राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलका नेताहरू नसुध्रिएका कारण अहिलेको अवस्था आएको बताएका छन्।
ठूला दलका नेताहरूलाई तिमिहरू नसुध्रिए जनताले लखेट्ने दिन आउँछ भनेर आफूले पटक–पटक भनेको पनि उनले स्मरण गरे।
बिहीबार अखिल नेपाल जनजाति सम्मेलनको तेस्रो रुपन्देही जिल्ला सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘मैले लगातार भन्दै आएको छु, यदि तिमीहरू सुध्रिएनौ भने यस्तो अवस्था आउनेछ’ उनले भने, ‘नभन्दै भदौ २३–२४ गतेको जेनजी आन्दोलनले त्यो अवस्था आइछाड्यो।’
उनले जेनजी आन्दोलनको बहानामा देशी, विदेशी शक्तिकेन्द्रले देशमाथि नै आक्रमण गरेको बताए।
‘जेनजी आन्दोलन त बहाना बन्यो। देशमा यो स्थिति ल्याउन दृश्यअदृश्य शक्तिकेन्द्रको हात छ’ उनले भने, ‘जेनजी आन्दोलनकै क्रममा २०७२ सालको संविधान जलाउने प्रयत्न गर्नु त्यसको एउटा प्रमाण हो।’
केसीले युवा समुदायलाई देशमा केही हुँदैन भन्ने भाष्य खडा गरिएको बताए।
उनले भने ‘कुनै देशलाई सिध्याउन छ भन्ने त्यस देशको शिक्षाप्रणाली ध्वस्त पार्नुपर्छ। आखिर नेपालको शिक्षाप्रणाली ध्वस्त नै पारिएको छ।’
कार्यक्रममा जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मालगायत नेताहरूले सम्बोधन गरेका थिए।
Shares

प्रतिक्रिया