राजनीति


एमाले पर्वत अधिवेशन : कानुनमन्त्री पदम गिरी एकातिर, बाँकी नेताहरू अर्कोतिर

एमाले पर्वत अधिवेशन : कानुनमन्त्री पदम गिरी एकातिर, बाँकी नेताहरू अर्कोतिर

अध्यक्षका प्रत्यासीद्वय नेता


वाशुदेव मिश्र
चैत २८, २०८० बुधबार १४:२१, पोखरा

नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनको उद्घाटन गर्न पार्टीका उपाध्यक्ष विष्णु पौडेल मंगलबार पर्वत पुगे। 

उद्घाटनमा उनले अध्यक्ष केपी शर्मा ओलीबिनाको एमाले कल्पना गर्न नसकिने भन्दै आफू चुनौती दिने पक्षमा नरहेको सन्देश प्रवाह गरे। 

उनीसँगै त्यहाँ पुगेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवम् गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पनि त्यहाँ एमालेको सामर्थ्यबारे मन्तव्य व्यक्त गरे।

अधिवेशन भएकाले यहाँ नेताले के बोल्छन् भन्दा पनि कसको पक्षमा आफूलाई प्रस्तुत गर्छन्, भित्रियाहरूलाई के निर्देशन दिन्छन् भन्नेमा धेरैको ध्यान थियो। 

तर,सार्वजनिक मञ्चमा बोल्ने भनेको, ‘सकेसम्म सर्वसम्मत र नसके स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने’ भन्ने नै थियो। 

नेताहरूले त्यस्तै अभिव्यक्ति दिए। गृहजिल्लाको एमाले अधिवेशनमा संघीय कानुनमन्त्री पदम गिरी सहभागी  नहुने कुरै भएन। 

केन्द्रीय नेताहरू सहभागी उद्घाटन सत्रभन्दाअगाडि नै गृहजिल्ला पुगेका पदमको खास ध्यान आफूअनुकूल नेतृत्व ल्याउनुमै थियो। 

बुधबार अधिवेशनअन्तर्गतको बन्दसत्र सुरु हुनुभन्दा अगाडिसम्म पनि उनी त्यही ध्याउन्नमा छन्।

अहिले त्यहाँ वर्तमान अध्यक्ष राजुप्रसाद पौडेल र सचिव गोविन्द गिरी पहाडीले अध्यक्षमा आंकाक्षा देखाएका छन्। 

आइपरे प्रतिस्पर्धा नै गर्नेगरी उनीहरू तम्तयार छन्। सचिव गोविन्दले कानुनमन्त्री पदम गिरीको आड–भरोसा पाएका छन्।

त्यसो त अहिलेका उपाध्यक्ष पदमपाणि शर्मा पनि दौडमा सामेल छन्। तर,एमाले स्रोतका अनुसार सर्वसम्मतिको नारा दिएर राजु पौडेललाई नै अध्यक्ष बनाउँदा उनी प्रतिस्पर्धाबाट बाहिरने मुडमा छन्। 

र, सर्वसम्मतिको नाममा वर्तमान अध्यक्षलाई नै निरन्तरता दिनुपर्ने निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि मत छ। 

उद्घाटन सत्रमा सहभागी नभए पनि तिमिल्सिना वर्तमान कानुनमन्त्री गिरीको दबदबा अन्त्य चाहन्छन्। उनको त्यो अभियानलाई भर्खरै गण्डकीका पर्यटनमन्त्री भएका विकास लम्सालसहितको पनि साथ छ। 

किन यसो त? पर्वत एमालेको राजनीति बुझ्न केही अगाडिको घटनाक्रम थाहा पाउनुपर्ने हुन्छ।  

वर्तमान कानुनमन्त्री पदम गिरी कुनै समय पोखरास्थित पृथ्वीनारायण क्याम्पसको विद्यार्थी राजनीति गर्थे। पर्वतमा गणेश तिमिल्सिना,पदमपाणि शर्माहरूकै बोलबाला थियो। 

कतिसम्म भने गण्डकीका अन्य जिल्लामा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको जगजगी हुँदा पनि पर्वतमा माधव नेपाल समूह बलियो थियो। 

कानुनमन्त्री पदम गिरी

माधव नेपाल समूहलाई तह लगाउने अभियान सुरु हुँदा पदमले पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापतिको रुपमा चर्चा पाइसकेका थिए। 

स्ववियू सभापति र अखिलको केन्द्रीय नेता भइसकेका उनले भूगोल रोजे। सोझै जिल्ला समितिमा प्रवेश पाए। विकास लम्साल अध्यक्ष हुँदा उनी जिल्ला समितिमा पुगेका थिए। 

विकासले माधव नेपालपक्षीय मेघनाथ सुवेदीलाई हराएका थिए। जिल्ला समितिमै रहँदा ओली पक्षबाट उनलाई अध्यक्षमा लडाउने निधो गर्‍यो। 

र, उनी वर्तमान अध्यक्ष राजु पौडेलविरुद्ध मैदानमा उत्रिए। एकले अर्कालाई नमान्ने र आफू–आफूमा लड्दै आएका समूहबीच प्रतिस्पर्धामा उत्रिँदा पदमलाई फाइदा भयो। 

उनी सानै उमेरमा पर्वत अध्यक्ष बने। अध्यक्ष बनेपछि त उनलाई हुनु भयो। २०७४ सालको संघीय चुनावमा उनले कांग्रेस नेता अर्जुन जोशीलाई हराए। 

पर्वतमा खम्बा गाडेको मानिएका अर्जुनप्रसाद जोशीलाई हराएपछि पदमको उचाइ एकाएक बढ्यो। उनी शक्तिशाली बने। 

कांग्रेसले २०७९ को आम निर्वाचनमा पनि अर्जुनलाई नै उम्मेदवार बनायो। कांग्रेसभित्रको गुट–उपगुटको फाइदा फेरि पदमले नै पाए। 

गठबन्धनका उम्मेदवार अर्जुनलाई हराउँदै दोस्रोपटक संसद छिरेका उनी प्रमुख सचेतकहुँदै हाल कानूनमन्त्री छन्। 

पदमको उदयले त्यहाँका धेरै नेताहरू पछि परे। कतिसम्म भने राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिनादेखि हिजो एउटै समूहमा रहेका विकास लम्साल र माधव नेपाल समूह रहेकालाई पनि पदम ‘खतरा’ बनिदिए। 

पदमले पनि आफैंलाई केन्द्रमा राख्दै समूह निर्माण गर्न थाले। जसले गर्दा हिजो माधव नेपाल समूहबाट पेलिएका ठान्ने र हिजोका माधव नेपाल समूह भनेर अहिले पेलाइमा पारिएकाहरू एउटै ठाउँमा उभिने वातावरण बन्यो। 

अर्थात् गणेश तिमिल्सिना, केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कल्पना चापागाईं, पूर्वमन्त्री तथा संविधानसभा सदस्य विकास लम्साल, प्रदेश सांसदहरू मित्रलाल बस्याल र भक्त कुवँरसहितका राजु पौडेलहरू एउटै ठाउँमा उभिए। 

कुनैबेला पदम गिरी निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विकास लम्सालको कति नजिक थिए भने, उनीहरूले माधव समूहको मेख मार्न पदमलाई सदस्यबाट सोझै अध्यक्ष बनाएका थिए।

त्यस बखत उपाध्यक्ष रहेका राजु पौडेलाई अध्यक्ष बन्नबाट रोके। पदम गिरीलाई अध्यक्ष बनाउन विकास लम्सालले माधवकुमार नेपाल उपस्थित हुँदा पनि अधिवेशन स्थगित गरेर पछि सारेका थिए।

यो हदसम्म गरेर स्थापित गराएका पदम एक्लै हिँड्न थालेपछि हिजोको माधव समूह र हिजोका किङमेकरहरु एकठाउँ हुने परिस्थिति निर्माण भयो।

यो चुनावमा उनीहरू एकै ठाउँमा छन्। र, प्रतिस्पर्धा पदम र यो समूहबीच हुँदैछ। पदमलाई गण्डकीको राजनीतिसँग जोडेर हेर्ने हो भने उनी स्थायी कमिटी सदस्य खगराज अधिकारीनिकट हुन् भने विकास लम्सालहरू अहिले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समूहमा छन्। 

दोहोरिन खोजेका राजुप्रसाद र अध्यक्ष  हुन चाहने गोविन्द गिरी पहाडीसमूह एकले अर्कालाई छाड्न तयार देखिएको छैन। 

जसले गर्दा चुनाव हुने पक्कापक्कीजस्तै छ। त्यस्तो अवस्थामा फलेवास नगरपालिकाका पूर्वप्रमुख तथा हालका उपाध्यक्ष पदमपाणि शर्माले शिव पौडेललाई नै सघाउने र आफू पक्षधर जीवन उच्चै ठकुरीलाई सचिव र देवी तिमिल्सिनालाई उपससचिवमा उम्मेदवार बनाउन तयारी भएको स्रोतले बतायो। 

उक्त समूहबाट उपाध्यक्षमा शिव शर्माले आकांक्षा देखाएका छन्। अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष तथा फलेबास नगरपालिकाका पहाडीको समूहबाट उपाध्यक्ष बिमल लामिछाने, सचिवमा सुवासचन्द्र पौडेल र उपसचिवमा चण्डी भुर्तेल तथा कमला पन्तको चर्चा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .