राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान सरकार विघटन गर्न माग गरेको छ।
सोमबार जेन-जी आन्दोलमा सरकारले गरेको दमनबाट कम्तीमा २० युवा मारिएपछि आकस्मिक रूपमा बसेको राप्रपा बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारको उपादेयता सकिएको ठहर गरेको हो।
राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ। तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आह्वान गर्दछ।’
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार घटनापछि आज केन्द्रीय कार्यालय (धुम्बाराही) मा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा राप्रपाको केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठक बसेको थियो।
जेन–जीले आज भ्रष्टाचार, बेथिति, कुशासनविरुद्ध काठमाडौँलगायत देशका विभिन्न सहरमा प्रदर्शन गरेको थियो। त्यस प्रदर्शनमा सरकारबाट भएको अत्यधिक बल प्रयोग र बर्बर दमनप्रति राप्रपाले दुःख व्यक्त गर्दै घोर निन्दा एवं भर्त्सना गरेको छ।
राप्रपाले भनेको छ, ‘देश निर्माणको सुन्दर अभिलाषा लिएर प्रदर्शनमा सहभागी भएका निर्दोष युवा पुस्ताले नेपालको ईतिहासमै नभएको सरकारको बर्बर दमनबाट शहादत प्राप्त गर्न पुगेका छन्। भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका नयाँ पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोलीसमेत प्रहार गरेर सरकारले भ्रष्टाचारविरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको छ। शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ। आजको बर्बर दमनपूर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रूर र दुःखद घटनाको रूपमा लिएको छ।’

Shares

प्रतिक्रिया