ad ad

राजनीति


‘वर्ल्ड  एक्स्पो २०३०’ का लागि साउदी अरब र दक्षिण कोरियाले मत मागेपछि नेपाललाई सकस

‘वर्ल्ड  एक्स्पो २०३०’ का लागि साउदी अरब र दक्षिण कोरियाले मत मागेपछि नेपाललाई सकस

सन्तोष घिमिरे
असार २०, २०७९ सोमबार १०:५५, काठमाडौँ

दक्षिण कोरियाली वरिष्ठ कूटनीतिज्ञ हान दोङ् मन गत साता सुटुक्क नेपाल आएर फर्के। बुधबारदेखि शुक्रबार (१६–१८ असार) सम्म काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूसँग बेग्लाबेग्लै भेटवार्ता गरे। 

दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिनका बिशेष दूतको हैसियतमा अन्य दुई कोरियाली कूटनीतिज्ञ साथमा लिएर उनी काठमाडौँ आइपुगेका थिए ।  

विदेशी मुलुकका उच्चपदस्थ अधिकारीले नेपालको उच्च तहमा गरेका भेटघाटको तस्बिरसहितको संक्षिप्त जानकारी बाहिर ल्याउने सामान्य कूटनीतिक चलन हो। तर यी कोरियाली उच्च कूटनीतिज्ञको भ्रमण र भेटवार्तालाई प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले सार्वजनिक जानकारीमा ल्याउन चाहेनन्। 

अति ‘लो प्रोफाइल’ मा राखिएको दक्षिण कोरियाली बरिष्ठ कूटनीतिज्ञ मनको भ्रमणको मुख्य उद्देश्य एक अन्तराष्ट्रिय निर्वाचनमा नेपालको समर्थन हासिल गर्नका लागि थियो । 

जानकार अधिकारीहरुका अनुसार, उनले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँगको भेटवार्तामा सन् २०३० मा ‘वर्ल्ड एक्स्पो’ आयोजना गर्न दक्षिण कोरियाले अन्तर्राष्ट्रिय उम्मेदवारी दिएको र त्यसका लागि नेपालको समर्थन महत्वपूर्ण रहेको बताएका थिए । 

कोरियाली परराष्ट्रमन्त्रीका विशेष दूतको अनुरोधलाई नेपाली पक्षले सकरात्मक रुपमा लिएर ‘नोट’ मात्रै गरेको छ। कोरियाकै पक्षमा मतदान गर्ने वचन भने दिइसकेको छैन ।

दक्षिण कोरियाको दोस्रो ठूलो शहर बुसानमा सन् २०३० को मे ३१ देखि अक्टोबर ३१ भित्र ‘वर्ल्ड एक्सपो’ आयोजना गर्ने कोरिया सरकारको योजना छ। सोही योजना अनुसार कोरिया सरकारले तेह्र महिना अघि पेरिसमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी ब्युरो (बीआई) मा उम्मेदवारी दिइसकेको छ।

अन्तर्राष्ट्रिय प्रदर्शनी ब्युरो अन्तरसरकारी संगठन हो, जसले विश्वभर हुने अन्तर्राष्ट्रिय प्रदर्शनीको सुपरिवेक्षण तथा अनुगमन गर्ने गर्छ। उक्त अन्तरसरकारी संगठनमा नेपाल लगायत १७० देश सदस्य छन्। 

बीआईमा आवद्ध बहुसंख्यक सदस्य देशको समर्थन मिलेको खण्डमा पाँचमध्ये एक उम्मेदवार मुलुकले वर्ल्ड एक्स्पो आयोजना गर्न पाउँछ। 
‘ट्रान्सफर्मिङ् आवर वर्ल्ड, नेविगेटिङ टुवर्ड्स अ बेटर फ्युचर’ नारासहित उक्त ‘वर्ल्ड एक्सपो’ आयोजना गरी  विश्वको ध्यान तान्न दक्षिण कोरियाले त्यो अन्तर्राष्ट्रिय निर्वाचन जित्नुपर्ने हुन्छ। उक्त निर्वाचन मार्च २०२३ मा हुँदै छ। 

त्यही निर्वाचनमा अन्य चार मुलुकसँगै दक्षिण कोरिया पनि एउटा उम्मेदवार छ। ‘एक देश एक भोट’ को मान्यता अनुसार हुने अन्तर्राष्ट्रिय मतदानमा दक्षिण कोरियालाई नेपालको ‘एक भोट’ निर्णायक त नहोला, तर महत्वपूर्ण हुनेछ। 

चीन र जापान जस्ता शक्तिशाली छिमेकीसँगै आफूलाई एसियाको उदाउँदो अर्थतन्त्रका रुपमा अघि बढाउँदै गरेको दक्षिण कोरियालाई यस खालका ‘वर्ल्ड एक्सपो’ निकै महत्वपूर्ण हुनेछ। त्यसैले, यो निर्वाचन दक्षिण कोरियाका लागि निकै प्रतिष्ठाको बिषय बनेको छ । 

त्यसैले, उसले विशेष दूत नै खटाएर बिभिन्न देशमा आफ्ना लागि समर्थन मागिरहेको छ।  त्यसै क्रममा दक्षिण कोरियाली वरिष्ठ कूटनीतिज्ञ मन नेपाल आएर फर्केका हुन्। 

नेपालले दक्षिण कोरियालाई समर्थन दिने विषयमा परराष्ट्र मन्त्रालयले निर्णय गरिसकेको छैन । नेपालले निर्णय गरिनहाल्नुको कारण ‘वर्ल्ड एक्सपो’ आयोजनाका लागि साउदी अरेबियाले पनि उम्मेदवारी दर्ता गर्नु हो । दक्षिण कोरियाजस्तै नेपालले साउदी अरेबियासँगको सम्बन्धलाई पनि महत्व दिदै आएको छ ।  

सन् २०३० मा रियाद शहरमा ‘वर्ल्ड एक्सपो’ आयोजना गर्न साउदीले पनि जोडतोडले कूटनीतिक लविङ जारी राखेको छ। त्यसैक्रममा साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद गत चैत पहिलो साता नेपाल आएर फर्केका थिए । साउदी अरेबियाबाट परराष्ट्रमन्त्रीको तहको त्यो नै पहिलो नेपाल भ्रमण थियो। 

नेपालसँगको सम्बन्धलाई महत्व दिएर भन्दा पनि आफ्नो मुलुकको अहिलेको एउटा महत्वपूर्ण एजेन्डा वल्र्ड एक्स्पो आयोजना गर्न अन्तर्राष्ट्रिय निर्वाचनमा समर्थन जुटाउन उनी उच्च सरकारी दलबल सहित काठमाडाैं उत्रेका थिए। 

साउदी अरेबिया र दक्षिण कोरिया दुवै मुलुक नेपालका लागि महत्वपूर्ण मित्रराष्ट्र हुन् । यी दुवै एसियाली मुलुक नेपाली श्रमिकका प्रमुख गन्तव्य मुलुक पनि हुन्। 

साउदी अरबमा नेपालका ५ लाख बढी कामदार छन्। साउदी अरबसँग नेपालको औपचारिक श्रम सम्झौता भने छैन। 

दुरीका हिसाबले नजिक रहेको दक्षिण कोरियासँग नेपालको सबन्ध बृहत् छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत झन्डै पाँच लाख नेपालीले दक्षिण कोरियामा रोजगारी पाइरहेका छन्। 

यसरी हेर्दा साउदी अरब र दक्षिण कोरिया नेपालका लागि बराबरी महत्व राख्ने मुलुक हुन्। नेपालले अब यी दुईमध्ये एक मुलुकलाई रोज्नुपर्ने अप्ठेरो अवस्था सिर्जना भएको छ । 

साउदी अरबको पक्षमा मतदान गर्दा दक्षिण कोरिया दुःखी हुने, दक्षिण कोरियालाई मत दिँदा साउदी दुःखी हुनसक्ने स्थिति छ । 

त्यसो त, ‘वर्ल्ड एक्सपो’ आयोजनाका लागि उम्मेदवारी दिने मुलुकको सूचीमा युक्रेन, रुस र इटाली पनि छन्। युक्रेन—रुस युद्धमा देउवा नेतृत्वको सरकारले युक्रेनको पक्ष लिएको छ। 

तर, युद्धले ध्वस्त बनेको युक्रेनले वर्ल्ड एक्स्पो गर्ने सम्भावना छैन। अर्कोतिर राष्ट्रसंघ सुरक्षा परिषदको पाँच स्थायी सदस्यमध्ये एक रुसलाई नेपालले वर्ल्ड एक्स्पोमा समर्थन गर्ने सम्भावना छैन। 

अर्को मुलुक इटालीले अहिलेसम्म आफ्नो पक्षमा मतदान गरिदिन नेपालसँग अनुरोध गरेको छैन। त्यसकारण यी पाँच उम्मेदवारमध्ये नेपालले साउदी अरेबिया वा दक्षिण कोरिया एकको पक्षमा मतदान गर्नेछ ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .