ad ad

राजनीति


तेस्रो वरीयताका चिनियाँ नेता ली अर्को साता नेपाल आउँदै

चीनको संसद– राष्ट्रिय जनकंग्रेसका अध्यक्षको पहिलो नेपाल भ्रमण
तेस्रो वरीयताका चिनियाँ नेता ली अर्को साता नेपाल आउँदै

चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आउने तय भएको छ (एएफपी)


सन्तोष घिमिरे
भदौ १६, २०७९ बिहिबार २२:११, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता ली चान्सु अर्को साता नेपाल भ्रमणमा आउने भएका छन्। उच्च राजनीतिक र कूटनीतिक स्रोतहरूका अनुसार चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली भदौ २७ गते काठमाडौँ आउने तय भएको हो।

चिनियाँ कम्युनिस्ट पार्टी पोलिटिकल ब्युरोकोे स्थायी समितिका सदस्य ली राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा रहेका नेता हुन्। राष्ट्रिय जनकंग्रेस चीनको संसद् हो, जुन चीनको राष्ट्रिय नीति बनाउने मुख्य थलो हो। 

‘चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आउने तय भएको छ। भ्रमण कार्यक्रमका लागि चिनियाँ पक्षसँग परामर्श जारी छ,’ उच्च स्रोतले नेपालखबरसँग भन्यो।

सभामुख अग्नि सापकोटाको निमन्त्रणामा चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली नेपाल आउन लागेका हुन्। यद्यपि भ्रमणको औपचारिक घोषणा भइसकेको छैन।

चिनियाँ नेता ली तीनदेखि चार दिने भ्रमणमा नेपाल आउन लागेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनभन्दा एक महिनाअघि प्रभावशाली नेता ली नेपाल आउने भएका हुन्। कम्युनिस्ट पार्टी र चीनको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन अक्टोबरमा हुँदैछ।  

चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि नेपाल आउने वरिष्ठतम नेता ली नै हुनेछन्। सी असोज २५, २०७६ मा नेपालको राजकीय भ्रमणमा आएका थिए। उक्त ऐतिहासिक भ्रमणमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने सहमति भएको थियो। २३ वर्षपछि नेपालमा भएको चिनियाँ राष्ट्रपतिको आगमनलाई विश्वले नै विशेष चासोका साथ हेरेको थियो। 

लीको भ्रमणका लागि चिनियाँ पक्षसँग भएको परामर्श अनुसार गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो। 

संघीय संसद् सचिवालय र परराष्ट्रले चिनियाँ नेताको स्वागतको तयारी अघि बढाएका छन्।

‘केही दिनमा दुवै पक्षले भ्रमणको औपचारिक घोषणा गर्ने तयारी छ,’ परराष्ट्रका एक उच्च अधिकारीले नेपालखबरसँग भने। 

काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतले पनि राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लीको नेपाल भ्रमणको तयारी भइरहेको पुष्टि गर्यो। 

सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लीबीच गत चैत २५ गते भएको भिडिओ संवादमा निकट भविष्यमा भ्रमण आदानप्रदान गर्ने सहमति भएको थियो। त्यसलगत्तै सापकोटाले लीलाई कूटनीतिक च्यानलबाट औपचारिक निम्तो पठाएका थिए।

उच्चस्तरीय भेटवार्ता हुने 
भ्रमणमा रहँदा लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नेछन्। ली र सभामुख सापकोटाबीच औपचारिक भेटवार्ता हुनेछ। त्यसैगरी नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताले लीसँग भेटवार्ता गर्नेछन्। 

भ्रमण टोली कति सदस्यीय हुने भन्नेबारे चिनियाँ पक्षले जानकारी दिइनसकेको अधिकारीहरु बताउँछन्। तर चिनियाँ कम्युनिस्ट पार्टीका मन्त्री तथा विदेश विभाग प्रमुख लिउ चियन्छाओ लगायत केही नेताहरु तथा विदेश मन्त्रालयका अधिकारीहरु भ्रमण टोलीमा सहभागी हुने बताइएको छ। 

चीनबाट नेपालमा पहिलोपटक सभामुखको तहमा उच्चस्तरीय भ्रमणको गृहकार्य भएको हो। नेपाल र चीनका सांसदबीच भ्रमण आदानप्रदान भइरहेका थिए। तर कोरोना महामारीपछि त्यो क्रम रोकिएको छ। 

अमेरिकी सक्रियताबीच चीनबाट निरन्तर भ्रमण 
नेपालमा बढ्दो अमेरिकी प्रभावप्रति चीनले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको अवस्था छ। खासगरी नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन र रुस र युक्रेनबीचको युद्धका विषयमा राष्ट्रसंघीय मञ्चमा भएका अधिकांश मतदानमा युक्रेनको पक्षमा मत दिएपछि नेपाल कतै पश्चिमा खेमामा जान लागेको हो कि भन्ने भय चिनियाँ पक्षमा रहेको जानकारहरुको बुझाइ छ। 

अमेरिकाका तर्फबाट नेपालमा भ्रमण भइरहँदा चीनका तर्फबाट पनि हालैका महिनामा भ्रमण भइरहेका छन्। चीनको अरुचिबीच नेपालको संसदले एमसीसी पास गरेपछि गत चैत दोश्रो साता चीनका विदेशमन्त्री वाङ यी नेपाल आएका थिए। उनले अमेरिकाको बढ्दो प्रभावप्रति लक्षित गर्दै नेपाललाई कसैले भूराजनीतिक खेलमा तान्ने प्रयास गरे चीन प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएका थिए। 

वाङको भ्रमणपछि गत वैशाखमा अमेरिकाका पाँच सांसद नेपाल भ्रमणमा आएका थिए। त्यसपछि अमेरिकाका प्रभावशाली सैन्य कमान्डर चाल्र्स ए फ्लिनले नेपाल भ्रमण गरे। फ्लिनले नेपाली सेनालाई भरपर्दो जमिनी शक्तिको संज्ञा दिए। त्यस्तै उनले अमेरिकाको हिन्द–प्रशान्त सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालको सहभागितासम्बन्धी सम्झौता टुंग्याउन जोड दिए। तर सम्झौता विवादमा तानिएपछि सरकारले एसपीपीमा अघि नबढ्ने जानकारी अमेरिकालाई एक महिनाअघि दिइसकेको छ। एसपीपीमा अघि नबढ्ने नेपालको कदमको चीनले चाहिँ स्वागत गरिदियो। 

यसरी चीन र अमेरिका नेपाल मामिलामा पनि आमनेसामने भएका छन्। नेपालसँग जोडिएका मामिलामा अमेरिका खुसी हुँदा चीन दुःखी हुने र चीन खुसी हुँदा अमेरिका दुःखी हुने अवस्था सिर्जना भएको छ। 

यहीबीच चीन र अमेरिकाबीच विश्वका जल्दाबल्दा भूराजनीतिक मु्द्दामा सहकार्य भन्दा द्वन्द्व बढेको छ। ताइवानदेखि युक्रेन मामिलामा यी दुई शक्तिबीच मतान्तर छ। चीन र अमेरिकाबीच बढ्दो तनावको असर नेपालमै पनि परेको छ। यद्यपि नेपालले ताइवान मामिलामा एक चीन नीतिप्रति प्रतिबद्धता दोहोर्याएको छ। 

परराष्ट्रमन्त्री डा. नारायण खड्काले तीन साताअघि चीन भ्रमण गरेर एक चीन नीतिमा नेपालको अडान कुनै हालतमा परिवर्तन हुन नसक्ने भन्दै चीनलाई आश्वस्त तुल्याएका छन्। नेपाल सरकारका तर्फबाट चीनसँगको औपचारिक सम्बन्धलाई मात्रै नभएर चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धलाई पनि उत्तिकै महत्व दिएको सन्देश मन्त्री खड्काले दिएका थिए। 

नेपालपछि दक्षिण कोरिया जाने 
नेपाल भ्रमण सकेर चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली दक्षिण कोरिया भ्रमणमा जाने तयारी छ।

कोरियाली सञ्चारमाध्यमका अनुसार ली भदौ ३० गते राजधानी सोल पुग्ने छन्। उनले त्यहाँका राष्ट्रपति युन सक योलसँग भेटवार्ता गर्नेछन्। त्यहाँका नेसनल एसेम्बलीका सभामुख किम जिन प्योको निम्तोमा चिनियाँ नेता भ्रमणमा जान लागेका हुन्। 

को हुन् ली? 
ली २०७४ चैतमा चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको पोलिटिकल ब्युरोकोे स्थायी समितिको सदस्यमा नियुक्त भएका थिए। त्यसैगरी उनी चीनको १३ औँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष पनि निर्वाचित भएका थिए। उनी चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटिकल ब्युरोका सातजना स्थायी समिति सदस्यमध्ये एक हुन्। त्यसअघि उनी चिनियाँ कम्युनिस्ट पार्टीको १६ औँ र १७ औँ केन्द्रीय समितिमा वैकल्पिक केन्द्रीय सदस्य थिए। १८ औँ केन्द्रीय समितिले उनलाई सदस्यमा नियुक्त गरेको थियो। 

सन् १९५० मा चीनको हपेइ प्रान्तको पिङ्सानमा जन्मेका ली हान समुदायका व्यक्ति हुन्। सन् १९७५ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए। उनीसँग चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न प्रान्तीय कमिटिका महत्वपूर्ण पदमा रहेर काम गरिसकेको अनुभव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .