ad ad

राजनीति


झन्डै सयजनाको जम्बो टोलीसहित आउँदै चिनियाँ जनकंग्रेस अध्यक्ष ली

मन्त्रीस्तरका ६ र राज्यमन्त्रीस्तरका दुई नेता पनि
झन्डै सयजनाको जम्बो टोलीसहित आउँदै चिनियाँ जनकंग्रेस अध्यक्ष ली

सन्तोष घिमिरे
भदौ २१, २०७९ मंगलबार २३:१८, काठमाडौँ

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आगामी सोमबार नेपाल भ्रमणमा आउँदै छन्।

चीनका प्रभावशाली शीर्ष नेतामध्ये एक  ली झन्डै एक सयजनाको जम्बो भ्रमण दल लिएर सोमबार अपराह्न काठमाडौं उत्रनेछन्।

भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टी मन्त्रीस्तरका ६ जना, राज्यमन्त्रीस्तरका २ जना नेता र विदेश मन्त्रालयका अधिकारीलगायत रहने स्रोतले जनाएको छ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली नेपाल आउन लागेका हुन्। राष्ट्रिय जन कंग्रेस चीनको व्यवस्थापिका हो। जसले चीनको राष्ट्रिय नीति बनाउने गर्छ। 

नेता ली चिनियाँ कम्युनिस्ट पार्टीको प्रभावशाली पोलिटिकल ब्युरोका सातमध्ये एक स्थायी समिति सदस्य हुन्। उनी राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा छन्।

परराष्ट्र मन्त्रालय र संसद सचिवालयले चिनियाँ नेताको स्वागतका लागि तयारी तीव्र पारेका छन्। संघीय संसदका महासचिव भरतराज गौतमले चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षको भ्रमणका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताए।

चिनियाँ प्रभावशाली नेता ली चार दिनका लागि नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयले गत आइतबार सार्वजनिक गरेको भ्रमणको संक्षिप्त कार्यतालिका अनुसार नेपाल आएकै दिन भदौ २७ गते ली र सभामुख सापकोटाबीच द्विपक्षीय वार्ता हुनेछ।

‘भ्रमणका ठोस एजेन्डा छैनन्। तर यस भ्रमणमा द्विपक्षीय हितका सबै बिषयमा छलफल हुन्छ,’ अर्का एक सरकारी अधिकारीले भने।
भ्रमण तयारीका क्रममा चिनियाँ पक्षसँग परराष्ट्र अधिकारीले परामर्श जारी राखेका छन्।

नेपाल र चीनका व्यवस्थापिका बीचको सम्बन्ध विस्तार, नेपाल र चीनका शासन र सुशासनका अनुभव, सांसदबीच भ्रमण आदानप्रदान, जलवायु परिवर्तन, द्विपक्षीय राजनीतिक तथा आर्थिक सम्बन्ध, विगतमा भएका सहमति कार्यान्वयन र अन्तराष्ट्रिय परिस्थिति लगायत मुद्दामा सापकोटा र लीबीच छलफल हुने स्रोतले जनाएको छ।

चीनसँग सीमा जोडिएका जिल्लामा नेपाल र चीनबीच जलवायु परिवर्तनका असर कम गर्न आगामी दिनमा सहकार्य सुदृढ गर्नेबारे सभामुख सापकोटा र नेता लीबीच छलफल हुने स्रोतले बतायो।

नेपाल आएकै दिन ली र उनको भ्रमण दलको सम्मानमा सभामुख सापकोटाले रात्रिभोज दिनेछन्।

दुई संसदबीच एमओयु तयारी
स्रोतका अनुसार नेपाल र चीनका व्यवस्थापिकाबीच सहकार्य सुदृढ गर्नेसम्बन्धी एक समझदारीपत्र ९एमओयु० मा हस्ताक्षर गर्ने तयारी पनि गरिएको छ।

‘यस सम्बन्धमा अहिले चिनियाँ पक्षसँग छलफल जारी छ। सम्भवतः हस्ताक्षर हुन्छ होला,’ परराष्ट्र स्रोतले भन्यो।

अधिकांश भेटवार्ता संघीय संसद भवनमै
संघीय संसद स्रोतका अनुसार चिनियाँ नेता लीका अधिकांश भेटवार्ता र औपचारिक कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा गर्ने तयारी छ। चीन वा अन्य देशका उच्चपदस्थ अधिकारी यहाँ आउँदा नेपालका राजनीतिक दलका शीर्ष नेता उनीहरु बास बसेका राजधानीका होटलमै पुगेर भेटवार्ता गरेका उदाहरण बग्रेल्ती छन्।

‘होटलमा गएर हाम्रा नेताले विदेशीलाई भेट्ने चलन नै बसिसकेको छ। यसपाली अलिक राम्रो सन्देश दिन पनि चिनियाँ नेता र हाम्रा नेताको भेट संघीय संसद भवनमा गर्ने तयारी गरिएको छ’, भ्रमण तयारीमा संलग्न एक सरकारी अधिकारीले नेपालखबरसँग भने।

परराष्ट्रका मन्त्रालयका अनुसार चिनियाँ नेता लीको प्रधानमन्त्री शेर बहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भदौ २८ गते भेटवार्ता हुनेछ।

त्यही दिन चिनियाँ जनकंग्रेसका अध्यक्षले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट्ने तय भएको परराष्ट्रले जनाएको छ। 

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते शिष्टाचार भेट हुनेछ।

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनभन्दा एक महिनाअघि प्रभावशाली नेता लीको नेपाल यात्रा हुन लागेको हो।

चिनियाँ कम्युनिस्ट पार्टी र चीनको नयाँ राजनीतिक नेतृत्व चयन गर्ने महत्वपूर्ण मानिएको महाधिवेशन अक्टोबरमा हुँदैछ। जसले मुलुकको आन्तरिक तथा विदेश नीतिका सवालमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि नेपाल आउने वरिष्ठतम् नेता ली नै हुनेछन्। सी असोज २५, २०७६ मा नेपालको राजकीय भ्रमणमा आएका थिए। उक्त ऐतिहासिक भ्रमणमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने सहमति भएको थियो। २३ वर्षपछि नेपालमा भएको चिनियाँ राष्ट्रपतिको आगमनलाई विश्वले नै विशेष चासोका साथ हेरेको थियो।

ली नेपालको मात्रै यात्रामा निस्कन लागेका भने होइनन्।उनी चीनसँग सीमा जोडिएका एसियाका चार छिमेकी मुलुक रुस, मंगोलिया, नेपाल र दक्षिण कोरियाको भ्रमणमा छन्।

उनी बुधबार रुस पुग्दैछन्। त्यहाँ हुने इस्टर्न इकोनोमिक फोरममा उनले सहभागिता जनाउनेछन्। रुसपछि अर्को छिमेकी मंगोलिया जानेछन्। मंगोलियापछि उनी भदौ २७ गते काठमाडौ आउनेछन्। नेपालपछि दक्षिण कोरिया जाने तय भएको चिनियाँ सरकारी संचारमाध्यमले जनाएका छन्।

ताइवानदेखि युक्रेन मामिलामा विश्वका दुई शक्ति अमेरिका र चीनबीच भूराजनीतिक प्रतिस्पर्धा चुलिएका बेला चीनका सभामुख विदेश यात्रामा निस्कन लागेका हुन्।

सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लीबीच गत चैत २५ गते भएको भिडिओ संवादमा निकट भविष्यमा भ्रमण आदानप्रदान गर्ने सहमति भएको थियो। त्यसलगत्तै सापकोटाले लीलाई कूटनीतिक च्यानलबाट औपचारिक निम्तो पठाएका थिए। चीनबाट नेपालमा पहिलोपटक सभामुखको तहमा भ्रमण हुने भएको हो।

नेपाल र चीनका सांसदबीच भ्रमण आदानप्रदान भइरहेका थिए। तर कोरोना महामारीपछि त्यो क्रम रोकिएको छ।

को हुन् ली?
ली २०७४ चैतमा चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको पोलिटिकल ब्यूरोकोे स्थायी समितिको सदस्यमा नियुक्त भएका थिए। उनी चीनको १३ औँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष पनि निर्वाचित भएका थिए। उनी चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटिकल ब्युरोका सातजना स्थायी समिति सदस्यमध्ये एक हुन्।

त्यसअघि उनी चिनियाँ कम्युनिस्ट पार्टीको १६औँ र १७औँ केन्द्रीय समितिमा वैकल्पिक केन्द्रीय सदस्य थिए।

१८ औँ केन्द्रीय समितिले उनलाई सदस्यमा नियुक्त गरेको थियो। सन् १९५० मा चीनको हपेइ प्रान्तको पिङ्सानमा जन्मेका ली हान समुदायका व्यक्ति हुन्।

सन् १९७५ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए। उनीसँग चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न प्रान्तीय कमिटीका महत्वपूर्ण पदमा रहेर काम गरिसकेको अनुभव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .