राजनीति


ओली र देउवाको उठबस बिचौलिया र स्वार्थ समूहसँग छ : वर्षमान पुन

ओली र देउवाको उठबस बिचौलिया र स्वार्थ समूहसँग छ : वर्षमान पुन

नेपालखबर
पुस १, २०८१ सोमबार १७:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चार महिनासम्म भारत जाने प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको बताएका छन्।

माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेश्रो अधिवेशन उदघाटन गर्दै पुनले  भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरुको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे।  

प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा नभई पहिला भारत जाने प्रयास असफल भएपछि उसलाई देखाइदिने मनसाय बोकेर चीन गएकामा आफूहरुले आपत्ति जनाएको पुनको भनाइ थियो।

पूर्ववर्ती पुष्पकमल दाहाल सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएर चीनसँग ठूला विकास परियोजनामा सहयोग लिएको र भारतमा १० हजार मेगावाट विद्युत निर्यातसम्बन्धी समझदारी गरेको स्मरण पुनले गरे।

तर, वर्तमान सरकारले छिमेकीहरुका बीचमा असन्तुलित सम्बन्ध राख्न खोजेकाले आफ्ना अध्यक्ष प्रचण्डले खबरदारी गरेको पुनले उल्लेख गरे ।

‘विश्वको राजनीति बहुध्रुवीयबाट व्यवस्थातिर गइरहेका बेला मुलुकको कूटनीति सञ्चालन गर्दा कतैतिर नढल्किने गरी परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा वर्तमान सरकारले असन्तुलित नीति अपनाएको छ।’उनले भने।

पुनले थपे, ‘चार महिनासम्म लगातार प्रयास गर्दा पनि भारतले नबोलाएपछि हारगुहार गरेर प्रधानमन्त्री केपी ओली चीन जानुभयो। एकातिर ढल्किन खोज्ने, अनि नपत्याएपछि उसलाई देखाइदिन अर्को छिमेकीतिर ढल्किने तरिकाले हाम्रो राष्ट्रिय स्वाधिनता कमजोर बनाउँछ। चीन र भारतका बीचमा खेलेर होइन, दुवैसँग सहयोग लिने र सन्तुलन कायम गर्न जोड दिइनुपर्छ भन्ने हाम्रो मान्यता हो।’

पुनले ओलीलाई चीनले निम्ता नदिए पनि भारतलाई देखाउने नाममा पटकपटक अनुनय बिनय गरेर बोलाउन लगाएको दाबी गरे।

प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २० गतेसम्म उत्तर छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए।

पुनले भ्रष्टाचारी जोगाउन बिचौलियाहरुले कांग्रेस र एमाले मिलाएर वर्तमान सरकार  बनाएको भन्ने आफूहरुको आरोप  घटनाक्रमहरुले पुष्टि गरेको दाबी गरे।

दायाँबायाँ आधादर्जन बढी भ्रष्टाचार र अनियमिततामा मुछिएका मन्त्रीहरुले घेरिएर आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भाषण बन्द गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

अगाडि फर्किएर भ्रष्टाचारीको मुख हेर्दिन भन्ने ओलीलाई दायाँबायाँ उभिएका आफ्ना मन्त्रीका अनुहार हेर्न उनले सुझाए। ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको उठबस बिचौलिया र अनियमितता गर्ने स्वार्थ समूहसँग रहेको आरोप उनले लगाए।

ज्ञानेन्द्र शाहले लात हानेका बेला आफूहरूले सहकार्यको हात दिएपछि जनताले तत्कालीन अवस्थामा कांग्रेस र एमालेलाई माफी दिएको भन्दै पुनले भ्रष्टाचारी चरित्र सुधार नगरे ती दुई पार्टीलाई जनताले दण्डित गर्ने टिप्पणी गरे।

भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध खबरदारी गर्ने र पार्टीलाई परिस्कृत गरी नयाँ जीवन दिने काममा आफूहरु लागेकाले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकार प्राथमिकतामा नरहेको उनको स्पष्टोक्ति थियो।

माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्नेहरुलाई गत महिना सम्पन्न स्थानीय तहको उपनिर्वाचनले राम्रो जवाफ दिएको पुनले उल्लेख गरे। ०८४ को निर्वाचनमा वडादेखि प्रतिनिधिसभासम्म एक्लै चुनाव लड्ने गरी अहिल्यैदेखि तयारी थालिएको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad