सरकारले विशिष्ट तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षाका लागि मापदण्ड भन्दा बढी र मापदण्डमा नपर्नेलाई दिइएका सबै सुरक्षाकर्मीहरु फिर्ता गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
‘पूर्व तथा बहालवाला पदाधिकारीहरुको सुरक्षार्थ खटिएका स्वीकृत मापदण्डभन्दा बढी र मापदण्डबिना प्रदान गरिएका सुरक्षाकर्मीहरु तत्काल फिर्ता बोलाउने निर्णय भएको छ। यसको फिर्ता हुने उसको फिर्ता नहुने भन्ने छैन। ज–जसले बढी लगेका छन्। मापदण्डविनाका छन् ती फिर्ता गर्ने निर्णय भएको हो’, काफ्लेले नेपालखबरसँग भने, ‘कसका कति संख्यामा फिर्ता हुन्छन् भन्ने भोलितिर तथ्यांक आउँछ।’
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पनि सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन आइसकेको बताए।
‘कार्यविधिभन्दा बाहिर पहिला सुरक्षा खतराको समिक्षा गरेर, मुख्यांकन गरेर दिइएका सुरक्षाकर्मीहरु पनि अहिले फिर्ता गर्ने भन्ने निर्देशन आएको छ। हामी फिर्ता गर्दैछौँ’, घिमिरेले भने।
सशस्त्र प्रहरीले पनि मापदण्डविपरितका सुरक्षाकर्मी फिर्ता गर्नेछ। यस्ता पदाधिकारीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। यसअघि रवि लामिछाने गृहमन्त्री हुँदा पनि यस्तो निर्णय गरेका थिए। त्यतिबेला पनि फिर्ता गरिएको थियो। तर पुनः अर्को सरकार आएपछि बढी सुरक्षाकर्मी पठाइएको थियो।
Shares

प्रतिक्रिया