ad ad

राजनीति


उदयशमशेर राणालाई प्रश्नः प्रधानमन्त्रीको भारत भ्रमणलाई निर्वाचनसित जोडेर हेरिएको छ नि?

‘भाजपाको सम्बन्ध कांग्रेस मात्रै हैन, एमालेसँग पनि छ’
उदयशमशेर राणालाई प्रश्नः प्रधानमन्त्रीको भारत भ्रमणलाई निर्वाचनसित जोडेर हेरिएको छ नि?

उदयशमशेर राणा सत्तारुढ नेपाली कांग्रेसका युवा नेता हुन्


सन्तोष घिमिरे
चैत १८, २०७८ शुक्रबार १२:१९, काठमाडौँ

उदयशमशेर राणा सत्तारुढ नेपाली कांग्रेसका युवा नेता हुन्। पूर्व अर्थराज्यमन्त्री राणा नेपाल-भारत सम्बन्धका जानकार मानिन्छन्। दार्जिलिङ र नयाँ दिल्लीका विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका क्रममा उनले दुई देशबीचको सम्बन्धलाई नजिकबाट नियाल्ने अवसर पाए। अमेरिकाको कर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले नेपालको विदेश नीति, भारत र चीनसँगको सम्बन्धबारे शोधपत्र लेखेका थिए। 

६ महिनाअघि मात्र राणा पार्टीका अर्का नेता प्रकाशशरण महतसँग भारत भ्रमणमा गएका थिए। भ्रमणको उद्देश्य भारतीय जनता पार्टीसँग नेपाली कांग्रेसको सम्बन्ध सुधार्नु थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र नेपाली कांग्रेस-भाजपा सम्बन्धमा केन्द्रित रहेर नेपालखबरले राणासँग गरेको संक्षिप्त कुराकानी : 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको मुख्यालय पनि पुग्दै हुनुहुन्छ, नेपाली कांग्रेस र भाजपाको सम्बन्ध कस्तो छ? 
नेपाली कांग्रेस र भाजपाबीच सम्बन्ध र अन्तरक्रिया हुनु सामान्य कुरा हो। अहिले सत्तामा आउँदा मात्रै होइन, प्रतिपक्षमा रहँदा पनि भाजपासँग राम्रो सम्बन्ध थियो। त्यतिबेला बाजपेयीजी र आडवाणीजीहरूसँग किसुनजी र गिरिजाबाबुको असल सम्बन्ध थियो। त्यसबेलादेखिको सम्बन्ध अहिले बढ्दै गएको छ। भाजपा अहिलेको भारतको सत्तारुढ दल मात्रै नभएर एउटा बलियो पार्टीका रूपमा स्थापित भएको छ। साथै, नेपाली कांग्रेस नेपालको महत्त्वपूर्ण दल हो। हामी दुई देशका पार्टीबीच केही वर्षयता अन्तरक्रिया र भेटघाट गहिरिएका छन्। हामी पनि उहाँहरूको निमन्त्रणामा भारत गएका छौं। उहाँहरू पनि यता आउनुभएको छ। विचार आदानप्रदान भएका छन्। नेपाली कांग्रेससँग मात्रै नभएर भाजपाको सम्बन्ध एमालेसँग पनि छ। एमाले नेताहरूलाई पनि उहाँहरूले बोलाउनुभएको छ। भाजपा नेताहरू पनि एमालेको निमन्त्रणामा यहाँ आउनुभएको छ। छिमेकी देशका पार्टीहरूबीच सम्बन्ध विकास हुनु स्वाभाविक कुरा हो। अहिले नेपाली कांग्रेसको सम्बन्ध भाजपासँग राम्रो बनेको छ। 

देउवा पछिल्लोपटक प्रधानमन्त्री भएयता नेपाली कांग्रेस र भाजपाबीच भ्रमण आदानप्रदान बाक्लिएको देखिन्छ नि? 
अवश्य पनि। शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भाजपा र हाम्रो पार्टीका बीचमा भेटघाट र अन्तरक्रिया बाक्लिएका छन्। पहिलेभन्दा बढी कुराकानी र अन्तरक्रिया भएका छन्। भ्रमण नियमित हुन नसक्ला, तर नेपाली कांग्रेसका नेता र भाजपाका नेताबीच टेलिफोनका माध्यमबाट कुराकानी हुुनु सामान्य भयो। हाम्रै पार्टीका वा अन्य पार्टीका नेताको पनि भारतका दलसँग कुराकानी र छलफल हुने सामान्य कुरा नै भयो।

चुनावको मुखमा प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ, कतिपयले यसलाई निर्वाचनसित पनि जोडेर हेरेका छन् नि? 
चुनाव नियमित प्रक्रिया हो। पाँच वर्षपछि चुनाव आउँछ, जान्छ। हाम्रा नेताको विदेश भ्रमण र यहाँको चुनावलाई जोडेर हेर्न मिल्दैन। यो हाम्रो आन्तरिक राजनीतिक मामिला हो। तीन महिनाअघि पार्टी महाधिवेशन सकिएलगत्तै देउवा भारत भ्रमणमा जाने टुंगो लागिसकेको थियो। तर त्यसबेला कोरोना महामारीका कारण उहाँको भ्रमण रोकियो। अहिले फेरि भ्रमणको नयाँ मिति तय भयो र उहाँ जान लाग्नुभएको छ। त्यसैले अब हुन लागेको भ्रमणलाई चुनावसँग जोडेर हेर्नु आवश्यक छैन। ​

नेपाल-भारत मामिलाको जानकार र कांग्रेस पार्टीको एक नेताका हिसाबले यो भ्रमणको प्राथमिकता के हुनुपर्छ भन्ने लाग्छ? 
भारतसँग आर्थिक रूपमा सम्बन्ध मजबुत बनाउनुपर्ने छ। त्यसका लागि विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनका कुरालाई प्रधानमन्त्रीको भ्रमणमा जोड दिनु आवश्यक छ। जस्तो : हामीले पहिले भारतसँग नयाँ एयर इन्ट्री रुट मागेका थियौं। रासायनिक मल आयात, कनेक्टिभिटी बढाउने र विद्युत् व्यापारका सम्भावना खोज्ने विषयमा हामीले भ्रमणमा जोड दिनुपर्छ। सीमासँग जोडिएका विषय छलफलमा आउने नै भए। यी सबै विषयमा छलफल हुनु आवश्यक छ। भ्रमणका एजेन्डामा के छन् मलाई ठ्याक्कै थाहा छैन किनकि म भ्रमण तयारीमा संलग्न छैन। सरकारले भ्रमण तयारी गरेको होला। 

पूर्ववर्ती सरकारका पालामा भारतले हाम्रो भूमिसमेत समेटेर नक्सा बनाएपछि हामीले पनि नयाँ नक्सा जारी गर्यौं, त्यसले चिसिएको सम्बन्ध यो भ्रमणले सुधार्ला? 
नेपाल–भारत सम्बन्ध अहिले सामान्य नै छ। असामान्य देख्दिनँ। हामीबीच सीमा समस्या छन्। तर त्यसलाई कूटनीतिक संवादका माध्यमबाट समाधान गर्नुपर्छ भन्ने हामी सबैको धारणा हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .