ad ad

राजनीति


चुनावमा ओलीले फकाउन खोजेका यी दुई पात्र

चुनावमा ओलीले फकाउन खोजेका यी दुई पात्र

केशव सावद
कात्तिक ५, २०७९ शनिबार १५:३२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी परित्याग गरिसकेका छन्। उनले पार्टीमा ओलीको दम्भ र स्वेच्छाचार बढ्दै गएको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन्।

सुदूरपश्चिमका उच्च तहका नेता भीम रावललाई जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरे पनि टिकट पाएनन्। उनले गत मंसिरमा सम्पन्न १० औं महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका थिए। 

अध्यक्ष ओलीले आफूलाई प्रतिनिधिसभा निर्वाचन लड्न वञ्चित गरे पनि नेता रावलले पार्टी त परियाग गरेनन्। तर, उनीमाथि २० बुँदे आरोप लगाउँदै संगीन प्रश्नहरु सोधे। मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा उम्मेदवारी रोकिएपछि रावलले आफ्नो धारणा भन्दै १५ पृष्ठ लामो प्रेस नोट जारी गरेका थिए। 

एमालेमा लामो समयदेखि आवद्ध भएर योगदान पुर्याएका नेताहरुलाई टिकट नदिएर पार्टीको आधिकारिक उम्मेदवारका रुपमा चुनाव लड्न वञ्चित गरेका तिनै ओलीले अन्य पार्टीबाट भने केही चर्चित अनुहार भित्र्याउन खोजेको पाइएको छ। 

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आवद्ध चर्चित अभिनेत्री रेखा थापा र नेपाली कांग्रेसमा आवद्ध अर्थविद् डा. स्वर्णिम वाग्लेलाई एमालेमा भित्र्याएर टिकट दिन खोजेको पाइएको हो। 

अध्यक्ष ओलीले गत भदौ दोस्रो साता रेखालाई आफ्नै निवास बालकोट (भक्तपुर) बोलाएर ‘फकाउन’ खोजेका थिए। उनले रेखालाई एमालेमा प्रवेश गरेर मोरङमा निर्वाचन लड्न आग्रह गरेका थिए। 

‘तपाईंजत्तिको मान्छे संसदमा आउनुपर्छ,’  रेखासँगको भेटमा अध्यक्ष ओलीले भनेका थिए,  ‘एमालेमा लागेर चुनाव लड्नुस्।’

रेखाले ओलीको प्रस्ताव स्वीकार गरिनन्। प्रस्ताव अस्वीकार भएपछि ओलीले राप्रपासँग चुनावी तालमेल हुने भएकाले रेखालाई मोरङ–६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न संकेत गरेका थिए।

तर, रेखा एमालेसँगको चुनावी तालमेलबिनै मोरङ ३ बाट राप्रपाको उम्मेदवार बनेकी छिन् । स्थानीय चुनावमा राम्रो मत पाएको एमालेका लागि मोरङ ३ मा रेखा थापा चुनौती बन्न पुगेकी छिन् । त्यहाँ एमालेका भानुभक्त ढकाल, कांग्रेसका सुुनील शर्मा र राप्रपाकी थापाबीच प्रतिस्पर्धा हुँदैछ ।  

यस्तै, एमाले अध्यक्ष ओलीले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई पनि फकाउने प्रयास गरेका थिए। आफूले कांग्रेसबाट टिकट नपाएपछि फकाउन खोजेको स्वयम् वाग्लेले खुलासा गरेका छन्। काठमाडौंको बत्तिसपुतलीमा शनिबार आयोजित युवासँगको छलफल कार्यक्रममा वाग्लेले आफूलाई ओलीले ‘अफर गरेको दाबी गरे। 
 
‘टिकटको आकांक्षी थिएँ, नपाएपछि मलाई नेकपा एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो,’  वाग्लेले भने,  ‘यो कुरा म आज भन्न सक्छु।’

उनले आफूलाई ओलीले काठमाडौं–७ बाट उम्मेदवार बन्न समेत आग्रह गरेको जिकिर गरे।  

‘काठमाडौं–७ बाट चुनाव लड्नुस्, हामी सहयोग गर्छौं। त्यहाँ कांग्रेसको उम्मेदवार पनि छैन,’ उनले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘नेकपा एमालेले तपाईंलाई सहयोग गर्छ, तपाई शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो।’

कुनै पार्टीले आफूले मागेका बेलामा टिकट दिएन भनेर ‘रियाक्सन’ गर्दा परिपक्व राजनीति गर्न नसकिने भन्दै उनले आफू तीनपुस्ते कांग्रेस भएका कारण एमालेमा नगएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .