राजनीति


‘बुद्ध प्रतिमा’लाई पृष्ठभूमिमा राख्दै प्रचण्डले यसरी सम्झे शान्ति सम्झौता भएको दिन

‘बुद्ध प्रतिमा’लाई पृष्ठभूमिमा राख्दै प्रचण्डले यसरी सम्झे शान्ति सम्झौता भएको दिन

नेपालखबर
मंसिर ५, २०८१ बुधबार ११:३१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बुद्ध प्रतिमा’लाई पृष्ठभूमिमा राखेर विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरण गरेका छन्।

तत्कालीन विद्रोही माओवादीका ‘सुप्रिमो’ प्रचण्डले विस्तृत शान्ति सम्झौता भएको दिन आज मंसिर ५ गते सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत भिडिओ सन्देश जारी गरेका हुन्। जसमा उनका पछाडि बुद्धका प्रतिमा देखिन्छन्। 

सन्देशमा सुरुमै भनेका छन्,‘आज मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन। सात राजनीतिक दलको तर्फबाट तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तात्कालीन नेकपा माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेको दिन। यो विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला हो। यहीँबाट नयाँ युगको सूत्रपात भएको मान्न सकिन्छ। यसैले आजको दिन सबैले स्मरण गर्नुृपर्ने, हामी सबैले सम्मान गर्नुपर्ने दिन हो।’

प्रचण्डले भिडिओ सन्देशमा जनयुद्ध, २०६२/०६३ को आन्दोलन, मधेस आन्दोलनसहित परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको स्मरण गर्दै सहिद, बेपत्ता र घाइतेहरूको योगदानको पनि स्मरण गरेका छन्। शान्ति सम्झौताको मुलभूत आधारअनुसार नै यसलाई टुंग्याउने दिशामा अगाडि बढेको चर्चा गर्दै उनले आफूले नेतृत्व गरेको सरकारकै बेला सत्य निरुपण तथा बेपत्तासम्बन्धी विधेयलाई अन्तिम रूप दिइएको र त्यो काम निष्कर्षतिर जान लागेकाले खुसी लागेको बताएका छन्। 

उनले अगाडि भनेका छन्, ‘हाम्रो प्रतिबद्धता के हो भने शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर शान्तिको एउटा नयाँ मोडल प्रस्तुत गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ।’

 भिडिओ सन्देशको अन्त्यमा प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत जनताले जे अपेक्षा गरेको हो त्यस्तो हुन सकेन भन्ने गुुुनासो रहेको स्वीकारेका छन्। 

अपिल गर्दै उनले भनेका छन्,‘ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न पनि सबैमा हार्दिक अपिल गर्दछु।’

२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीका तर्फबाट प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। भिडिओ सन्देशमा शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गरेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद र प्रचण्डको तस्बिर पनि छ।

हेर्नुहोस् प्रचण्डको भिडिओ सन्देश-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad