राजनीति


ज्ञानेन्द्र शाहीको कटाक्ष: विष्णु रिमालज्यू! वडाध्यक्षको तयारी गर्नुस्

ज्ञानेन्द्र शाहीको कटाक्ष: विष्णु रिमालज्यू! वडाध्यक्षको तयारी गर्नुस्

नेपालखबर
फागुन २७, २०८१ मंगलबार ९:५२, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौँमा आयोजित जुलुसमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको विषयमा कार्यक्रम आयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमा भनाभन रोकिएको छैन। 

राजावादीहरूको प्रदर्शनमा आदित्यनाथको तस्बिर प्रयोग गरिएपछि एमाले उपमहासचिव रिमालले पनि सामाजिक सञ्जालमा त्यो तस्बिर राख्दै आलोचना गरेका थिए।

त्यसपछि सांसदसमेत रहेका शाहीले उक्त तस्बिर प्रधानमन्त्री ओलीकै निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाउँदै सोमबार फेसबुकमा लेखे। 

जवाफमा रिमालले त्यो कुरा भ्रम भएको खण्डन गर्दै शाहीलाई ‘नालायक’को संज्ञा दिए।

जसमा मंगलबार बिहान फेरि शाहीले टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘आदरणीय भनौँ भने कसरी भनौँ- तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ। प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुइँया दिन बन्द गर्नुहोस्। अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ, के प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताले चुनेका हुन्? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन्? लोकतन्त्र त तपाईँहरूजस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटी खाने भाँडो भयो। लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र, तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्।’ 

गत आइतबार पूर्वराजा शाह पोखराबाट काठमाडौँ फर्केका थिए। उनको स्वागतमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल तथा दुर्गा प्रसाईंको समूहलगायतले राजतन्त्रका पक्षमा शक्ति प्रदर्शन गरेका थिए। त्यस क्रममा पूर्वराजा शाहका साथै भारतीय जनता पार्टी (भाजपा) का नेतासमेत रहेका आदित्यनाथको तस्बिर अंकित ब्यानर पनि बोकिएको थियो। 

यसपछि एमाले उपमहासचिव रिमाललगायत गणतन्त्रवादीहरूले यो तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै राष्ट्रवाद उदांग भएको भनी आलोचना गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad