नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देश जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको बताए।
नेता केसीले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको बताए।
सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि अध्यक्ष दाहाललाई सचेत गराए। भ्रष्टाचार मुक्त समाज निर्माण नभएसम्म सुशासन स्थापित हुन नसक्ने उनको भनाई थियो।
‘एउटा कुरा मैले सम्मानित पूर्वप्रधानमन्त्री र अहिलेको प्रमुख प्रतिपक्ष दलको नेता हुँदाहुँदै के भन्न खोजिरहेको छु भने हामीले धेरै ब्लेन गेमहरु गर्यौँ। एउटाले अर्कोलाई दोष लगाउने, सत्ता बाहिर गयो, सबैभन्दा बढी पवित्र हुने, सत्तामा हुँदा जो भएपनि बिर्सिने खालको परिस्थिति छ, त्यसलाई एउटा निश्चित मापदण्ड बनाऔँ। एउटा मानक बनाऔँ भ्रष्टाचार नियन्त्रणको निम्ति। त्यसको निम्ति हामी सबै तयार हौँ।’
भ्रष्टाचार नियन्त्रणको निम्ति एउटा निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न आग्रह गरे।
उनले थपे, ‘भ्रष्टाचार निवारण गर्न मुखले ओठे भक्ति गरेर मात्रै होइन, अहिलेसम्म नेपालमा चर्चित भ्रष्टाचार, संसदमा उठेका पक्ष, विपक्षले उठाएका भ्रष्टाचारको छानबिन गर्न नेपाली जनताले चिनेको निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गरौँ।’
नेता केसीले सत्तामा पुगेकाहरूलाई जानिजानि भ्रम फैल्याएर बद्नाम गर्न खोजिएको धारणा राखे।
Shares

प्रतिक्रिया