नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। आगामी ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापालाई क्षेत्रीय कार्यसमिति बैठकले सर्वसम्मत सिफारिस गरेको हो।
शुक्रबार (१७ भदौ) बसेको बैठकले थापाको एकल नाम सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले नेपालखबरलाई जानकारी दिए।
‘गगन थापाको नाम एकल सिफारिस भएको छ,’ संगतले भने, ‘सिफारिस भएका नामहरु आज औपचारिक रुपमा जिल्ला समितिमा पठाउँछौं,’
समानुपातिकमा राजु श्रेष्ठ , कर्मा छिरिङ, ध्रुव थापा, सीता दाहाल, रोहित पौडेल, राजाराम कपाली, पुरुषोत्तम दाहालको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए।
थापाको नाम कास्की १ बाट पनि सिफारिस भएको भएको थियो। उनले आफू काठमाडौं ४ बाटै उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।
थापा ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। ०७४ मा एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका बाबजुत पनि थापाले जित निकालेका थिए।
वाम गठबन्धनका तर्फबाट त्यतिबेला एमाले नेता राजन भट्टराई उम्मेदवार बनेका थिए।
थापाले २१ हजार ५ सय ५८ मत ल्याएर जित निकाल्दा भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका थिए।
Shares

प्रतिक्रिया