सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा घर्किंदै जाँदा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरु बालुवाटार पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन्। सो समयसीमा नजिकिँदै गर्दा कांग्रेस सांसदहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका हुन्।
स्रोतले प्रधानमन्त्री देउवाले भेला डाकेका कारण कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरु बालुवाटार पुगेका दाबी गरेको छ। तर, बालुवाटारले भने प्रधानमन्त्रीबाट औपचारिक रुपमा सांसदहरुको भेला नडाकिएको स्पष्ट पारेको छ।
‘केही सांसदज्यूहरुले भेट्न खोज्नुभएको हो। उहाँहरु आउँदै प्रधानमन्त्रीज्यूलाई भेट्दै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले नेपालखबरसँग भने, ‘औपचारिक रुपमा कुनै पनि भेला बोलाइएको होइन।’
प्रधानमन्त्री देउवानिकट भक्तपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले पनि बालुवाटारमा भेला डाकिएको बारेमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
बालुवाटारमै रहेका कञ्चनपुर–२ बाट निर्वाचित अर्का प्रतिनिधिसभा सदस्य एनपी साउदले पनि बालुवाटारमा कुनै भेला नडाकिएको दाबी गरेका छन्। भेलाबारे नेपालखबरको जिज्ञासामा उनले भने, ‘छैन–छैन। कुनै भेला डाकिएको छैन।’
Shares
प्रतिक्रिया