असार २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भयो। चुनाव नजिकिँदै गर्दा छिटो संगठन विस्तार गर्नुपर्ने दबाबमा थियो रास्वपा। यही क्रममा सोही वर्षको भदौमा काठमाडौँ–१६ मा पार्टीको वडा कार्यालय खोल्न घर खोजिरहेको थियो।
कोठा खोज्दै हिँडिरहेको रास्वपाको टोली बालाजुस्थित रोजिना श्रेष्ठको घरमा पुग्यो। रोजिनाले खाली फ्ल्याट रास्वपालाई कार्यालय खोल्न दिइन्।
रोजिनालाई राजनीतिमा लाग्ने कुनै रहर थिएन। उनी हार्डवेयर व्यवसायमा व्यस्त थिइन्। तर, त्यस घटनाले उनको जिन्दगीमा ठूलै घुम्ती ल्याइदियो।
‘एक दिन मिटिङ भइरहेको समयमा म पुगेको थिएँ, घरबेटी उहाँ नै हो भन्नुभयो। हो भन्ने थाहा पाएपछि ल घरबेटी पनि सदस्य बन्नुपर्यो भन्नुभयो,’ रास्वपा प्रवेश गर्दाको घटना सुनाइन् रोजिनाले, ‘मैलेचाहिँ खास नबन्ने भनेको थिएँ, समय दिन सक्दिनँ, मेरो आफ्नै व्यापार व्यवसाय छ भन्दा उहाँहरूले समय दिनुपर्दैन तर सदस्यचाहिँ बन्नु न भन्नुभयो।’
समय दिनुपर्दैन भने पनि हप्ताहप्तामा बैठकमा गइरहनुपर्ने, पार्टीको काममा हिँड्नुपर्ने हुन थाल्यो। हेर्दाहेर्दै उनको समय घरपरिवारमा कम, पार्टी राजनीतिमा बढी खर्च हुन थाल्यो।
त्यसपछि उनी टोलछिमेकमा स–साना समस्या परे पनि समाधानमा जुट्न थालिन्। ज्येष्ठ नागरिक, महिलालगायतका स्थानीय नागरिकले सरकारबाट पाउने सुविधाका विषयमा उनी सबैलाई जानकारी गराउँथिन्। कसैले कुनै सुविधा पाएन भने के कारणले नपाएको भन्ने बुझ्थिन् र आवश्यक सहयोग गर्थिन्।
‘वडाबाट हुने विभिन्न काम हुन्छ, जुन धेरैलाई थाहा पनि हुँदैन। मैले थाहा पाएको कुरा घरघरमा गएर उहाँहरूलाई भन्थेँ। ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा हुन्छ भन्ने कुराजस्ता धेरै सेवाबारे जानकारी गराउँथेँ, वडामा गएर कतिको काम गरिदिन्थेँ,’ रोजिना भन्छिन्, ‘त्यति सानो काम गर्दा पनि उहाँहरू कत्ति धेरै खुसी हुने, यो बहिनीले हामीलाई कति धेरै सहयोग गर्यो भन्ने, त्यसरी नै टोलमा सबैसँग जोडिँदै गएँ।’

उनको सहयोगबाट मान्छेहरूले उनलाई चिन्न थाले। विस्तारै उनी समुदायको कामबाट टाढा हुन नसक्ने अवस्थामा पुगिन्।
‘यति सानो सहयोग गर्दा त उहाँहरू यति खुसी हुनुहुन्छ, वडाले दिने सेवा यति धेरै छ, मैले वडाबाटै सेवा दिन पाएँ भने उहाँहरू कति खुसी हुुनुहोला भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘यो राजनीति र समाजसेवामा लागिसकेपछि त्यही अनुसारको माहोल हुँदै जाने, नसाजस्तै रहेछ यो पनि।’
तिनै रोजिना राजनीतिमा लागेको दुई वर्षमा काठमाडौँ–१६ की वडाध्यक्ष निर्वाचित भएकी छन्।
‘वडाबासीले सही व्यक्ति छनौट गर्नुभयो। उहाँहरूलाई निराश नबनाउने गरी काम गर्छु,’ उपचुनावमा जितपछि उत्साहित रोजिनाले नेपालखबरसँग भनिन्।
यसअघि दुईपटक वडाअध्यक्ष जितेको कांग्रेस र वडामा चारै सदस्य जितेको एमालेका उम्मेदवारलाई हराउँदै रास्वपाकी श्रेष्ठ वडाअध्यक्षमा निर्वाजित भएकी हुन्।
श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएकी छिन्। एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे भने कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे।

कांग्रेस र एमाले दुवैलाई थियो जित्ने आश
यसपालि यो वडामा रास्वपाले चुनाव जित्ने आकलन प्रतिस्पर्धी दलहरूले गरेका थिएनन्। एमालेले कांग्रेसलाई आफ्नो प्रतिस्पर्धी ठानेको थियो भने कांग्रेस यसअघिका वडा अध्यक्ष मुकुन्द रिजालको लोकप्रियताले नै चुनाव जित्न सघाउ पुर्याउनेमा ढुक्क थियो।
यसअघिका वडा अध्यक्ष मुकुन्द रिजालको २०८० भदौमा निधन भएपछि काठमाडौँ १६ मा उपनिर्वाचन भएको हो। वडाध्यक्षको निधनपछि रिजालको परिवार पनि चुनावका लागि आकांक्षी थियो। तर, कांग्रेसले अन्तिम समयसम्म पनि उम्मेदवार टुङ्ग्याउन सकेन। मनोनयनको दिनसम्म पनि उम्मेदवारको अन्तिम टुङ्गो नलागेपछि रिजालको परिवारले चुनावमा उठ्ने आकांक्षा त्यागिदियो।
दिवंगत रिजालका छोरा सन्देशले फेसबुकमा लेखेका थिए, ‘हाम्रो अभिभावक स्व. मुकुन्द रिजालज्यूको निधनपश्चात् रिक्त रहेको काठमाडौँ महानगरपालिका वडा नं १६ को उपनिर्वाचनमा उहाँको अधुरा सपना पूरा गर्ने मनसायका साथ आकांक्षा राखेका थियौँ। उम्मेदवारीका क्रममा हामीसहित अन्य समाजका थुप्रै अग्रणी व्यक्तित्वहरूले आकांक्षा राख्नु भएको थियो तर आज उम्मेदवारी दर्ता गर्ने दिनसम्म पार्टीले उम्मेदवार तय गर्न नसकेको यस क्षणमा सर्वसम्मतिका लागि हामीले मार्ग प्रशस्त गरेका छौँ। सर्वसम्मत नभएको कारणले उम्मेदवार हुने प्रक्रियाबाट अलग रहने निर्णय गरेका छौँ।’
त्यसपछि मुकुन्दकी श्रीमती कविता रिजाललाई चुनौती ठानेको एमाले ढुक्क देखिएको थियो। एमालेका एक नेताले भनेका थिए, ‘काठमाडौँ १६ मा हाम्रो जित सुनिश्चित छ, कांग्रेसले मुकुन्दजीको श्रीमतीलाई टिकट दिएको भए हामीलाई गाह्रो हुन सक्थ्यो।’
कांग्रेसले सोही वडाका सभापति देवेन्द्र पाठकलाई उम्मेदवार बनाएपछि एमालेको विश्लेषण थियो, कांग्रेसले ‘कमजोर’ उम्मेदवार उठायो, हामीले जित्छौँ।
एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधर २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका मुकुन्द रिजालसँग पराजित भएका थिए। उनी यसपटक जित्नेमा विश्वस्त थिए।
प्रचारप्रसारको अन्तिम दिन नेपालखबरसँगको कुराकानीमा तुलाधरले भनेका थिए, ‘वडाको चारैजना सदस्य एमालेले जितेको छ, यसपटक वडाअध्यक्ष पनि हामी जित्छौँ।’
वडाअध्यक्षको निधनपछि एमालेबाट वडा सदस्य निर्वाचित पुष्प महर्जनले कार्यवाहक वडाअध्यक्ष भएर गरेको कामले पनि एमालेलाई जित्न सघाउने तुलाधरको भनाइ थियो।
तर, उपनिर्वाचनको नतिजा पुराना दलले सोचेजस्तो आएन। मतगणनामा सुरूदेखि नै अग्रता बनाएकी रोजिनाले पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा रहेका कांग्रेस, एमाले र एकीकृत समाजवादीलाई हराउँदै रास्वपाको झन्डा गाडिन्।
विजयपछि रोजिना ३२ वडा रहेको काठमाडौँ महानगरकी एक्ली महिला वडाअध्यक्ष बनेकी छन्। त्यति मात्र होइन, उपनिर्वाचनमा रास्वपाले उठाएका २६ उम्मेदवारमध्ये एकमात्रै विजेता बनेर उनले पार्टीको इज्जत पनि जोगाइदिएकी छन्।

८ प्रतिस्पर्धीबाट छानिएकी थिइन् वडाको उम्मेदवारमा
रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएपछि आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरेको थियो। काठमाडौँ १६ मा पनि रास्वपाबाट ८ जना वडा अध्यक्षमा उठ्न आकांक्षी थिए। ती ८ जनाबाट छनौट भएर रोजिनाले टिकट पाइन् र चुनावमा होमिइन्।
मंसिर २ मा मनोनयन दर्ता भएपछि वडाका हरेक घरघरसम्म पुग्ने कोसिस गरिन्। मत मागिन्। आफूलाई जिताए देखिनेगरी वडाको काम गर्ने प्रतिबद्धता गरिन्। विभिन्न टोलका आमा समूहहरूलाई भेटिन्।
मंसिर २ गतेदेखि १३ गतेसम्म उनले सक्दो मेहनत गरिन्। काठमाडौँकै कीर्तिपुर नगरपालिका र अन्य दुई वडामा समेत उम्मेदवारी नदिएर रास्वपाले आफ्नो सम्पूर्ण शक्ति काठमाडौँ १६ मा खर्चियो। संघीय सांसद र नेताहरूले पनि सकेको मेहनत गरे। जसले गर्दा रोजिनालाई जित हासिल गर्न अझै सजिलो भयो।
पारिवारिक पृष्ठभूमि राजनीतिक नभए पनि परिवारका सदस्य समाजसेवामा सक्रिय छन्। रोजिनाकी आमा ६३ वर्षीया रामदेवी श्रेष्ठ काठमाडौँमा एक सय ११ पटक रक्तदान गर्ने एक मात्र महिला हुन्। जेठाजू र जेठानी शिक्षण पेसामा छन्। उनका ४८ वर्षीय श्रीमान बालकृष्ण श्रेष्ठ हार्डवेयरको पसल चलाउँछन्। व्यवसायमै रहेकी रोजिना रास्वपामा जोडिएपछि बालकृष्णले सक्रिय भएर राजनीति गर्न अनुरोध गरे। आफूले व्यवसाय सम्हाल्ने भन्दै उनले रोजिनालाई सामाजिक र राजनीतिक क्षेत्रमा अघि बढ्न प्रोत्साहन गरे।
‘महिला भएर घरमा मात्रै बसेर हुँदैन, अगाडि बढ्नुपर्छ भन्ने उहाँको कुरा हुन्छ,’ श्रीमानको साथबारे रोजिना भन्छिन्, ‘जे काम पनि सिक्नुपर्छ, जान्नुपर्छ भन्नेखालको हुनुहुन्छ, उहाँको प्रोत्साहनले नै आज म यो ठाउँमा पुगेको हो।’

रोजिना श्रेष्ठ, एमबीएस, एलएलबी
उनले चुनाव जित्नुअघि काठमाडौँ महानगरपालिकामा यसअघि एकजना पनि महिला वडा अध्यक्ष थिएनन्। अब उनले महानगरको सबैभन्दा ठूलो वडाको अध्यक्षको जिम्मेवारी पाएकी छिन्।
महिलाहरू लगनशील, संवेदनशील र इमानदार हुने भएकाले आफूले अन्य वडाअध्यक्ष भन्दा भिन्न र छिटोछरितो काम गर्न सक्ने विश्वास रोजिनालाई छ।
काठमाडौँ १६ मा तत्काल गर्नुपर्ने कामहरूको सूची बनाउँदैछिन् उनी। मुख्यतः वडाले नागरिकको दैनिकीसँग जोडिएको सेवा दिने भएकाले वडाको काम छिटो, छरितो र प्रभावकारी बनाउने प्रयास गर्ने उनले बताइन्।
२०५३ सालमा तरुण स्कुल बालाजुबाट एसएलसी उत्तीर्ण गरेकी रोजिनाले २०५६ सालमा पद्म कन्या क्याम्पसबाट आईकम गरिन्। २०६३ मा पद्मकन्याबाटै बीबीएस गरेकी उनले २०६९ मा शंकरदेवबाट एमबीएस गरिन्। २०७९ सालमा नेपाल ल क्याम्पसबाट एलएलबीको पढाइ पूरा गरेकी रोजिना अब एलएलएम पढ्ने तयारीमा छिन्।

उनी सानैदेखि अध्ययनशील र मेहनती रहेको लामो समयदेखि उनलाई चिन्नेहरू बताउँछन्। रोजिनालाई २५ वर्ष अघिदेखि चिनेका आनन्दरत्न बज्राचार्य भन्छन्, ‘उनी कामबाट फुर्सद मिल्यो कि पुस्तक पल्टाउने, अध्ययन गर्ने। उनको यो बानीले उनलाई प्रगतिको खुड्किलो चढ्दै शिखरमा पुग्ने बाटो खोलिदियो। एसएलसी मात्र पास गरी जागिर खाएकी उनले जागिर खाँदै स्नातक, अनि स्नातकोत्तर उत्तीर्ण गरिन्। बिहेबारीपछि र श्रीमानसँगसँगै व्यवसायमा सहयोग गर्दै अध्ययन पनि जारी राखिन्। कानुन विषयमा स्नातक तह पनि उत्तीर्ण गरिन्। कानुन विषयमै स्नातकोत्तर गर्ने तयारी गर्दै छिन् उनी।’
आफूसँगको भेटमा रोजिनाले वडा अध्यक्षको चुनाव लड्ने सुनाउँदा आफूले कुन पार्टीबाट उठ्ने भन्ने समेत नसोधेर ‘तिमी उठेको राम्रो हुन्छ’ भनेको आनन्द बताउँछन्।
वर्षौंदेखि पुराना दलका प्रतिनिधिलाई जिताएका काठमाडौँ १६ का मतदाता यसपटक नयाँ अनुहारको खोजीमा थिए। प्रचारप्रसारका क्रममा काठमाडौँ १६ मा घुमेर मतदातासँग बुझ्दा अधिकांश मतदाता बालेनको उदाहरण दिँदै स्वतन्त्रलाई भोट दिने बताइरहेका थिए।
मतदाताले स्वतन्त्र उम्मेदवार खोज्दै रास्वपाकी रोजिनालाई जिताए। उनले अब मतदाताको विश्वास टुट्न नदिने गरी काम गर्लिन् कि कुनै दबाब वा प्रभावमा परेर सोेचेजस्तो सेवा दिन नसक्लिन्? त्यो थाहा पाउन भने केही समय कुर्नैपर्ने हुन्छ।
Shares

प्रतिक्रिया