन्छ। यसको छनक नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जीत रेले ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया नेपाल टाइज’ पुस्तकमा पनि दिएका छन्। पूर्वराजदूत रेले पुस्तकमा लेखेका छन्, ‘नेपाली कांग्रेसले ओली सरकारभन्दा आफू राष्ट्रवादी देखिन कालापानीको मुद्दा उठाएको हो।’

वामपन्थी पृष्ठभूमिका चार पूर्व प्रधानमन्त्रीका साथमा देउवाले हस्ताक्षर गरेको एउटा विज्ञप्तिका कारण पनि देउवालाई नयाँदिल्ली आफूसँग चिढिएको छ भन्ने लागेको हुनसक्छ। त्यसैले, पनि उनी भारतसँगको सम्बन्ध सुमधुर बनाउने प्रयासमा थिए। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस सभापति देउवासहित पाँच पूर्वप्रधानमन्त्रीले संयुक्त वक्तव्यमार्फत् नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भएको भन्दै त्यसको विरोध गरेका थिए। 

विज्ञप्तिमा कुनै मुलुकको नाम उल्लेख गरिएको थिएन, तर ओली सरकारलाई जोगाउन भारतले भूमिका खेलिरहेको आम चर्चा चलिरहेका बेला पाँच पूर्वप्रधानमन्त्रीले गरेको दाबी ‘विदेशी हस्तक्षेप’ भारततर्फ लक्षित थियो। 

प्रधानमन्त्री बनेपछि देउवाले विस्तारै भारतीय संस्थापनमा रहेको आफूप्रतिको तुष मेटाउने प्रयास सुरु गरे। त्यसैको उपज थियो– डा. महतको निमन्त्रणमा भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको गत जनपूर्णिमाताकाको नेपाल भ्रमण। र, असोजमा डा. महतले गरेको भारत भ्रमण। 

त्यसका अलावा देउवा पत्नी आरजु राणाले पनि भाजपासँग सम्बन्ध विस्तारका लागि व्यक्तिगत तहबाट पहल गरिरहेको देखिन्छ। जनवरी २ मा राणाले नयाँ दिल्लीमा भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटेकी थिइन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .