ad ad

राजनीति


पर्यटनमन्त्रीले गृहमन्त्रीलाई पत्र नै लेखेर सुरक्षागार्डलाई पक्राउन लगाए

पर्यटनमन्त्रीले गृहमन्त्रीलाई पत्र नै लेखेर सुरक्षागार्डलाई पक्राउन लगाए

हाल पर्यटनमन्त्री रहेका एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ


नेपालखबर
भदौ १९, २०७९ आइतबार १६:३७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आफूलाई लाइनमा बस्नुस् भनेर रोकेका एकजना  सुरक्षागार्डलाई गृहमन्त्रीलाई पत्र नै लेखेर पक्राउन लगाएको खुलेको छ।

काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन गएका बेला त्यहाँ कार्यरत गरुण सेक्युरिटी कम्पनीका सुरक्षागार्ड शेरजंग गुरुङले लाइनमा बस्न आग्रह गरेपछि मन्त्री श्रेष्ठ आक्रोशित भएका थिए।

शुक्रबार पीएसओसहित त्यहाँ पुगेका श्रेष्ठले आफूलाई रोक्ने सुरुक्षा गार्डलाई पक्राउन गृहमन्त्रीलाई लिखित पत्र नै लेखेको स्रोतले जनाएको छ।

लाइनमा बस्नुस् भन्दा मन्त्री हो भन्दै अगाडि बढ्न खोजेका उनलाई रोक्ने सुरक्षागार्ड गुरुङ अहिले दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा छन्। 

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरत बोहोराले माथिल्लो तहको निर्देशनअनुसार सुरक्षागार्ड गुरुङलाई हिरासतमा लिएर म्याद थप गरिएको बताएका छन्। 

आफूलाई सुरक्षा गार्डले रोकेकपछि रिसाएका मन्त्री श्रेष्ठले गृहमन्त्रालयलाई पत्र पठाउँदै सुरक्षा गार्डमाथि कारबाही गर्न भनेको खुलेको हो। 

मन्त्री श्रेष्ठको पत्रपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। त्यसपछि नक्सालले उपत्यका प्रहरी कार्यालय र काठमाडौं परिसर हुँदै दरबारमार्ग बृत्तसम्म उक्त निर्देशन पुगेपछि गुरुङलाई पक्राउ गरिएको हो। 

दरबारमार्ग बृत्तले आइतवार उनलाई पक्राउ गरेर म्याद थप गरेको छ। स्रोतका अनुसार छायाँ सेन्टरमा श्रेष्ठले आफू मन्त्री हो भन्दा पनि सुरक्षागार्डले सबैलाई नियम बराबर हुने भन्दै लाइनबाटै आएन भनेका थिए। 

त्यसपछि श्रेष्ठका पीएसओले पनि मन्त्रीज्यू हो भन्दै सम्झाउँदा पनि नियमबाट आफू तलमाथि नहुने जवाफ सुरक्षागार्डले दिएका थिए। 

त्यहीकारण सुरक्षागार्डले दुर्व्यवहार गरेको भन्दै मन्त्री श्रेष्ठले गृहलाई पत्र लेखेका थिए। ‘जाहेरी परेपछि हामीले सेक्युरिटी गार्डलाई पक्राउ गरेका हौं। थप कुरा अनुसन्धान हुन्छ, दुवै पक्षलाई सोधपुछ पनि गर्छौं’, बोहोराले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .