राजनीति


रविले नागरिकता लिएसँगै बालुवाटारमा ओली-प्रचण्ड, छलफलको एजेन्डा गृहमन्त्रालय

रविले नागरिकता लिएसँगै बालुवाटारमा ओली-प्रचण्ड, छलफलको एजेन्डा गृहमन्त्रालय

बालुवाटारमा भेटवार्ता गर्दै ओली र प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
माघ १५, २०७९ आइतबार १७:०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ। 

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई शुक्रबार अनागरिक ठहर गरेसँगै सत्ता साझेदार दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामछिाने नागकिरता विवादमा परेर पद गुमाएपछि नयाँ गृहमन्त्रीको खोजी सुरु भएको छ।

सर्वोच्चले अनागरिक ठहरसँगै उपप्रधान तथा गृहमन्त्री लामिछानेले शुक्रबार नै राजीनामा दिएका थिए। यस्तोमा देशभरको आन्तरिक सुरक्षा प्रशासन हाँक्ने नयाँ गृहमन्त्रीको खोजी भइरहेको छ।

रविले राजीनामा दिए पनि रास्वपाले गृहमन्त्रालय आफूहरुले नै पाउनुपर्ने अडान लिएको छ। रविको राजीनामापछि अहिले गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन्।

गत पुस १० गते सत्ता साझेदारबीच भागबन्डाका क्रममा रविले गृह नपाएसम्म सरकारमै नजाने अडान लिएका थिए। 

गृह नदिए सरकारमै नजाने रविको अडानपछि ओली र प्रचण्डको सल्लाहमा उक्त जिम्मेवारी दिइएको थियो। तर रविले पद गुमाएपछि प्रधानमन्त्री प्रचण्डले गृह कसलाई दिने भन्ने निर्णयमा पुगेका छैनन्।

२०५० मा लिएको नागरिकता लिन निस्सा दिएपछि आइतवार जिल्ला प्रशासन काठमाडौंबाट रविले नेपाली नागरिकको हैसियता प्राप्त गरिसकेक छन्। 

यस्तोमा रास्वपा संसदीय दलको नेताको पद पनि गुमाएका रवि ६ महिनाका लागि गृहमन्त्रीमा फर्किन सक्ने बाटो यथावत छ। तर उनलाई गृहमा फर्काएर ६ महिनाभित्र उपनिर्वाचनबाट सांसदमा नआए उनको संविधानत: फेरि जानेछ।

यो विवादबीच ओली र प्रचण्ड भावी गृहमन्त्रीको टुंगो गर्न जुटेका हुन्। यसअघि सरकारको नेतृत्वकर्ता दलले नै गृहमन्त्रालय लिने चलन थियो। तर सत्ता भागबन्डा मिलाउँदा यस पटक गृह रविले लिएका थिए।

तर यस पटक गृह आफैं राख्ने योजनामा प्रधानमन्त्री छन्। उता ‌ओलीलाई भने गृह रास्वपालाई नै दिनुपर्ने दबाब छ। यो तनावबीच ओलीले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गर्दैछन्। 

यो भेटमा यही महिना अन्तिम साता हुने भनिएको राष्ट्रपतिको निर्वाचनबारे पनि कुरा हुने बताइएको छ। माओवादीले गत पुस १० गते एमालेसँग भएको सहमतिबाहिर गएर राष्ट्रिय सहमतिको व्यक्ति राष्ट्रपतिमा खोज्नुपर्ने बताइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .