राजनीति


स्वास्थ्य अवस्था बुझ्न वर्षमान दम्पती वैद्य निवासमा, पुन भन्छन्– धेरै राम्रो भएको रहेछ

स्वास्थ्य अवस्था बुझ्न वर्षमान दम्पती वैद्य निवासमा, पुन भन्छन्– धेरै राम्रो भएको रहेछ

तस्बिरः वर्षमान पुन


नेपालखबर
असार १२, २०८२ बिहिबार १७:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यलाई भेटेर उनको स्वास्थ्यलाभको कामना गरेका छन्। 

पुन र घर्ती दम्पतीले बिहीबार काठमाडौँको टोखा हाइटस्थित वैद्य निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो। वैद्य लामो समयदेखि दमको समस्याबाट पीडित छन्।

पछिल्लो समय दम बढ्नुका साथै छातीमा संक्रमण देखिएपछि ७९ वर्षीय वैद्य गत १५ जेठमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। लामो समय उपचार गराएर वैद्य २ असारमा अस्पतालबाट डिस्चार्ज भएका थिए। 

नेता पुनका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार देखिएको छ। ‘स्वास्थ्य अवस्था धेरै राम्रो भएको रहेछ, पहिला नियमित अक्सिजन लगाउनुपर्नेमा अहिले अक्सिजन नलगाई बस्न सक्ने हुनुभएछ’, पुनले भने, ‘बिहान बेलुका हल्का हिंड्न पनि थालेको छु भन्नुहुन्थ्यो।’ 

पुन दम्पत्ति आफ्नो स्वास्थ्य अवस्था बुझ्न आएकोमा वैद्यले खुसी व्यक्त गरे। आफूहरुबीच राजनीतिकभन्दा स्वास्थ्य र पारिवारिक सम्बन्धबारे कुराकानी भएको पुनले उल्लेख गरे। 

वैद्य तत्कालीन नेकपा (माओवादी) को पूर्वी केन्द्रीय कमाण्डको इन्चार्ज हुँदा पुन सोही कमाण्डको दोस्रो वरियताको नेतासहित सैन्य फाँटको इन्चार्ज थिए। 

०६१ सालमा पुन दम्पत्तिको दोस्रो सन्तानका रुपमा छोरा जन्मिँदा उनीहरु सँगै थिए। ‘हाम्रो बीचमा धेरै गहिरो भावनात्मक सम्बन्ध छ,’ पुनले भने, ‘हाम्रो छोराको नाम उत्सव उहाँले नै राखिदिनुभएको थियो। करिब ६ महिना सुष्मा भाउजु (वैद्य पत्नी) ले हाम्रो बाबुको स्याहार र संरक्षण गर्नुभएको थियो। हामीले ती कुराहरु पनि सम्झियौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad