ad ad

राजनीति


अमेरिकी उपविदेशमन्त्री भारतमा, शुक्रबार नेपाल आउने, के के छन् एजेन्डा?

अमेरिकी उपविदेशमन्त्री भारतमा, शुक्रबार नेपाल आउने, के के छन् एजेन्डा?

सन्तोष घिमिरे
जेठ ३, २०७९ मंगलबार २२:४८, काठमाडौँ

नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जिया शुक्रबार नेपाल आउँदै छिन्। 

अमेरिकी विदेश मन्त्रालयले उपविदेशमन्त्री जियाको भ्रमणको घोषणा गरेको छ। नेपाल आउनु दुई दिनअघि मंगलबार उनी भारत आइपुगेकी छन्। 

मानवअधिकार तथा लोकतान्त्रिक शासनका उपलब्धि तथा मानवीय प्राथमिकतालाई अघि बढाउने विषयमा सहकार्य सुदृढ गर्न उपविदेशमन्त्री जिया भारत र नेपाल भ्रमणमा निस्किएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। 

भ्रमणमा लोकतन्त्र सम्बन्धी शिखर सम्मेलनको यस वर्षको कार्ययोजनाबारे भारत र नेपालसँग छलफल हुने मन्त्रालयले जनाएको छ। उपविदेशमन्त्री जियाका साथमा अमेरिकी सहयोग नियोग यूएसएआईडीमा एसिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एड्मिनिस्ट्रेटर अन्जली कौर पनि रहनेछिन्। 

दुई दिन नेपालमा रहँदा उपविदेशमन्त्री जियाले उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकर बैरागीसँग भिन्दाभिन्दै भेटवार्ता गर्नेछिन्। त्यसैगरी यहाँस्थित केही मानवअधिकारवादी तथा नागरिक समाजका व्यक्तिलाई पनि उनले भेट्नेछिन्।

जियाले यतिबेला नेपाल भ्रमण गर्नुका पछाडि विशेषगरी दुई कारण रहेको जानकार सरकारी अधिकारीहरु बताउँछन्। पहिलो अमेरिकी राष्ट्रपति जो बाइडेनले गत डिसेम्बरमा आयोजना गरेको लोकतन्त्र सम्बन्धी शिखर सम्मेलनमा नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको स्थिति र भावी कार्ययोजनाबारे छलफल गर्ने। 

दोश्रो, मानवअधिकार र संक्रमणकालीन न्यायका मुद्दाजस्ता विषयमा अमेरिकाको चासो देखाउने। मानवअधिकारका विविध विषय अन्तर्गत उनले यहाँस्थित तिब्बती शरणार्थीका अधिकारबारे उच्चतहमा छलफल गर्नसक्ने अधिकारीहरुको भनाइ छ। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले उज्रालाई गत डिसेम्बर २० मा तिब्बती मामिला हेर्ने विशेष संयोजक नियुक्त गरेका थिए। अमेरिकाका तर्फबाट तिब्बतीहरुको मानवअधिकार, उनीहरुको धार्मिक, भाषिक र सांस्कृतिक पहिचानका लागि लड्ने जिम्मा पनि उनको छ। 

त्यसैगरी प्रवासमा रहेका लगायत सम्पूर्ण तिब्बतीहरुको मानवीय आवश्यकता, तिब्बतसम्मको पहुँच बढाउँदै लैजान, तिब्बती पठारमा देखिएका वातावरणीय तथा पानी सुरक्षाका चुनौतीको अध्ययन गर्ने पनि उनकै जिम्मेवारी हो।

एमसीसीपछि बाक्लियो अमेरिकाबाट भ्रमण 
गत फेब्रुअरी अन्तिम साता नेपालको संसदबाट अमेरिकी सहयोग नियोग अन्तर्गतको ६० अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता अनुमोदन भएपछि अमेरिकी अधिकारीको भ्रमण बाक्लिँदो छ। 

विश्व राजनीतिका केही सवालमा देउवा सरकार र अमेरिकाबीच समान धारणा बनेको देखिन्छ। जस्तो नेपालले युक्रेन मामिलामा राष्ट्रसंघीय मञ्चहरुमा लिएको पोजिसन अमेरिका र युरोपेली मुलुकसँग नजिक छ। यसरी देउवा सरकारले अमेरिकासँग रणनीतिक मामिलामा लय मिलाएको टिप्पणी भइरहेकै बेला अप्रिल चौथो साता नेपालका आएका अमेरिकाका पाँच सांसदले युक्रेन मामिलामा नेपालको ‘पोजिसन’ को सराहना गरे। 

तसर्थ अमेरिकी अधिकारीको भ्रमणको निरन्तरताका रुपमा भ्रमण हुन लागेको भनिए पनि जियाको भ्रमणले भूराजनीतिक अर्थ राख्ने विज्ञहरु बताउँछन्। जिया एक दशकयता नेपाल आउने अमेरिकी विदेश मन्त्रालयकी उच्च अधिकारी हुनेछिन्। यसबर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सव पनि हो। दुई साताअघि अमेरिकी दूतावासले कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा देउवा र परराष्ट्रमन्त्री पनि सहभागी भएर अमेरिकासँगको सम्बन्धलाई उच्च महत्व दिएको सन्देश दिएका थिए। 

उपविदेशमन्त्री जियाले दलाई लामालाई भेट्ने
नयाँ दिल्लीमा जियाले  आजै भारतीय विदेशसचिव विनयमोहन क्वात्रासँग भेटिन्। भेटलाई उनले ‘क्षेत्रीय स्थिरता र हिन्द प्रशान्त क्षेत्रमा अमेरिका र भारतबीच रहेका साझा मानवीय तथा लोकतन्त्रका लक्ष्य थप सुदृढ गर्ने अवसर’ भनेकी छिन्।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार उपविदेशमन्त्री जियाले धर्मशाला पुगेर निर्वासित तिब्बती धर्मगुरु दलाई लामासँग भेट्ने कार्यक्रम छ। सन् २०२१ को जनवरीमा बाइडेन राष्ट्रपति भएयता अमेरिका र निर्वासित तिब्बती नेतृत्वबीच पहिलोपटक उच्चतहमा भेटवार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

जियाले दलाई लामा र चीन सरकारबीच संवादका गराउन भूमिका खेल्ने जिम्मेवारी पाएकी छिन्। उनले बाइडेन प्रशासनका तर्फबाट प्रवासी तिब्बतीका मामिलामा आफ्नो प्रतिबद्धता जनाउने भारतीय सञ्चारमाध्यमले लेखेका छन्। धर्मशालामा भारतले हजारौँ तिब्बतीलाई शरण दिइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .