जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहले मधेशी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसङ्ख्यक लगायत समुदायको आरक्षणको सुनिश्चित गरेको बताएका छन्।
सप्तरीको राजविराजमा ब्यापारी व्यवसायी, मदरसामा मुस्लिम समुदायका अगुवा, देउरी भरुवा कार्यकर्ता भेला सहितका कार्यक्रमहरुलाई शनिबार सम्बोधन गर्दै उनले यसो भनेका हुन्।
मधेशी जनता अधिकारबाट वञ्चित रहेकोले अझै लडाइँ बाँकी रहेको उनले बताए।
शोषित, उत्पीडित एवम् विभेदमा पारिएको जनताको हक अधिकार स्थापित गराउन पनि मधेशी जनअधिकार फोरम नेपालले बिगुल फुकेको उनले बताए।
‘मधेशी जनतालाई अधिकार दिने पक्षमा कांग्रेस र कम्युनिष्टले चाहेका थिएनन्, जनविद्रोहको बलमा मात्रै उत्पीडित समुदायको आरक्षणको सुनिश्चितता भएको हो, र थप अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष जारी छ,’ उनले भने।
जनआन्दोलनपछि जारी भएको संविधानमा मधेशी, आदिवासी, जनजाति, दलित, महिला, पिछडावर्ग, थारु लगायत विभेदमा पारिएकाको अधिकार सुनिश्चित नगरिएपछि संविधान जलाएर क्रान्तिको बिगुल फुकेको पनि उनले बताए।
त्यसो गर्ने तत्कालीन मधेशी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी नै भएको उनले दाबी गरेको।
मधेश आन्दोलनकै कारण नेपालमा मधेशी समुदाय रहेको कुरा संसारले चिनेको उनले बताए।
‘देशमा गणतन्त्र, संघीयता, समावेशिता र आरक्षणको अधिकार दिलाउने पार्टी जसपा नै हो', सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार यादवले भने, 'संघीयता स्थापित गराउन अझै बाँकी रहेकोले जसपा आफ्नो मुद्दाबाट रत्तिभर विचलित नभई संघर्ष जारी रहन्छ।’
जनसंख्याको आधारमा मधेशीलाई भागिदारी चाहिएको बताउँदै जसपा अध्यक्ष यादवले मधेशमा मधेशीको, लिम्बुवानमा लिम्बुको, किराँतको भूमिमा किरातीको, तमुवानमा तामाङको र हिमालमा शेर्पाको अधिकार स्थापित गर्न संविधान संशोधन आवश्यक रहेको यादवले बताए।
मधेशबाट गरिबी, बेरोजगारी लगायतका समस्याहरु समाधान गर्न आर्थिक विकास आवश्यक रहेको चर्चा उनले गरे।
‘त्यही सोचकासाथ मैले रोल मोडेलको रुपमा सप्तरीमा स्वास्थ्य, शिक्षा, सडक, कृषि लगायतका क्षेत्रमा कामहरु अगाडि बढाएको छु’, उनले भने।
कार्यक्रममा पार्टीका नेता समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रीय प्रवक्ता मनिष सुमन, नेता विकासकुमार तिवारी, नेत्रविक्रम साह, किरण साह लगायत नेताहरुले पनि बोले।
Shares
प्रतिक्रिया