ad ad

राजनीति


देउवाको गृहप्रदेशमा कांग्रेसलाई नौ सिट, कुन क्षेत्रमा कसलाई टिकट?

देउवाको गृहप्रदेशमा कांग्रेसलाई नौ सिट, कुन क्षेत्रमा कसलाई टिकट?

फाइल तस्बिर


केशव सावद
असोज १३, २०७९ बिहिबार १५:५९, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रतिनिधिसभाका ९ वटा निर्वाचन क्षेत्र पाउने भएको छ। 

पाँचदलीय गठबन्धनबीच भएको सहमतिअनुसार कांग्रेस सुदूरपश्चिमका १६ मध्ये प्रतिनिधिसभाका ९ निर्वाचन क्षेत्र पाउने भएको हो। 

सुदूरपश्चिमका ९ जिल्लाका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ क्षेत्र नेकपा माओवादी केन्द्र र ३ निर्वाचन क्षेत्र नेकपा एकीकृत समाजवादीले पाउने भएको छ। 

१६ मध्ये कांग्रेसले देउवाको गृहजिल्ला डडेल्धुरा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुला, सहमहामन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुरा र कार्यसम्पादन समिति सदस्य तथा पूर्व सिँचाइमन्त्री एनपी साउदको गृहजिल्ला कञ्चनपुरका २ र ३ नम्बर क्षेत्र कांग्रेसको भाग परेको छ। 

यस्तै कैलाली १, ४ र ५ तथा अछाम निर्वाचन क्षेत्र नम्बर २ पनि कांग्रेसको भागमा परेको कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदल सदस्य स्रोतले जानकारी दिएको छ। 

ती स्रोतका अनुसार कञ्चनपुर–१, बैतडी तथा कैलाली २ र ३ नेकपा माओवादी केन्द्रको भागमा परेको छ। 

यस्तै नेकपा एकीकृत समाजवादीको भागमा बझाङ र डोटी पर्ने निश्चित छ। अछाम–१ मा भने माओवादी केन्द्र र एकीकृत समाजवादी दुवैको दाबी छ। 

यद्यपि, उक्त क्षेत्र एकीकृत समाजवादीको भाग पर्ने सम्भावना बढी छ। अछाम–१ श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरको निर्वाचन क्षेत्र हो। एकीकृत समाजवादीले उक्त क्षेत्र मन्त्री कुँवरका लागि सुरक्षित गर्न चाहेको छ। 

कांग्रेसले डडेल्धुरामा प्रधानमन्त्री देउवालाई, दार्चुलामा मन्त्री बडूलाई, बाजुरामा सहमहामन्त्री पाण्डेलाई, कञ्चनपुर–२ बाट नेता साउदलाई र ३ नम्बर क्षेत्रबाट  अर्का नेता रमेश लेखकलाई उम्मेदवार बनाउने निश्चित छ। 

यस्तै कैलाली–१ मा केन्द्रीय सदस्य रामजनम चौधरी, ४ मा सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरलाई प्रतिनिघिसभा सदस्यका लागि उम्मेदवार बनाउँदैछ। 

कैलाली–५ मा केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले छाडेका कारण उम्मेदवारको टुंगो लाग्न बाँकी छ। 

अछाम–२ मा जिल्ला सभापति पुष्पबहादुर शाहको सम्भावना बढी भएको सुदूरपश्चिम कार्यसमितिका एक पदाधिकारीले बताए। 

ती पदाधिकारीका अनुसार उक्त क्षेत्रमा नेताहरु गणेशबहादुर विष्ट र बलबहादुर कुँवरले पनि आकांक्षा राखेका छन्। 

माओवादीको भागमा परेका चार क्षेत्रमध्ये कञ्चनपुर–१ बाट बीना मगर र बैतडीबाट नरेन्द्र कुँवर उम्मेदवार बन्ने पक्कापक्की छ। मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी हुन्। 

कञ्चनपुर–१ को पुनर्वास नगरपालिकामा पर्ने आबीआरडी बजारमा उनको माइतीघर पर्छ। कैलाली–२ र ३ मा भने माओवादीले उम्मेदवार तय गर्न बाँकी छ।  

एकीकृत समाजवादीको भागमा परेको बझाङमा भानुभक्त जोशी उम्मेदवार बन्ने सम्भावना रहेको स्रोतको दाबी छ। डोटीमा भने पूर्वमन्त्री प्रेम आलेले टिकट पाउने निश्चितप्रायः छ।

गठबन्धनबीच कांग्रेसले ८५ वा ८६, माओवादी केन्द्रले ४५ वा ४६, एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र पाउने सहमति जुटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .