आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले नै भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन्।
आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज पर्साको निचुटामा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले मुलुकमा भ्रष्टाचार र घुसखोरी बढदै गईरहेको र त्यसलाई सरकारले संस्थागत गरिरहेको आरोप लगाएका हुन्।
उनले भ्रष्टाचारी र घुसखोरलाई जनताले नै जनकारबाही गर्नुपर्ने बताए।
प्रतिनिधि सभाका सांसदसमेत रहेका साहले भने, ‘गाउँघरमा चोर भेट्दा प्रहरीलाई खबर गर्नुभन्दा अघि जनताले त्यसको रामधुलाई गर्छन्। यहाँ घुसखोर, भ्रष्टाचार गर्नेलाई पनि त्यस्तै जनकारकाही गर्नुपर्छ। पहिला रामधुलाई गर्ने अनि प्रहरीलाई खबर गरेर बुझाउनुपर्छ।’
मुलुकमा विभिन्न ठुलठुल्ला भ्रष्टाचारका काण्ड बाहिर आए पनि सरकारले भ्रष्ट, लुटेरालाई अझै कारबाही नगरेको उनले बताए ।
गीरिबन्धु, ललिता निवास प्रकरण, भुटानी शरणार्थी, टेरामक्स, वाईडवडीदेखी लिएर विभिन्न घोटाला र भ्रष्टाचारका काण्ड बाहिर आएको भए पनि सरकारले कारबाही नगरी संरक्षण गरेको आजपा अध्यक्ष साहले आरोप लगाए।
आजपा पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा सम्पन्न ‘भ्रष्टाचार विरुद्धको मधेस यात्रा’ कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षद्वय समिना हुसेन, अशोक लामा, महासचिव त्रिभुवन साह लगायतको सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन्।
Shares

प्रतिक्रिया