राजनीति


सार्वजनिक स्थानमा आलोचना गर्दै हिँड्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन : अध्यक्ष नेपाल

सार्वजनिक स्थानमा आलोचना गर्दै हिँड्ने प्रवृत्तिलाई छुट दिन  सकिँदैन : अध्यक्ष नेपाल

नेपालखबर
असार ११, २०७९ शनिबार १३:१३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक स्थानमा आलोचना गर्दै हिँड्ने प्रवृत्तिलाई छुट दिन नसकिने प्रस्ट्याएका छन्।

काठमाडौँको नयाँ बानेश्वरस्थित कार्की ब्यान्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा उनले यस्तो बताएका हुन्।

कम्युनिष्ट पार्टीभित्र आलोचना र आत्मालोचना हुने भए पनि सार्वजनिक स्थानमा आलोचना गर्दै हिँड्ने प्रवृत्तिलाई छुट दिन नसकिने अध्यक्ष नेपालको जिकिर थियो।

‘कम्युनिष्ट  पार्टीभित्र आलोचना र आत्मालोचना हुन्छ। सिर्जनात्मक बहसका लागि छलफल, आलोचना र आत्मालोचना जरुरी हुन्छ,’ उनले भने, ‘तत्कालीन एमालेमा आलोचना र आत्मालोचना गर्न छोडिएको थियो। यसो भन्दैमा सार्वजनिक स्थानमा आलोचना गर्दै हिँड्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन।’

अब के कार्ययोजना लिएर जाने भन्ने कुरा बैठकले निर्देशन दिने पनि अध्यक्ष नेपालले बताए। देशभक्ति, लोकतन्त्रको झण्डा उठाउँदै अधिनायकवाद र विदेशी शक्तिका सामु नझुकेकै कारण नेपालमा कम्युनिष्ट पार्टी रहेको उनको भनाइ थियो। 

‘कम्युनिष्टभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भयो भने त्यस पार्टीले लोकतन्त्रको झण्डा बोक्यो भनेर मान्न सकिँदैन,’ अध्यक्ष नेपालले भने, ‘लोकतन्त्रको मूल्यमान्यता स्वीकार्न हामीलाई जनताको बहुदलीय जनवादले नै निर्देश गरेको छ।’ 

उनले नेकपा एमालेको अहंकारी प्रवृत्तिले देशमाथि नै कुठाराघात भएको आरोपसमेत लगाए।

‘एमालेमा आएको अहंकारी प्रवृत्तिले गर्दा देशमाथि नै कुठाराघात भयो,’ नेपालले भने, ‘अनि समाजवादको कुन नमूनालाई नेपालमा अवलम्बन गर्ने भन्ने विषयमा कहिल्यै छलफल भएन। वैचारिक मन्थन, जनताका एजेण्डालाई बेवास्ता गर्‍यौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .